भरत बहादुर रानाभाट
विवाह भएर नयाँ दुलाहासँग घर जाँदा प्याउली उत्साहित नै थिई । आमा बुबाले सुम्पेको केटासँग खुरुखुरु नयाँ बेहुलीको रुपमा बेहुलाको अगाडि डोलीमा चढेर कर्म घरमा गएकी थिई । प्याउलीको विवाहमा अग्नीधर पनि गएको थियो । साथी भएकोले विवाहमा अग्नीधरलाई पनि निम्तो गरेकी थिई प्याउलीले । बेहुली हुँदा लगाएको कपडामा कस्तो देखिएकी छे भनेर अग्नीधरले पटकपटक प्याउलीका आँखा छलेर कर्केनजर लगाएको थियो । घरीघरी प्याउलीका आँखासँग अग्नीधरका आँखा जुध्ने गर्थे । प्याउलीका आँखा उसलाई मायालु लाग्थे । “ तँ जावो पानी मरुवा हरीलठ्ठकले मलाई आटेर लान सकिनस् । म मजबुरीमा खुसी भएर अरु कसैसँग विवाह गरेर जाँदैछु । मेरो भाग्यमा तँ नभएपछि म के गरु ” ? भनेर प्याउलीका ईष्र्यालु आँखाले व्यङ्ग्य गरे झै लाग्थ्यो अग्नीधरलाई । विवाह भएर गएपछि धेरै समयसम्म प्याउली र अग्नीधरको भेट भएको थिएन । विवाह भएको नौ महिनापछि एक दिन बेसीको खेतमा प्याउलीसँग अग्नीधरको भेट भयो । विवाह हुँदाको समयमा खुसी देखिएकी प्याउलीको अनुहार त्यतिबेला भने मलिनो थियो । ओठ फुस्रा कलेटी परेका थिए । हात खुट्टा पट्पट् फुटेका थिए । उत्साह, उमंग केही नभए जस्तो अनुहार ओइलाएको साग झै देखिन्थ्यो । त्यसै पनि पहिलादेखि नै प्याउलीको शरीर दुब्लो र पातलो थियो । झन विवाह गरेर गएपछि झन दुब्ली ख्याउटे देखिएकी थिई प्याउली । प्याउली र अग्नीधरको बेसीको खेत एकै ठाउँमा थियो । उनीहरु बाल्यकाल देखी नै ढुङ्गा माटोमासँगै खेल्ने साथीसाथी थिए । अग्नीधर भन्दा प्याउली एक वर्ष जेठी थिई । माथि गामको घर अग्नीधरको भन्दा प्याउलीको घर आधा घण्टा टाढा थियो । विवाह पश्चात घरबाट माइत गएको समयमा प्याउली बेसीको गोठमा गएकी थिई । अग्नीधरले गैरी खेतमा भैँसी चराईरहेको थियो । आफ्ना भैँसी लिएर प्याउली पनि अग्नीधरको नजिकै पुगी । सानै देखिको साथीसाथी भएकाले पहिला पहिला उनीहरु दुःख सुखका कुरा गर्थ । दुबैजनाले हाँसी मजाक पनि गर्थे । दुबैमा उत्साह थियो, उमंग थियो । कुनै पिर चिन्ता थिएन । आआफ्ना गोठमा बस्ने भैँसी चराउँने, घाँस काट्ने, दाउरा काटेर ल्याउँने गर्थे । प्याउलीले अग्नीधरलाई असाध्यै माया गर्थी ।
तर प्याउली यतिबेला भने केही उदास र भावुक देखिएकी थिई । कताकता के नपुगे जस्तो, अध्याँरो अनुहार, खुम्चिएको निधार देख्दा अग्नीधर पनि छक्क परेर हेरीरहेको थियो । विवाह अगाडि पातली चटक्क परेको शरीर, काम छिटो गर्ने जागरिली, पहेँलो प्याउलीको पूmल जस्तै राम्री थिई प्याउली । “ अग्नीधर ! छोरीको लागि माइतीघर जस्तो नहुने रहेछ पोइको घर । त्यहाँ माया गर्ने कोही पनि नहुनेरहेछ । सियो हराएको निहुँमा गाली पाइन्छ । आँगनमा थोरै कसिँगर जम्मा भएपनि गाली नै पाइन्छ । गाई भैँसी भोकै भएको निहुँमा गाली खानु पर्नेरहेछ । जतिबेला पनि कामै मात्र प्यारो हुँदोरहेछ । पोइको घरमा सास फेर्न सम्म नपाइने रहेछ । मैले विवाह गरेर ठुलो गल्ती गरे । आमा बुबाले खोजेको केटो, मैले विवाह गर्दिन भन्न सक्ने आट मसँग थिएन । घर राम्रै होला ? लोग्नेको माया पाउँला ? भन्ने सोचेकी थिए । तर सोचे जस्तो नहुने रहेछ, यो छोरीमान्छेको जिन्दगी । मेरो सोचाई गलत सावित भयो । म ठुलो पिडामा छु । मेरो मन मुटु भित्र लागेको चोट म कसैलाई देखाउन सक्दिन । कसैलाई भन्न सक्दिन । आमा बुबा पनि अव मेरा माइती भए । मेरो मनको चोट वहाँहरुले पनि सुन्न चहानुहुन्न । मेरो मनको वेदना वहाँहरुले बुभ्mन सक्नुहुन्न । सबैतिरको अर्गेलो म नै हुने भए । तँ मेरो बाल्यकाल देखिको असाध्यै मिल्ने साथी होस् । म विवाह गरेर गएपनि तेरो माया मलाई असाध्यै लाग्छ । मेरो दुखेको घाउँ, मलाई परेको चोट,मेरो सानै देखिको मिल्ने साथीलाई नसुनाए अरु कसलाई सुनाउँन सक्छु र मैले ? पछि हाम्रो भेट होला नहोला, समयले कता डो¥याउँने हो? कसैलाई केही थाहा छैन ” भनेर प्याउली एक्कासी भक्कानिएर रोएकी थिई ।
उसको मलिनो अनुहार र आँखाबाट झरेका मोतीका दाना हेरेर अग्नीधरको मन पनि बेस्सरी हुँडलिएर आयो । प्याउलीका कुरा सुनेर अग्नीधरलाई सारै नराम्रो लाग्यो । त्यति राम्री मान्छे विवाह गरेर घरमा गएपछि त्यो शरीरको अवस्था देखेर अग्नीधर सारै दुःखी भयो । पक्कै पनि घरमा परिवारबाट दुव्र्यवहार नभएको भए प्याउलीको यति चाँडै यो दुःखदायी अवस्था आउँने थिएन, भन्ने लाग्यो उसलाई ।
“ तिम्रो लोग्नेले तिमीलाई माया गर्दैनन् ” ? अग्नीधरले सोध्यो । “उसले पनि आमा बुबाको कुरा सुन्दोरहेछ । गरिबको छोरी भनेर मलाई पटकपटक पिट्ने काम गरीरहन्छन् । सुरसुरुमा नयाँ हुँदामात्र माया गरेको नाटक गर्थे । तर पछिपछि सानो काम बिगार्दा पनि पिटीहाल्छन् । लोग्ने स्वास्नी र घर भित्रको कुरा कहाँ कोसँग भनेर दुःख पोखुँ ? कसले मलाई कठै भन्छ र अग्नीधर? ” । “ तिमीले आमा बुबासँग भन्नुपर्छ यस्तो कुरा ” अग्नीधरले भन्यो । “ आमासँग एक दिन खुसुक्क भनेर रोए । बुबासँग पनि भने । छोरी मान्छेले घरका यस्ता कुरा सहनुपर्छ । तव घर पक्का हुन्छ भन्नु भयो आमाले । प्याउलीका आँखाबाट आँसुको भल बगेको थियो । साथी भएको हुनाले मात्र अग्नीधरलाई मनको पिडा सुनाएकी थिई । तर उसले पनि के नै पो गर्न सक्थ्यो र ? सहानुभूति बाहेक प्याउलीको पिडामा मलमपट्टी गर्न सक्ने सामथ्र्य उसँग पनि थिएन । “ जिन्दगीमा जतिसुकै पिडा भए पनि, जतिसुकै कठिन परिस्थितिको सामना गर्नु परे पनि तिमीले कहिल्यै हार नखानु, हतोत्साहित नहुनु ” अग्नीधरले सान्त्वना दियो । प्याउलीले सुक्क सुक्क गर्दै आँखाबाट भलभल्ती आँसु खसाली रहेकी थिई । अग्नीधरका पनि आँखा रसाए ।
अग्नीधरसँग धेरैबेर सम्म मनभित्र गुम्सिएका पिडालाई थोरै भएपनि बाडेर प्याउलीले आफ्नो मन हल्का पारी । दुबैजना अमिलो मन लिएर त्यहाँबाट छुट्टीएर भैँसी लिएर आआफ्नो गोठमा गए । प्याउली दाउराको भारी बोकेर घर तर्फ गई । उसको गोठमा उसको भाइ बसेको थियो ।
अग्नीधरले टौवाबाट पराल थुतेर भैँसीलाई हाल्यो । उसलाई आगो फुक्न मन लागेन । रात चकमन्न अध्याँरो थियो । आकाशमा ताराहरु पिलपिल गरेर मधुरो प्रकाश दिएर चम्केका थिए । गाई भैँसी पराल चपाउँदै थिए । तर प्याउलीको कुरा सम्झेर उसको मनमा अशान्त भयो । बिचरी सोझी प्याउलीको अवस्था सम्झेर ऊ रातभर गोठमा निदाउन सकेन ।
विवाह भएपछि पछिल्लोपटक अग्नीधर र प्याउली बेसीको खेतमा भेट भएको केही महिना भएको थियो । पोखराको महेन्द्रपुलबाट एक जना महिलाले सेती नदीमा हाम फालेको खबर हावासरी गाउँघरमा फैलियो । कसैले माइतबाट गर्धुवा नल्याउँदा पोइले पिटेर हो अरे भने । कसैले सासु, नन्द र अमाजुले लुछेर बस्न खान नदिएर हो अरे भने । घटना घटेको प्रत्यक्ष देख्ने साक्षी कोही पनि थिएनन् । यथार्थमा त्यहाँ भएको के हो ? कसैलाई केही थाहा थिएन । तर मान्छे पिच्छे फरकफरक कुराहरु हावासरी गाउँघरमा धेरै समय सम्म फैलिरह्यो । न नाम थाहा भयो, न ठेगाना थाहा भयो । सबै अनुमानका भरमा हो हो भन्दै कुरा माथि कुरा थपेर बढाई चढाई गरीरहेका हुन्थे । केही समयको अन्तरालमा यो कुरा पनि आफै सेलाएर साम्य भयो । एक दिन अग्नीधरले भैँसी चराईरहेको थियो । जंगलबाट दाउराको भारी बोकेर प्याउलीकी आमा दुर्गादेवी आइरहेकी थिइन् । उनको अनुहार मलिनो थियो । उनले नबोली चुपचाप दाउराको भारी बिसाइन् । अग्नीधरले उनलाई देखेर हत्तपत्त “ प्याउलीको हाल खबर के छ ? ”भनेर सोध्यो । उनले खुइया गरेर लामो सुस्केरा हालिन् । बोलुँ कि नबोलुँ झै गर्दै “ प्याउलीको हाल खबर के ठिक छ भनँु के बेठिक छ भनुँ ” भन्दै फेरि खुइया गरीन् ।
“प्याउली सन्चै छ नि ”? अग्नीधरले फेरी सोध्यो । अग्नीधर ! “ तँ र मेरी छोरी प्याउली बाल्यकाल देखिकै साथीसाथी थियौँ । तँलाई आज यहाँ भैँसी चराइरहेको देखेर छोरीको याद झन् बढी आयो । छोरीको जात उमेर पुगेको राम्रो परिवार भनेर विवाह गरेर पठायौँ । विवाह भएको पाँच छ महिना सम्म खुसी नै थिई । विवाह भएको एक वर्ष पुग्दै थियो । माइत आएर हामीलाई भेटेर गएकी पनि हो । घरमा लोग्ने र सासुले दुव्र्यवहार गरेर मलाई बस्न खान दिदैनन् । म घर जान्न, केही महिना यतै बस्छु भनेकी थिई ” । “ विवाह भएको छोरी कसरी माइतमा राख्नु भनेर हामीले सम्झाएर घरमा पठाएका थियौँ । घरमा गएको तिन महिनापछि ऊ घरबाट भागेर बेपत्ता भएको खबर ज्वाइँले भन्नु भयो । हामीले पनि ठाउँठाउँमा खोजी ग¥यौ । अहिले सम्म फेला परेकी छैन । उसको अवस्थाको बारेमा केही थाहा छैन” । “ अहिलेसम्म कहाँ गई त प्याउली”? अग्नीधरले सोध्यो । “ लोग्नेले पनि पटकपटक पिट्ने गर्थे । घर परिवारको दुव्र्यवहार सहन नसकेर घरै छोडेर हिडी वा आत्महत्या गरी कि ? प्रहरीलाई खोज तलासको लागि जाहेरी दिए पनि कहीँ कतैबाट कुनै सुनवाई भएन । छोरीको यादले सताईरहन्छ । कति दिन भयो, राती अनिदो बसेको । छोरीको मायाले यो मन कटक्क खान्छ । खान मन हुँदैन । बाच्नको लागि एक गास टिप्ने गरेकी छु । छोरीलाई केही हुनु भन्दा आफै मर्न पाए पनि हुन्थ्यो, तर काल आउँदैन । पटक्कै निद्रा प्रदैन । म त न मर्न सक्छु, न बाच्न सक्छु । यो आमाको मन भतभत्् पोलीरहन्छ, अग्नीधर । ” भन्दै उनले बलिन्धारा आँसु खसालिन् ।
प्याउलीको आमाको कुरा सुनेर अग्नीधरलाई सारै नरमाइलो लाग्यो । सानेै देखिको साथी भएकोले बाल्यकाल देखिका बाल स्मृतिहरु उसको मानसपटलमा सल्बलाउन थाले । घर टाढा भएपनि खेतसँगै जोडिएको थियो । बाङ्काठीको एउटै मुलको पानीले दुबै परिवारले खेत रोप्ने गर्थे ।
अग्नीधर र प्याउली दुबैजना सँगसँगै आआफ्ना भैँसी लिएर चराउन जान्थे । उनीहरु भैँसी लिएर कहिले तातोपानी, कट्टी र आँगे सम्म जान्थे । कहिले गैरीखेत र लौरुक सम्मजान्थे । कहिलेकाहीँ सालघारीको जंगलमा समेत पुग्थे । अग्नीधर र प्याउलीका भैँसी पनि उनीहरु दुबैजना जस्तै मिल्ने साथीसाथी थिए । मिलेर चरीरहन्थे । एक दिन दुबैजना सँगै गोटी खेल्दा प्याउलीको आँखामा माटो पर्न गयो । प्याउलीले आँखा चिमचिम गर्दै मिच्न थाली । हत्तपत्त अग्नीधरले दुबै हातले प्याउलीको बायाँ आँखाको परेला च्यातेर आपूmले लगाएको टोपीको भित्री भागले बिस्तारै धुलो निकाल्यो । प्याउलीका आँखाबाट आँसु खसे । पहिलो पटक प्याउलीका आँखा नजिकबाट हेरेको थियो उसले । प्याउलीका आँखा निला र गहिरा थिए । उसले समुन्द्र देखेको थिएन । तर प्याउलीका आँखा फेवातालको पानी जस्तो निलो र गहिरो लाग्यो । प्याउलीका आँखाका नानी भित्र अग्नीधरले पहिलो पटक आफ्नो तस्बीर आफैले देख्न पायो । प्याउलीको विवाह गर्ने कुरा निश्चित भएको थियो । प्याउली अग्नीधरसँग भेट हुँदा कमैमात्र बोल्थी । विवाह गर्नु भन्दा हप्ता दिन अगाडि प्याउली बेसीको गोठमा गएर भैंसी चराउँदै थिई । अग्नीधरले आफ्ना भैँसीलाई पानी खुवाउन बाङ्काठीको मुलमा लिएर गयो । प्याउलीले पनि सोही मुलमा लगेर आफ्ना भैँसीलाई पानी खुवाई । भैँसीले पानी खाएपछि बाङ्काठीकै पाखोमा चर्न थाले । प्याउली, अग्नीधरसँग मन नलागी नलागी करले मात्र बोलेकी थिई ।
“ विवाह गरेर अरुको घर जाने मान्छे, अव मेरो त सम्झना पनि आउँदैन होला है प्याउली ” ? “ तँलाई सबैभन्दा बढी माया गर्ने म नै हो । तँसँग सानै देखि गोटी खेले । धानको कुनियोमा लुकामारी खेले । तँ रुखमा चढेर घाँस र दाउरा काट्दा कता लोट्लास भनेर डराउँथे । तेरो आँखामा बारुलाले टोकेर दुबै आँखा सुनिएको देखेर तेरो मायाले रुने म नै हो । वर्षौ वर्ष तेरो साथमा सँगसँगै भैँसी चराएँ । तेरो माया नलागे मलाई कस्को माया लाग्छ, अग्नीधर ”? “ प्याउली ! माया त म पनि गर्छु नि तिमीलाई ” “ माया मनमा हुन्छ, मुटुमा हुन्छ । माया आँखाको नानीमा हुन्छ । इशारामा माया हुन्छ । हेराईमा माया हुन्छ । तर यि सबै कुरा तैले कहिल्यै बुझिनस् । यस्ता कुरा बुभ्mन सक्ने क्षमता पनि छैन, तँसँग अग्नीधर ”। “ म तिम्रो सानै देखिको साथी के मैले अहिले सम्म माया गरेको छैन त ”? “ तैले माया नगरेको होइन । माया गरीस् । तर मायाको परिभाषा बुझेको खोई? मायाको सुगन्ध पत्ता लगाएको खोई? माया गर्छु भनेर मात्र हुँदैन । मायाको तत्व ज्ञान नबुभ्mनेले माया गरेको देखिदैन र त्यो मायाले कुनै परिणाम पनि दिदैन ” । “ मैले तिम्रो माया पाउन के गर्नु प¥यो त अव ”? “ सबै भन्दा ठुलो समय हो । समयको गति बलवान छ । समय घर्केपछि पछुताएर केही हुँदैन । हासीमजाक गर्दै मैले एकपटक तँसँग भनेकी थिए, अग्नीधर तैले र मैले विवाह गरौँ ? तेरो र हाम्रो खेत जोडिएको छ । यहीँ खेतमा गाई भैँसीको साथमा लोग्ने र स्वास्नी भएर गोठमा बसौंला ? भनेकी थिए मैले । तैल लाज लाग्छ भनेको थिइस् नि हैन ”?
“ तिमी र म साथीसाथी अनि विवाह गर्दा लाज हुँदैन त ?” “ अग्नीधर तँ कति सोझो, बुद्धु, हरिलन्ठु, होस् । तँ यति बिधि घोचो जस्तो सोझो भएर तैले कहिले विवाह गर्छस्? अव तँ सधैं लाज मानेर बस् है” ? “ मैले तिम्रा कुरा केही बुभ्mन सकिन प्याउली ” ? “ तँ बुद्धु होस् । तेरो हृदय कठोर छ । तैले प्रेमको भाषा कहिल्यै बुझिनस् । सायद जिन्दगीको कुनै कालखण्डमा तलाई पनि मायाको आवश्यकता पर्ला ? त्यो बेला तेरो मन्द बुद्धीले माया के हो ? आफै थाहा पाउँने छ ” यति भनीरहँदा प्याउलीको अनुहार अध्याँरो भएको थियो । हातमा एउटा छेस्का समातेर प्याउलीले भुइँमा हेर्दै माटो कोपरीरहेकी थिई । प्याउलीका आँखामा एक्कासी आँसुका भेल बगे । आँसु पुछ्दै केही नबोली प्याउली चुपचाप उठेर भैँसी चरेको पाखो तर्फ गई । अग्नीधर केही समय सम्म बसेकै ठाउँमा एक्लै टोलाएर घोरीयो । उसले पनि प्याउलीलाई माया नगरेको त कहाँ हो र ? तर त्यो माया साथीको रुपमा मात्र सिमित थियो । भैँसी चराउँदा साथमा नहुँदा पनि प्याउलीको सम्झना हुन्थ्यो । याद आउथ्यो ।
तर केटी साथी भनेर केटी प्रतिको आर्कषणले नभई साथी प्रतिको आदरभावले माया गरेको हुन्थ्यो उसले । त्यो त पवित्र मनले साथीको रुपमा गरेको अगाध स्नेहयुक्त माया थियो । हरेक समय प्याउलीलाई आँखा वरीपरी नै खोजीरहेको हुन्थ्यो उसले पनि । प्याउलीले अग्नीधरलाई धेरै माया गर्थी । आदार र सम्मान गर्थी । त्यो नदेखिने अपार माया मुटुको एउटा कुनामा सजाएर जिन्दगी भरी नर्बिसने गरी लुकाएर राखेकी थिई उसले । प्याउलीले मुटुभरी सजाएर दिएको त्यो चोखो मायाको मर्म र महत्व कहिल्यै नबुझी अग्नीधर सधैं हल्का र अबुझ हुस्सु बन्यो । उसमा हिम्मत, आँट साहस केही भएन । उसको लागि माया लाज, डर र सङ्कोच बन्यो । माया गर्दा इज्जत जाने र अरुले छि छि र दुरदुर गर्छन् भन्ने हिन भावनाले ऊ सधंै ग्रसित बन्यो ।
दुबैजनालाई जिन्दगीले अलगअलग बाटो हिंडाए पनि फेरि अग्नीधरले पनि प्याउलीलाई बिर्सन कहाँ सक्थ्यो र ? मनमा माया थियो । सम्झना थियो । बेसीका वनपाखा र गेठमा बसेका ति अतीतका बालस्मृतिहरुले पछ्याइरहन्थे । भैँसी चराउँदै गरेका ति भिर, पाखा, खेतका गरा र कान्लाहरुले नै सम्झना दिलाउँथे । दुबैजना सँगसगैँ हिंडेको र दौडिएको पलपलको यादले बेलाबेलामा अग्नीधरलाई झनै भावुक बनाइरहन्थ्यो ।
आखिरी समय आफ्नो रफ्तारमा अगाडि बढीरहेको थियो । समयले कसैलाई पनि कुरेर बस्न कहाँ सक्थ्यो र ? उनीहरु दुबैजनाको भेट नभएको पनि वर्षौँ वर्ष भएको थियो । प्याउली हराएपछि अग्नीधरसँग कहिल्यै भेट भएन । प्याउलीको अवस्था कस्तो छ ? कुनै जानकारी समेत पाएन अग्नीधरले । अग्नीधर काम विशेषले पोखरा जाँदा आउँदा कहिल्यै पनि पोखराको गल्लीगल्ली र कुनाकाप्चाहरुमा समेत पुग्दा प्याउलीको कुनै खबर पाएन । अग्नीधरको विवाह भएको झण्डै बीस वर्षपछि अग्नीधरले छोरा भक्तरामलाई साथमा लिएर छोराको नागरिकता बनाउन जिल्ला प्रशाशन कार्यलय पोखरा पुग्यो । छोराको नागरिता बनाएर जिल्ला पञ्चायतको चौतारोमा पुगेर दुबै बाबु छोराले नगर बस कुरेका थिए । नगर बस कुरीरहेको समयमा अचानक एकजना अर्धनग्न अवस्थाकी दुब्लीनदुब्ली महिलाले जिल्ला पञ्चायतको चौतारोमा पुगेर चर्को स्वरमा कराउँदै “ अग्नीधर तलाईँ माया गर्न आयो ? अग्नीधर तँ जहाँ भएपनि तँलाई मेरो पाप लाग्ने छ ” भन्दै बर्बराउँदै हिँडेको अग्नीधरले प्रस्ट देख्यो । अग्नीधरको छोरा भक्तरामले बुबाको मुखमा पुलुक्क हे¥यो । तर उसले कुरा बुभ्mयो वा बुझेन ? अग्नीधरले भने थाहा नपाएजस्तो ग¥यो । दुबै बाबु छोरा नगर बस आएपछि भने सुटुक्क बसमा चढेर मुस्ताङचोक हेँदै बगर तर्फ अगाडि बढीरहेपनि ति महिलाको आवाज भने अग्नीधरको कानमा पछिसम्म पनि गुन्जीरहेको थियोे ।









प्रतिक्रिया दिनुहोस्