दैलेख : कर्णाली प्रदेशको मौलिक कला, लोक नृत्य र नाट्य विधाको संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यले दैलेखको नौमूलेमा ‘कर्णाली लोक नृत्य एवं सांस्कृतिक सम्मेलन २०८३’ आयोजना हुने भएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा(प्रतिष्ठानको आयोजना तथा नौमूले गाउँपालिकाको सहकार्यमा यही वैशाख ४ र ५ गते उक्त सम्मेलन हुन लागेको हो ।


सम्मेलनको तयारी र उद्देश्यबारे जानकारी दिन आज दैलेख सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य बखतबहादुर हमालले कार्यक्रमको विस्तृत रूपरेखा प्रस्तुत गरे । उनले कर्णालीका १० वटै जिल्लाका मौलिक लोक नृत्य र लोक नाटकहरू एउटै मञ्चमा प्रदर्शन गरिने जानकारी दिए । “हामीले यस कार्यक्रमलाई तीन विशेष सत्रमा विभाजन गरेका छौँ”, प्राज्ञ हमालले भने,“एउटा सत्रमा कर्णालीको लोक नृत्य र संस्कृतिको वर्तमान अवस्थाबारे गहन अन्तरक्रिया एवं गोष्ठी हुनेछ भने अर्को सत्रमा १० वटै जिल्लाका विशिष्ट लोकसङ्गीत र नृत्यका स्रष्टा एवं सर्जकहरूलाई विशेष सम्मान गरिनेछ ।”

उनले यस पटकको सम्मेलनमा दैलेखको कला र संस्कृतिलाई विशेष महत्वका साथ प्रदर्शन गरिने स्पष्ट पारे । पत्रकार सम्मेलनमा नौमूले गाउँपालिकाका अध्यक्ष छविराम सुवेदीले पालिकाले कार्यक्रमको भव्य तयारी गरिरहेको बताए । भौगोलिक विकटताका कारण नौमूले बजारमा यति ठूलो प्रदेशस्तरीय कार्यक्रम व्यवस्थापन गर्नु चुनौतीपूर्ण भए पनि कुनै समस्या हुन नदिने उनले बताए । “पाहुनाहरूको खाना, बसोबास र सुरक्षाको विषयमा छलफल गर्न आजै सर्वदलीय बैठक बोलाइएको छ”, अध्यक्ष सुवेदीले भनले“व्यवस्थापनको पाटोमा हामी कतै पनि चुक्ने छैनौँ ।”

  • No tags available
प्रकाशित मिति : २०८३ वैशाख १ गते मंगलबार