नजिकिँदै रास्वपा र श्रम संस्कृति



काठमाडौँ ।

केही समय अघिसम्म एक अर्काको आलोचक रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र श्रम संस्कृति पार्टी नजिकिने संकेत देखा परेको छ । गएको फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि रास्वपाले सरकार चलाउने हुँदा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले रास्वपा र खासगरी प्रधानमन्त्री बालेन्द्र शाहसँग निरन्तर प्रश्न गर्ने बताउँदै आएका छन् ।

आज (शुक्रबार) हुने प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचनमा रास्वपाले श्रम संस्कृति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेपछि नयाँ भनेर चिनिएका ती दलहरूको सम्बन्ध सुधारमा आउने अपेक्षा गरिएको छ । उपसभामुख निर्वाचनमा सुरुमा रास्वपाले राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारलाई सघाउने चर्चा चलेको थियो ।

तर उम्मदेवारी दर्ताको अन्तिम समयमा आएर बिहीबार रास्वपाले श्रम संस्कृति पार्टीका उम्मेदवारलाई उपसभामुखमा सघाउने निर्णय गरेपछि राजनीति वृत्तमा यस्तो निर्णयलाई अर्थपूर्ण रूपमा हेरिएको छ । राजनीतिक विश्लेषकहरू केही दिनअघिसम्म एक अर्काको आलोचकको रूपमा रहेका दलहरू एकाएक सहमतिमा पुग्नुलाई नयाँ सम्बन्ध विस्तारको रूपमा लिन्छन् ।

‘एकले अर्काको कुरा आलोचना गर्दै हिँड्ने दलहरू उपसभामुख पदका लागि सहमति गर्नाले उनीहरू पनि पदकै लागि मरिहत्ते गर्छन् कि भन्ने देखियो,’ राजनीतिक विश्लेषक दीपेश घिमिरेले भने, ‘यस्तो सम्बन्धले कतै प्रतिनिधिसभा प्रश्नै नआउने थलो त बन्ने होइन भन्ने खतरा हुन्छ ।’
उपसभामुखका लागि श्रम संस्कृति पार्टीबाहेक राप्रपा, नेपाली कम्युनिष्ट पार्टी, नेपाली काँग्रेसले पनि दाबी गरेका थिए ।

रास्वपाले श्रम संस्कृतिकी सांसद रुवीकुमारी ठाकुरलाई उपसभामुख बनाउन सहमति गरेपछि राप्रपा बाहेकका अन्य दलले उम्मेदवारी दर्ता नै गराएनन् । संसद्मा सबभन्दा ठूलो दल रास्वपा भएकाले उसले जसलाई समर्थन गर्छ, त्यही पार्टीका उम्मेदवार उपसभामुख बन्न पाउँछन् । सभामुखमा भने यसअघि नै रास्वपाका डोलप्रसाद अर्याल विजयी भइसकेका छन् ।

अब प्रतिनिधिसभाको उपसभामुख पदका लागि मनोनयन दर्ता गरेका श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवारबीच शुक्रबार प्रतिस्पर्धा हुन्छ । श्रम संस्कृति पार्टीबाट सांसद ठाकुरसँग राप्रपाकी सांसद सरस्वती लामाले प्रतिस्पर्धा गर्दैछिन् । रास्वपा प्रवक्ता मनिष झाले उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी ठाकुरलाई समर्थन गर्ने निर्णय भएको जानकारी दिए ।

प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीका ७ र राप्रपाका ५ सांसद छन् । सभामुखको अनुपस्थितिमा प्रतिनिधिसभाको बैठक सञ्चालन गर्ने मात्र नभई संवैधानिक परिषद्को सदस्य पनि उपसभामुख हुने भएकाले न्यायाधीशलगायत विभिन्न संवैधानिक निकायमा नियुक्ति गर्दा उपसभामुखको भूमिका महत्वपूर्ण हुने यो पद भएकाले राजनीतिक दलहरूका लागि आकर्षक हुने गर्छ । संवैधानिक व्यवस्थाअनुसार कुनै एक पार्टीको व्यक्ति सभामुख चयन भइसकेको अवस्थामा अर्को पार्टीको सदस्य उपसभामुख त्यो पनि विपरीत लिंगको हुनुपर्छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत २७ गते शुक्रबार