चरित्र शाह
एउटा लठ्ठी जसले कति भिराला, उकाला पहाड चढ्यो,
एउटा डाली जो कैयाँै आँधी, हुरी, घाम र वर्षा सहँदै अडियो,
बसन्तले नछोएरै शिशिरमै फूल्ने प्रयासरत एउटा फूल,
एउटा धुन जसले कसैको मन छुन नसकेको,
बत्ती, उज्यालो छरिरहेको तर आफू जलिरहेको,
पृथ्वी, सहस्र कष्ट सहिरहेको,
हावा, अर्काको प्राण बनी आफू प्राणहीन रहेको,
नदी, निरन्तर निरन्तर बगिरहने, अविश्राम संसार धोइरहने,
आकास, पृथ्वीको छानो ।
सायद जीवन यही फूल, धुन, आगो, पानी, आकास, माटो अनि पवन रहेछ । यी सबैको सम्मिश्रण रहेछ । डाली रहेछ जीवन, झुक्न जान्नुपर्ने, कहिले ठडियो, कहिले झुकियो, कहिले भरियो, कहिले रित्तियो । यसरी नै चल्दो रै’छ जिन्दगी । फर्केर हेर्छु जिन्दगीलाई, पल्टाउँदै जान्छु अतीतका पन्नाहरू । जसरी बदलिन्छ समय त्यसरी नै बदलिदा रै’छन् जिन्दगीका भोगाइहरू । चाहेर पनि सकिन कति कर्म गर्न । नचाहेर पनि गरिए कति कर्म । म निदाउन सकिरहेकी छैन । मेरा ओठ खुलिरहेका छैनन जिब्रो चलिरहेको छैन । म मौन छु केवल मौन । सुनसान रात छ । प्रकृति पनि मौन छ । सारा चराचर मस्त निद्रामा छन् तर मेरो मन निदाउन सकेको छैन । प्रकृति शान्त छिन् तर मेरो मन शान्त छैन । मेरो मन स्थीर छैन । मेरो प्र्रेमको अमूल्य उपहार कि यही हो । मैले चालिस काटेपछि मेरो जीवनले लिएको एउटा मोड । सायद दिन नआएर केही हुँदैन होला । समयले नचाहेर पनि केही हुँदैन होला ? म मान्छे । मभित्र पनि अनेक विचारका तरङ्गहरू छन् । म पल्टाउँदैछु सम्झनाका तरेलीहरू आज पनि । जब म एघार वर्षकी थिएँ । मेरो बाबा संसार छोडेर जानुभयो । अब घरमा आमा, बहिनी, भाइ र म चार जना मात्र बाँकी रह्यौँ । बहिनी छ वर्षकी, सानो भाइ दुई वर्षको थियो । आमाको बैँस फुलिरहेको थियो । सायद २५÷२६ वर्षको उमेरमा मेरी आमा विधवा हुनुभयो । हामीहरू सानैमा टुहुरा भयौँ । पहाडको गाउँ ।
लेक गार गरेर खेती किसानी गरेर बल्लतल्ल हातमुुख जोर्नु पर्ने अवस्थाका हामीमा ठूलो बज्रपात प¥यो । हाम्रो भुँडी उकास्न र जिउ ढाक्ने एक सरो लुगा किन्न धौधौ थियो । मेरी आमालाई एक्कासि पति वियोगको पीडा त अर्कातिर तीनतीन जना चिचि भुँडी । बाबा मरेको पाँँँच वर्षपछि तल्लो गाँउको बुढो लाहुरेसँग आमा पोइल जानुभयो । हामीहरूलाई अझै टुहुरो पारेर । त्यसपछि हामी अभिभावक विहीन भयौँ । मलाई नै आमा बन्नुपर्ने भयो । भाइ बहिनीको सारा जिम्मा मेरो थाप्लोमा आयो । मेरो पन्ध्र सोह्र वर्षको फुरफुरे बैँस आउन थालेको बेला आमा उठेर हिड्नु भयो । बाबाको मृृृृृृृत्यु हुँदा जति पिडा थियो त्योभन्दा बढी पिडा आमा पोइल जाँदा भयो । कतिखेर आमाप्रतिको आक्रोश उम्लेर आउँथ्यो र कतिखेर ममता विहिन हुनुको पिडा । त्यतिबेला म उमेर र अनुभव सबै कुराले अपरिपक्व नै थिएँ । आमाका बाध्यता, विवशता, साथ र सहयोगको आावश्यकतालाई बुझ्न सकिन । साना भाइ बहिनीको अनुहार हेर्थेँ झनै मन कुँडिएर आउँथ्यो । कहिलेकाँही आमा आएर भेट्नुहुन्थ्यो । खानेकुरा कपडा ल्याएर दिनुहुन्थ्यो । भाइ बहिनीले आमा अब हामीलाई छोडेर नजानुस् भन्दै काखमा ढलेर रुन्थे । आमा पनि रुनु हुन्थ्यो । आमासँग म त लगभग चारपाँच महिनासम्म बोलिनँ । बेलाबेला आएर भेट्दै गर्दा बिर्सिन थालेका बच्चालाई सम्झाएर तड्पाउन आएजस्तो लाग्थ्यो । साना चिचिलालाई एक्लै छाडेर पोइ खोज्न हिडने अहिले आएर काउलो पार्ने मनमनै यस्तै सोच्थेँ । छोराछोरीको माया भए त दुःख सुख काटेर हामो मुख हेरेर बस्नुपर्ने नि भन्ने लाग्थ्यो । म केही नबोली मुन्टो फर्काउँथेँ ।
आमा हामीलाई छोडेर गए पनि बेलाबेला आएर हाम्रो रेखदेख गर्नुहुथ्यो । हामीलाई भने बाआमाको छहारी गुमेजस्तै लागेको थियो । जे भए पनि जसरी भए पनि बितिरहेका थिए दिनहरू । हेर्दा हेर्दै भाइ बहिनी जवान हुँदै थिए । भाइले बिहे ग¥यो । श्रीमती लिएर विदेश गयो । उतै बस्न थाल्यो । बहिनी पनि बिहे गरेर गई । म एक्ली भएँ । जसको लागि भनेर म बुढीकन्या बसेँ । ती सबैले मलाई छोडेर गए । मेरा सारा कर्महरू बिर्सेर गए । मैले घर अगाडि सानो घुम्ती पसल राखेर चिया बेच्दै जीवन चलाइरहेकी थिएँ । चिया पिउने मेरा ग्राहकहरू थपिँदै थिए । श्याम पनि मेरो नियमित चिया ग्राहक हो । आउने अरू कैयौँ ग्राहकभन्दा ऊ तन्नेरी थियो । साह्रै सुन्दर थियो र म भन्दा ६÷७ वर्ष कान्छो पनि थियो । बिस्तारै बिस्तारै म उसको सौन्दर्यबाट मोहित हुँदै गएँ । सायद ऊ पनि मप्रति आकर्षित भएको हुनुपर्छ । बेलाबेलामा मलाई ए काली तिमी त ‘ब्ल्याक व्युटी’ भन्दै जिस्काउँथ्यो । तिमी र म बिहे गरौँ है ! पनि भन्थ्यो बेलाबेलामा । म बुढी मान्छेसँग के बिहे गर्छौै मैले भन्थेँ । यस्तै यस्तै ठट्टा चल्थ्यो हामी दुई बिचमा । म ऊप्रति आकर्षित भए पनि सुरु सुरुमा विहे गर्ने रहर भएन । म ऊभन्दा ६÷७ वर्ष जेठी थिएँ । कालीकाली गुजुल्टे कपाल गरेकी म क्षेत्री ऊ बाउन । हेर्दा पनि जिउडाल मिलेको हट्टाकट्टा थियो । के कुरा मिल्छ र हाम्रो घरबार जोड्दा । घर पनि निकै कडा छ । सासु ससुरा कडा छन् । यस्तै यस्तै सोच्दै मन मार्थेँ ।
सायद जे कुरा पनि भरियो भने पोखिन्छ होला । आमाले छोडेपछि भाइ बहिनीको आमा बनेँ । आमाले त मेरो भरमा छोडेर जानुभयो । मैले कसको भरमा छोड्ने । बेलैमा बिहे गर्ने, घरजम गर्ने मन नभएको त कहाँ होे र तर के गर्ने भाइबैनीको भविष्यको लागि सारा इच्छाहरूलाई दबाएर राखेँ । म पनि एउटा केटी हुँ । ममा पनि कोमल नारी हृदय छ । संसारले सोचे जस्ती कठोर त म पक्कै पनि थिइँन । मेरा दमित रहर र चाहनाहरू बढदै गए । मेरो मन भरिँदै गयो र अट्ने ठाउँ नभएर पोखिएको होला । श्याम र म बिचमा आत्मीयता बढ्दै गयो । सायद प्रेम गर्नलाई जात, भात र उमेर कुनै कुराले छेक्दो रहेनछ । हाम्रो सम्बन्ध बढ्दै गयो । हाम्रो प्रेमको चर्चा चल्न थाल्यो । हामी मन्दिरमा गयौँ र स्वयंवर ग¥यौँ र मेरै घरमा सगैँ बस्न थाल्यौँ । श्यामको बाआमा दिदीबहिनी दाइभाइ कसैलाई हामीले गरेको निर्णय सह्य भएन । दिनका दिन हामीलाई छुटाउने खेल खेल्न थालियोे । एक दिन सासु आइन् मेरा जगल्टा नै उखेलिन् । “लाज नभएकी बुढी कन्या मेरो छोरालाई फसाउने भन्दै तथानाम गाली गर्न थालिन् । हेर ! हेर ! आमाजस्ती बुढीकन्यालाई जोइ मानेर बसेको नकटो । यस्ती तौवा जस्ती काली गजल्टीसँग पोइल आ’छ । हेर्दा पनि अलि राम्री भए त हुन्थ्यो । चालिस वर्षसम्म नबिकेकी जगल्टेको पछि लाग्छ । तलाई जोइ नपाको नकटो । यसलाई नछोडेपछि मलाई आमा नभने पनि हुन्छ ।” छोरालाई पनि केही बाँकी राखिनन् । लाग्ने छुराजस्तो मुख चलाइरहिन् । मलाई साह्रै दुःख लाग्यो । मैले यो अनमेल विवाह गरँे त्यसैले म रन्डी भएँ । सुन्नै नसकिने शब्दहरू सुनेँ ।
बाल्यकालदेखिको सङ्घर्षको कथा सकिएझैँ लाग्यो । मेरो त्यागको गाथा र गौरवपूर्ण इतिहास मेटिएझैँ भयो । मुखको गास निल्नु न ओकल्नु जस्तै भयो । म रोइरहेँ । श्याम पनि केही बोलेन । चुपचाप सुनिरह्यो । हामो सम्बन्ध एककान दोकान मैदान भयो । गाउँमा कचहरी बस्यो र मलाई श्यामको घरमा भित्र्याइदियो । कसैले पनि फुटेका आँखाले हेर्न नचाहने त्यस घरमा म भित्रिएँ । एक त बाहुनको घर त्यसैमा म जबर्जस्ती भित्रिएकी । खेतबारीमा काम गर्ने, घाँस काटने, भकारो सोहोर्ने यस्तै थियो मेरो दिनचर्या । म श्यामको घरमा भित्रिएँ तर मेरो श्याम मदेखि टाढिन थाल्यो । मैले पत्ता लगाउन सकिनँ उसको मनमा के चलिरहेको छ । ऊ फेरिएको देखेर लाग्थ्यो कतिखेर उसको मन मर्दैछ मप«्र्र्रति । कतिखेर सोच्थेँ तनावले होला । एकातिर बाआमा अर्कोतिर म । सोच्दो हो बाआमा खोजेर पाइन्न । उसको मप्रतिको बेवास्ता बढदै थियो । गाउँ छिमेकमा कोहीकोही खासखुस गर्थे, बसीबसी बुढेसकालमा त्यति रामो केटो पाई । कसैकसैले भन्थे, कति दिन टिक्ने हो ? त्यस्तो कडा घर छ । दुलाहा नक्कले छ । जसले जे भने पनि मलाई कुनै पर्वाह थिएन । सबैप्रतिको आफ्नो कर्तव्य पूरा गर्दै गएँ । सँगै बसेर राम्रो व्यवहार गर्दै जाँदा मन पग्लिहाल्छ कि भन्न्ने मेरो आशा निराशामा बदलिन थाल्यो । वर्षदिन बितिसक्यो र पनि जस्ताको तस्तै । मप्रति कसैको मन फर्किएन । दयामाया पलाएन । न कसैको राम्रो हेराइ छ न मिठो बोली । म यस घरमा कुन आशाले बसूँ ? यस्तै सोचेँ र त्यो घरबाट निस्केर मेरै सानो झुपडीमा फर्किएँ । श्यामको परिवारलाई त के खोज्छस् ………… आँखो भने जस्तै भयो । श्यामका परिवारले तुरुन्तै सम्बन्ध विच्छेदको कागज अगाडि बढाए ।
सासूले कागज अगाडि सार्दै भनिन्, ल सही गर । म गर्दिनँ, मैले भनेँ । वर्षदिन घर खाइस् । मायाप्रेम पनि बुझिस् । आफै घर छोडेर पनि आइस्। अझै केका लागि जोरी खोजिछेस् र ? वारपार गरेर आनन्दले बसे भइहाल्यो नि । मलाई अर्को बिहे गर्नु छैन । किन सम्बन्ध विच्छेद गर्नुप¥यो ? मैले असहमति जनाएँ । आफ्नो मात्र सोचेर हुन्छ र ? श्यामको पनि त बाटो फुकाइदिनु प¥यो । सासूले अनुरोध गरिन् । मैले कसैको बाटो बाँधेकी छैन । हजुरहरूको मन लागी गर्नुस् । मैले मुख फर्काएँ, सही गरिनँ । जुकोझैँ टाँसिन आएकीसँग पार पाउन मुस्किल छ भन्दै सासू बाटो लागिन् । केही महिनापछि सुनँे, श्यामले अर्कै बिहे ग¥यो रे । त्यो खबरले मेरो मनमा चट्याङ प¥यो । घर छोडेर आएकै थिएँ । घरमै बसे पनि श्यामको र मेरो एउटै कोठा कहिल्यै भएन । मुखले भने जसरी मनले सोचे जसरी गरी पु¥याउन सजिलो कहाँ छ र ? म तड्पिरहेकी छु उसैको खोजीमा जसले मलाई यति धेरै चोट दियो । एउटै गाउँ एउटै ठाउँ नदेखूँ भने पनि देखिने, नसुनूँ भने पनि सुनिने । मागेर ल्याएकी जातकी बुहारी भित्र्याउने बिहेको धुमधाम थियो । म भित्रभित्रै जलिरहेकी थिएँ । कतिखेर आफैलाई रिस उठ्थ्यो त कतिखेर श्यामलाई र उसको परिवारलाई । सबैभन्दा बढी दोषी त म आफैलाई ठान्थेँ । म किन बौलाएँ यो उमेरमा ? यो प्रेम हो कि होइन ? प्रेम हो भने ऊ किन मूकदर्शक बनेर बस्यो परिवारको अगाडि ? मसँग प्रेम हुन्थ्यो त उसको यस्तो व्यवहार कसरी हुन्थ्यो ? म यस्तै सोचेर रोएँ । घरबाट निस्केर हिडे पनि मनको आशा मरेको रहेनछ । जब उसले अर्को बिहे ग¥यो, मन मुटुमा बन्चरो हानेझैँ भयो । त्यसपछि आशा मार्ने कोसिस गरेँ । मन गाँठो पार्ने प्रयत्न गरेँ ।
कस्तो नजुर्ने ग्रह जुरेछन् । यति छिटै छुट्नु थियो त यो भेट किन भयो ? मनमा यस्तै प्रश्नोत्तर भइरह्यो । बिहे गरेको दुई महिनापछि श्यामको र मेरो पुनः भेट भयो । ऊ आफँै मलाई भेट्न आयो । ऊसँग कुराकानी हुनुभन्दा अगाडि नै मैले सोचेँ, एकपटक एउटा आँधी लिएर आयो मलाई उडायो । अब फेरी कुन सुनामी लिएर आउँदैछ ? ऊ सेता दाँत देखाएर मुस्कुरायो । मलाई त्यो मुस्कानले गिज्याएझैँ लाग्यो । मैले रिसैसँग उसलाई आँखा तरेर हेरेँ । “मैले तिमीलाई बिर्सिन सकिनँ कालु, म खुसी हुन सकिनँ नयाँ दुलहीसँग ।” ऊ भन्दै थियो । नयाँ बाटो बनाएर हिडेको तिमी अब मेरो बाटोमा नआऊ । मैले झन्किएर भनेँ । “मेरो पहिलो प्रेमिका, पहिलो श्रीमती तिमी नै हौ । मैले तिमीप्रति जो व्यवहार गरेँ त्यो सबै बाआमाको मन राख्न हो ।” ऊ नाटक गर्दै थियो । भयो भयो, नाटक नगर । मैले बिचैमा रोकेँ । “छातिमा हात राखेर भन्छु, यो सब साँचो हो । उसले कसम खायो ।” बाआमाको खुसीको लागि किन दुईजनालाई खाल्डोमा हाल्यौ त ? कति सजिलो छ तिमीहरूलाई आफ्नो अहम्को लागि अर्काकी छोरीलाई बली चढाउन । मैले आक्रोशित नजरले उसलाई हेर्दै भनेँ । एक मनले भन्दै थियो फेरि फस्लिस् । अर्को मनले भन्दै थियो श्याम सबैभन्दा पहिला त मेरै हो । साहस गर्दै थिए भुल्न त्यो अतीतको प्रेमलाई । ओहो ! यो मन पनि कस्तो हँुदोरहेछ । जसले यति बिघ्न दुःख दियो उसैलाई खोजिरहने । उसैलाई सम्झिरहने । भन्न त मैले भनेँ, भयो अब मेरो सामु नआऊ । म यसैमा खुसी छु । तिम्रा बाआमा, दिदीबहिनी, श्रीमती सबै सबै छन् तिमीसँग । म दःुखीसँग नआऊ । सुकेको आँसुको मुल फुटाउन नआऊ ।
बारम्बार टुक्रिएको मुटु झन् टुक्य्राउन नआऊ । मेरो आफ्नै संसार थियो, पहिचान थियो । तिम्रो नाटकमा रन्थनिएँ र गिरेँ । अब बल्ल घैँटोमा घाम लागेको छ । जाऊ तिमी आफ्नो बाटो । तिम्रो लागि मेरो घरको ढोका बन्द छ र दिलको ढोका पनि । भन्न त भनेँ मुखले । मात्र मुखले मुखभरिको जवाफ दिएँ तर मेरो मन छचल्किएर पुनः आँसु बनेर बग्न थाल्यो । मसँग यति कुरा गरिरहँदा तिम्री नयाँ दुलहीको बारेमा केही सोच्यौ ? कि उनलाई पनि मलाई जस्तै ज्युँदै जलाउने विचारमा छौ ? फेरि पनि त तिम्री आमा मुर्छा पर्नुहोला । मैले सोधेँ । यही तरिकाले ऊमाथि पनि अन्याय गर्न थाल्यौ भने म त्यो सहेर बस्ने छैन । म आफँै कानुनी उपचारको बाटो खोज्नेछु । ममाथिको अन्यायमा म चुप बसेँ, किनकी जब तिम्री आमालाई मेरै रूपमा देखेँ । ऊ गम्भीर हुँदै भन्यो, “तिमीले सम्बन्ध विच्छेदको पेपरमा हस्ताक्षर गरिनौ । आमालाई फिर्ता पठाइदियौ । आमा घरमा पुगेर थचक्क भुइँमा बस्नुभयो । बुढेस कालमा यही दिन देख्न लेखेको रैैै’छ मलाई । कस्ती बुहारी ल्याउँछु भनी कस्ता सपना सजाउँदै बसेकी थिएँ । आफ्नो मन छोराछोरीमाथि, छोराछोरीको मन ढुङ्गामुढामाथि भनेको यही होला । धिक्कार रै’छ आमा हुनु पनि । आमा यस्तै बर्बराउँदै मुर्छा परेर ढल्नुभयो । मलाई धेरै ग्लानी भयो । एकातिर हाम्रो प्रेम अर्कोतिर बाआमा ।
कसलाई छोडूँ, कसलाई अङ्गालूँ ? म साह्रै असमञ्जसमा परेँ । तिमी त सङ्घर्षको थुप्रै अग्ला पहाड चढिसकेकी थियौ । यति कुरा त सहन सक्छ्यौ भन्ने मलाई विश्वास थियो । सोचेँ, यदि म नै आमाको दुःख र मृत्युको कारण बनेँ भनेँ सबैले मलाई धिक्कार्ने छन् र आफैँले आफँैलाई पनि । त्यसैकारण मैले यो कठोर निर्णय लिएँ । यसको लागि मलाई माफ गर । मैले मनमनै सोचेँ । यो कागजले मात्रै साँचो माया छुटाउन कहाँ सक्छ र ? तिमीलाई बिर्सने धेरै कोसिस पनि गरेको हो तर यो मनमा जो फूल तिमीले रोपेकी थियौ त्यो एक अम्लान पुष्प बनेर पूmल्यो । हजार यत्न गरेर पनि मैले तिमीलाई मेरो दिलबाट हटाउन सकिनँ । मेरी पहिलो प्रेमिका, पहिलो श्रीमती । मेरो मनमा सबैभन्दा पहिले बास तिमीले नै ग¥यौ । मेरो मनले सधै तिमीलाई नै खोजिरहन्छ । बाआमाको मन राख्न मात्रै मैले त्यसो गरेको हो ।” ऊ लामो व्याख्या गर्दै थियो । मैले बिचैमा रोकेर भनेँ, भयो भयो अब धेरै नाटक नगर । यथार्थ जे हो तिमीले आफँैले ओकली सक्यौ । यस्ता थोत्रा भावनामा बगेर कानुनलाई चुनौती दिने कुरा नगर । यो त फौजदारी अपराधभित्रको एउटा प्रकृति हो । बाआमाको खुसीको लागि दुई दुई जनालाई खेलौना बनाउन खोज्ने । हुन त हामी महिला पनि दोषी नै हौँ । मान्छे को हो, कस्तो हो भन्ने कुराको ख्यालै नगरी जीवनको यति महत्वपूर्ण निर्णय गर्ने । आफ्नो मनलाई तालाचाबी लगाएर आफ्नो बुद्धि बलियो बनाउन सकेको भए यस्तो अवस्थामा पुग्नु पर्ने थिएन सायद । मेरो त बुद्धि बिग्रियो बिग्रियो ।
अर्कीले पनि त विचार पु¥याउनु पर्ने । मेरो हालत देख्नु पर्ने र मेरो बारेमा पनि केही सोच्नु पर्ने । तर अहिलेको जमानामा अर्काको बारेमा त कस्ले पो सोच्छ र ? फेरि आफ्नो बारेमा पनि त सोच्नु पर्ने । सबैभन्दा पहिला त श्याम मेरै हो । कानुनी रूपमा अलग पनि भएका छैनौँ । तर पनि मैले उसको रूप देखिसकेँ । ढिलै भए पनि मेरो घैँटोमा घाम लाग्यो । त्यो अतीतलाई मैले बिर्सनै पर्छ । समयमा बुद्धि नपु¥याएर निर्णय गर्नुको सजाय मानसिक रूपमा जेजति भोग्नु भोगिसकेँ । मैले अब मन पत्थर बनाउनै पर्छ । मन दरिलो बनाउने कोसिस गरेँ । आफ्नो क्षणिक स्वार्थको लागि नारीहरूलाई चाहिँदाको भाँडोे नचाहिँदाको ठाँडो गर्न खोज्ने । दुष्टहरूलाई कति सजिलो छ आफू र आफ्नाको लागि अर्काकी छोरीलाई बलि चढाउन । यति भन्दै मैले आक्रोश मिश्रित नजरले उसलाई हेरेँ । एक मनले भन्दै थियो कानुुनी उपचारको बाटो खोज्, अर्काे मनले भन्दै थियो, नदुखेको टाउको डोरी लाएर किन दुखाउनु ? हुन त नदुखेको टाउको कहाँ हो र ? ऊसँग भेट भएदेखि बारम्बार दुखिरहेकै हो । प्रश्न अर्काे पनि छ, हामीले चुप लागेर बस्ने हो भने यस्ता अन्यायपूर्ण क्रियाकलापहरू कति दिन सम्म ? सुझाव ः अनुच्छेदहरु लामा भए कि जस्तो लाग्यो । आमाले बिहे गर्नुको कारण बारे पनि एउटा अनुच्छेद लेख्ने हो कि ? आमालाई दोष दिएजस्तो देखियो । दोधार शीर्षकलाई अझै जीवन्त बनाउन अन्तसम्म पनि एउटा मनले श्यामलाई मन पराइरहेको पनि एकाध बाक्य लेखेर देखाउने हो कि ? एउटा कोठामा नसुतेको भन्ने कुरा हटाउने हो कि ? बाकी कुराकानीमा ….









प्रतिक्रिया दिनुहोस्