कोहलपुर (बाँके) ।
नेपाली काँग्रेस बाँकेका पूर्वउपसभापति सुनिलनरसिंह राणा, नेता सुदिप नरसिंह राणाले नेपालगन्जस्थित महेन्द्र मावि नेपालगन्जस्थित रानीतलाउ केन्द्रमा मतदान गरेका छन् । मातृ शोकमा रहेका राणा परिवारले मतदान केन्द्रमै पुगेर मतदान गरेका हुन् । बाँके जिल्लाको खजुरा गाउँपालिका वडा नम्बर ३ धौलागिरीका किरियापुत्री शिव सापकोटा र महेश सापकोटाले मतदान गरेका छन् ।
बाँकेको राप्ति सोनारी गाउँपालिका समशेरगन्जको शिवशक्ति माविको मतदान केन्द्रमा किरियापुत्री मनबीर कामीले निर्वाचन कर्मचारीहरूको सहयोगमा मतदान गरेका हुन् । सल्यानको बागचौर नगरपालिका–३ स्थित विजय प्राथमिक विद्यालय मतदान केन्द्रबाट ६ दिनअघि दैलेखमा भएको दुर्घटनामा निधन भएका २७ वर्षीय हरिलाल भण्डारीका भाइ रेशम भण्डारीले शोकको अवस्थामै मतदान गरेका हुन् ।
संखुवासभामा पत्रकार नवीन गुरुङले खाँदबारी–४ सेकाहाको कालिका मावि केन्द्रबाट मतदान गरेका छन् । गुरुङका बुबाको बुधबार निधन भएको थियो । बागलुङमा किरियायापुत्रीले मतदान गरेका छन् । क्षेत्र नम्बर १ अन्तर्गत काठेखोला गाउँपालिका–३ का दीपेन्द्र रानाले आमाको किरिया बसेका बेलामा मतदान गरेका हुन् । रानाकी आमा शशिकला रानाको यही फागुन १५ गते ८८ वर्षको उमेरमा मृत्यु भएको थियो ।
तनहुँको व्यास नगरपालिका–११ मा दुईजना किरियापुत्रीले मतदान गरेका छन् । सोही ठाउँका तिलकबहादुर खड्का र समुन्द्र खड्काले किरिया बसेको अवस्थामा मतदानमा सहभागिता जनाएका छन् । उनीहरूले तनहुँ आधारभूत विद्यालय बेलटारी मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरेको मतदान अधिकृत सुदीप कँडेलले जानकारी दिए ।
नागरिक आफ्नो कर्तव्यप्रति सचेत रहँदै व्यक्तिगत शोकमा पनि मतदानमा सहभागी भएका हुन् । यसैगरी, तनहुँकै व्यास नगरपालिका–१ मोहोरियाटारका किरियापुत्री बसेका ५८ वर्षीय सुब्बा पन्थले मतदान गरेका हुन् । पन्थले व्यास नगरपालिका–१ भादगाउँस्थित जलदेवी माध्यमिक विद्यालय ‘ङ’ मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
उनले आफ्ना ८३ वर्षीय बुबाको बिहीबारै निधन भएको र दाहसंस्कारपश्चात् मतदानमा सहभागी भएको बताएका छन् । छायानाथ रारा नगरपालिका–१ स्थित मीन माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा किरियापुत्रीले पनि मतदान गरेका छन् ।
छायानाथ रारा नगरपालिका–१ निवासी दिवङ्गत ९३ वर्षीया रुपा मल्लका छोराहरू ललिजङ, राजन र विनोद मल्लले उक्त मतदान केन्द्रमा मतदान गरेका हुन् । त्यसैगरी, सोही वडाकी अर्की दिवङ्गत ९१ वर्षीया हाँसादेवी मल्लका छोरा गोविन्द र भूपेन्द्र मल्लले पनि सोही मतदान केन्द्रमा मतदान गरेका हुन् ।









प्रतिक्रिया दिनुहोस्