सिप्लिकान र चिउरीका बिरुवा अनुदानमा वितरण गर्दै महानगर



गण्डकी ।

पोखरा महानगरपालिकाले किसानलाई सिप्लिकान र चिउरीका बिरुवा अनुदानमा वितरण गर्ने तयारी गरेको छ। बाँझो जमिनको सदुपयोगसँगै बाँदरले क्षति नपुर्‍याउने औषधीय गुण युक्त सिप्लिकानका साथै मौरीपालक किसानलाई उपयोगी हुने चिउरीका बिरुवा अनुदानमा वितरण गर्न लागिएको हो ।

बिरुवा वितरणका लागि यही जेठ २१ गतेसम्म माग सङ्कलन गरिने कृषि विकास शाखाका प्रमुख मनहर कडरियाले जानकारी दिए । उनका अनुसार मागका आधारमा अनुदानमा उपलब्ध गराउन लागिएको हाे।“बाँझो जमिनमा औषधीय गुण रहेको सिप्लीकान लगाउन सकिन्छ”, उनले भने, “तरकारीका लागि उपयोग गर्न सकिने सिप्लीकान बाँदरले पनि क्षति नपुर्‍याउने भएकाले यो बाँझो जग्गाहरूमा उपयोगी हुन्छ।”

पोखरामा मौरीपालनतर्फ आकर्षण बढिरहेका कारण त्यसलाई सहयोग पुर्‍याउने उद्देश्यले चिउरीका बिरुवा पनि अनुदानमा उपलब्ध गराउन लागिएको प्रमुख कडरियाले जानकारी दिए। पोखरा महानगर क्षेत्रमा १५ हजारदेखि २० हजारसम्म मौरीका घारहरू रहेको उनले बताए।

  • No tags available
प्रकाशित मिति : २०८३ जेठ ११ गते सोमबार