महानन्द ढकाल
मान्छेका आ–आफ्नै रुचि हुन्छन् । क्षमता हुन्छन् । रमाउने तरिका पनि आ–आफ्नै हुन्छन् । कतिपय रुचिहरू परिवर्तशील हुन्छन् । उमेरजन्य हुन्छन् । समय अनुसार परिवर्तन भइरहन्छन् । कतिपय रुचिहरू जन्मजात हुन्छन् । जस्तोसुकै परिस्थितिमा पनि लत बनेर बसेका हुन्छन् । न छोड्न सकिन्छ, न त फाल्न नै । लत भन्ने शब्द आफैमा नकारात्मक शब्द भने होइन तापनि यसलाई खराब आदतका रुपमा सोच्ने चलन यथावतै छ । कतिपय लतलाई कसैले खराव भन्छ भने त्यो पनि स्वीकार्य नै छ । जुन लतले स्वास्थ्य र समाजलाई घाटा गर्दैन त्यस्तो लतले कहिल्यै नछोडिदिए हुन्थ्यो भन्ने लागिरहन्छ मलाई पनि । लत बसेकाहरूलाई थाहा छ, चियाको लत रक्सीले मेटाउन सक्दैन । खेलको लत लेखनले मेटाउन सक्दैन । साइकलमा हुइकिने बानी परेकाहरू घोडाचढीमा रमाउन सक्दैनन् । कतिले भन्छन् ‘उमेरले नेटो काटी सक्यो, अझ पनि कति मरिहत्ते गरेको ? ऐस आरामले खान पिउन रमाउन छोडेर किन होला दुःख बेसाएको ? किन तनाव झेलेको ?’ कहिले काहीँ हाँसो उठ्छ मलाई । देखाउनका लागि कसले तनाव झेल्छ र ? कसैले भन्दैमा आफ्नो रुचिलाई मार्न कसले पो सक्छ र ? नलेख, नपढ भनेर लेख्न र पढ्न छोड्न कहाँ सकिन्छ र ? यस्तै खालका कुराहरू मैले मेरा बारेमा धेरैले भनेको सुनेको छु । आज जसको प्रसङ्गमा लेख्दैछु उनको बरेमा पनि भनेको सुनेको छु । यो पनि ठिकै छ । जसले जे देख्छ त्यही भन्छ । जे जान्दछ त्यही गर्दछ । जसरी सोच्यो त्यसरी नै अभिव्यक्त हुने । जिन्दगी आ–आफ्नै हो । कार्यशैली आ–आफ्नै हुन्छन् । रुचि र क्षमता पनि आ–आफ्नै खालका हुन्छन् । सबैको लत उस्तै हुदैन । एकै किसिमको रुचि भएको भए यो संसार यति सुन्दर कहाँ हुन्थ्यो र ? यस्ता कुराहरू सहज रुपमा लिनु पर्छ भन्ने लाग्दछ मलाई । हरेकले आफ्नो तरिकाले सोच्न नपाउने कुुरा पनि त भएन हैन र ? मैले रुचि र लतका कुरा गरिरहेको थिएँ । आज भने मैले मेरो रुचिका कुरा गरिरहेको छैन । आफ्नै लतको विषय कोट्याउन खोजिरहेको छैन ।
मलाई धैरैले सोधिरहने, सहयात्रीका रुपमा हेरिएका, मेरै साथीको विषयमा चर्चा गर्न मन लागेको छ । त्यो साथी जुन साथीको चर्चा छुट्यो भने मेरो जीवनको एक महत्वपूर्ण हिस्सा छुटेको सम्झन्छु म पनि । साहित्यिक इतिहास नै अपाङ्ग भएको अनुभूति गर्दछु । उनको बारेमा बोल्दा आफ्नै बारेमा बोलेको महसुस गर्दछु । चालिसको दशकमा खुब रेडियो सुनिन्थ्यो । शनिबार विशेष लाग्दथ्यो । रेडियो नेपालबाट बज्ने ‘अनुरोध सङ्गीत’, ‘इन्द्रेणी’, ‘इन्द्रधनुष’ जस्ता कार्यक्रमा अनुरोध गर्नेहरूको लिष्ट बनाएर बसिन्थ्यो । को, कहाँ र के भन्ने चासो खुब हुन्थ्यो । नाम टिपिन्थ्यो पत्रमित्र बनाइन्थ्यो । ती साथी जोसँग रेडियोमा अनुरोध गर्दा होस् वा हवाइ पत्रिकामा भावनाहरू पोख्दा, गजल अभियान चलाउँदा होस् वा साहित्यिक पत्रकारिता गर्दा । साहित्यिक संस्था खोल्दा होस् वा समाजका बारेमा बोल्दा सँगै हातेमालो गरेका साथीको प्रसङ्गमा आज म केन्द्रित छु । सायद अनुमान गरिसक्नु भए होला । नजिकबाट महसुस गर्नेहरूले त नाम नै भनिसक्नु भएको हुनुपर्छ । धेरैले जे सोचिरहनु भएको छ, ठिक सोचिरहनु भएको छ । हो आज मैले हिमाललका कुरा गदै छु । हिमलाललाई ‘हिमाल’ भन्न मन पराउँछु म । हिमलाल उर्पm हिमाल । हिमाल किन भनेको भन्नु होला ? उनको स्वभाव नै हिमालको जस्तो छ । चट्टानी अडान । कुनै कुरामा लागेपछि लाग्यो लाग्यो । ‘हिमाल, को हिमाल ?’ हो हो त्यही हिमालको । अटल अमर हिमालको । हुरी, वतास, चिसो, तातो कुनै कुराको प्रर्वाह नगर्ने हिमालको । नछट्पटिने र नअल्मलिने हिमालको । हिमाल भन्ने वित्तिकै सेतो सुन्दर हिउँ सम्झनु भएको होला है ? हिमाल हुने रहर धेरैलाई हुन्छ । तपाइँलाई पनि भए होला? हिमाल हुन कम्ता गाह्रो होला ? हिमालको उचाइको प्रशंसा कसले पो गर्दैन र ? हिमाल चढ्ने रहर नपालेको आजसम्म को नै जन्मेको होला र ? मलाई त्यस्तो लाग्दैन । तपाई अलमलमा परे जस्तो लागेको छ । अलमलमा पर्न जरुरी छैन ।
म तपाईले कल्पना गरेको विषयभन्दा एक इन्च पनि पर छैन । मैले चर्चा गर्न खोजेको र तपाईले कल्पना गरेको विषय एउटै हो । तपाईको सोचाइ र मेरो बोलाइ एउटै विषयको वरिपरि घुमिरहेको छ । कुमालेको चक्र घुमे जस्तो । हो मैले हिमालकै कुरा गरिरहेको छु । आफ्नो अडान र कर्ममा कटिवद्ध रहने हिमाल । फेरि तपाईलाई रिस उठे होला ? सायद सोच्दै पनि हुनुहुन्छ ‘किन माकुराको जालो जस्तो चुरो कुरो फनफनी घुमाउनु परेको होला ? हिमाल, पहाड र तराई भन्दै आलटाल गर्न किन खोजेको होला ? भन्न खोजेको कुरा त फटाफट भन्नु नि ।’ होइन होइन पटक्कै होइन । मैले कुरा घुमाउन खोजेकै छैन । ठिक छ नि त हजुरकै कुरा मानें । हिमालको प्रसङ्गले चुरो कुरो आएन भने सागरकै कुरा गरौँला । ‘सागर’ यो त झन जटिल विषय लाग्छ मलाई । हिमालको उचाई त नापिसके मानिसले, सागरको गहिराइको त अनुमान मात्रै गरिएको छ । हिमालको उचाइ समातेर सागरको गहिराई छिचोल्न खोज्नु कम चानचुने कुरा होइन । हिमाल पनि हुन पाए, सागर पनि हुन पाए कस्तो गज्जब हुन्थ्यो होला है ? म मेरा साथीकै प्रसङ्गमा छु । उनैको कुरा गर्ने मुडमा छु । ‘साथीको कुरा बटारेर कहिले हिमालतिर कहिले सागरतिर दौडियो’ भनेर दोष लगाउनु भएको होला ? तपार्इँले गरेको दोषारोपण सोह्रै आना ठिक छ । किनकि म हिमाल तथा सागरमा नै केन्द्रित छु । हिमाल भनेपनि सागर भनेपनि कुरो एउटै हो । ‘कुरो एउटै हो । कसरी एउटै हो ? कहाँको हिमाल ? अनि कहाँको सागर ?’ हो, तपाईले ठिक भन्नु भयो । हिमाल र सागर फरक फरक नाम हुन् । फरकफरक विशेषता छन् दुबैका । दुरीको हिसाबले पनि सबैभन्दा टाढा । विशेषता पनि कता हो कता ? एउटा तरल, अर्को ठोस । एउटाको आफ्नै आकार छ, अर्को आकार विहिन । एउटा सधैँ उस्तै, अर्को समय समयमा परिवर्तन भइरहने । सोझो अर्थमा दुबैलाई कसरी एउटै देख्न सकिन्छ ? एउटै नदेखिनु हजुरको समस्या हुदै होइन ।
तर मैले समातेको विषय सागर भए पनि, हिमाल भए पनि एउटै हो । दुबै नामले एउटै कर्म गरिरहेका छन् । अझ सोभैm भनौं हिमलाल जसलाई ‘हिमाल’ भन्न मन पराउँछु म, उनी र सागर एउटै व्यक्ति हुन् । अब भने पक्कै प्रष्ट हुनु भयो । मैले तिनै साथीको कुरा गरेको हुँ उनी हिमाल पनि हुन् सागर पनि हुन् । हिमलाल गैरे उर्पm सागर गैरे । हिमलाल गैरे किन सागर गैरे बने ? मेरो मनमा प्रश्न उब्जिएको थियो । सायद तपाईको मनमा पनि जिज्ञासा उब्जिएको हुनुपर्छ ? कति रहरले काम गर्छ, कति लहडले । मैले सुरूमा नै प्रसङ्ग कोट्याएको थिएँ रुचिको । नाम फेर्ने रुचिले हिमलाललाई सागर बनायो । कुनै बेला थियो उमेर सच्चाउने । नाम परिवर्तन गर्ने । कक्षा नौमा पढ्दै गर्दा कक्षा आठमा पढ्दाका आधासरो साथीहरूका नाम अर्कै हुन्थे । यो रहर ममा पनि थियो । कक्षा नौमा पढ्दा नाम परिवर्तन नगरे पनि कहिले एम.डि.‘निर्दोष’, त कहिले ‘एम.एन.सर’का नामले परिचय गरियो साथीहरूसँग । यो नाम क्याम्पस पढ्दा समेत प्रयोगमा आयो । एउटै पत्रिकामा असली नाम, लहड र रहरमा लेखिएका फरकफरक नामहरूबाट रचनाहरू समेत छापियो । वि.स.२०५९ मा एम.डि. निर्दोषका नामबाट विमोचन पत्रिकामा जिज्ञासा र रङ्गमञ्चमा एउटा लेख छापियो । साथीहरूले फोटो देखेर मात्रै विश्वास गरे । साथीहरूको सुझाव शिरोधार्य गरी एम.डि. ‘निर्दोष’ र ‘एम.एन.सर’लाई सधैँका लागि विदा दिएको थिएँ मैले । सागरको कुरा गर्न बसेको म मेरै कुरामा अल्मलिएछु । आफ्ना कुरा गर्न थालेपछि संसार बिर्सिने मानिसहरू खोज्न धेरै टाढा जानु पर्दैन । यसलाई मानवीय गुण भन्ने गरेको छु मैले । म पनि आखिर मान्छे न हूँ ।
अँ, साथीको कुरा गर्दै थिएँ । हिमलाल गैरेले सागर गैरेलाई ब्राण्ड बनाएर हिडिरहेका छन् । हिडिरहेका छन् पनि के भन्नु ? दौडिरहेको देख्छु म । उनी दौडन मन पराउने मान्छे हुन् । मिर्मिरे बिहानदेखि गोधुली साँझसम्म दौडिरहन्छन् । कहिले शरीर दौडाउँछन्, कहिले मन । बिहानी दौडाई साइकलबाट सुरु हुन्छ उनको । चियाका सौखिन उनी साइकल मच्चाउँदै चिया पिउन ग्रामिण बस्तीहरूमा पुग्छन् । व्यवसाय सँगसँगै लेखाइ र पढाइलाई पनि दौडाइरहन्छन् निरन्तर निरन्तर । साँझ फेरि साइकल दौडाउँदै चिया पसलमा पुग्छन् उनी । कहिले काँही थपीथपी चिया पिउँछन् । साहित्यिक गतिविधमा गफ्फिन्छन् अबेरसम्म । आलटाल गर्ने मान्छे मन पर्दैन उनलाई । समयको बेगलाई पच्छाउन खोज्ने उनलाई किनारामा बसेर हेर्नेहरूले अनाौठो मान्छन् र फरक देख्छन् । आम मानिसभन्दा लेखक तथा दार्शनिक फरक हुन्छन् त्यसै भनिएको त कहाँ हो र ? उनी लेखक त हुन् नै, दार्शनिक जस्तो लाग्छ मलाई । त्यसैले पनि फरक देखिएका होलान् धेरैको नजरमा । दैनिक पचास कि.मि जति साइकल मच्चाउँदै नेपालगञ्ज पढ्न पुग्थे उनी । साइकलका त सौखिन नै हुन उनी । ‘दिनभर साइकल चलाउन पाए, साइकल चलाउँदै बस्तीहरू छिचोल्न पाए कति आनन्द हुन्थ्यो ?’ बेलाबखत भनेको सुनेको छु मैले । उनी पहिलोपटक नेपालगञ्जमा भेटिएका थिए । यो पचासको उत्तरार्धतिरको कुरा थियो । रेडियोमा सुनिरहेको र पत्रिकामा पढिरहेको नाम भएकोले पहिलो पटक भेट्दा पनि नयाँ लागेनन् उनी । पूर्णिमा पत्रिकाको लागि अन्तर्वाता लिन बासस्थान खोज्दै पुगेका रहेछन् मकहाँ । निकै सरल लागेको थियो मलाई पहिलो भेटमा नै ।
लेखाइ त झन अचम्मै मिठो लाग्थ्यो । राम्रा गजल लेख्थे तर अब यो इतिहास जस्तै भएको छ उनैका लागि पनि । लेखहरू लेख्न थालेपछि गजल हराउँदै गए उनका । इतिहास विषयमा स्नातकोत्तरमा ‘क्याम्पस टप’ भएपछि अन्तराष्ट्रिय विषयमा ऐतिहासिक विषयवस्तु समातेर थुप्रै लेखहरू लेखे उनले । छोटो समयमा नै स्तम्भकारका रुपमा परिचय बनाउन सफल भए उनी । कोहलपुरमा बसेर साहित्यिक कर्म गरिरहेका थिए सागर । साठीको दसकदेखि छिमेकी बन्ने मौका मिल्यो मलाई । रुचि मिल्यो । दुबै अक्षरको खेती गर्न मन पराउथ्यांै । अझ भनौं दुबैको लत मिल्यो । मिलेसम्म दशांै पटक चिया पिउँदै गफ्फिने स्वभाव मिल्यो । उनले प्रकाशन गर्दै आएको पूर्णिमा पत्रिकाका दजनौं अङ्क सहकार्यमा प्रकाशित गरियो । साहित्यिक संस्था ‘हाम्रो पूर्णिमा’ स्थापना र दर्जनांै कार्यक्रमहरू सहकार्यमा नै सम्पन्न गरियो । पछिपछि एकसँग अर्काको बारेमा सोध्नेहरूको सङख्या बढ्न थाल्यो । सायद हाम्रो सहयात्राले यहाँसम्म पु¥याएको हुनुपर्छ । सागर अलि फरक स्वभावका छन्् । सानो कुराले छुन्छ उनलाई । साहित्यमा पनि उनको विचार फरक लाग्छ । यही फरकपन नै खासमा उनको चिनारी हो । यही परिचय मनपर्छ मलाई । उनीसँग सयौं लेखहरू सङ्कलित थिए र छन् पनि तर लामो समयसम्म कुनै कृति प्रकाशित गरेनन् उनले । साहित्य लेखनमा समर्पित भएको तीन दशक पुगीसक्दा पनि कुनै कृति निकाल्ने जागर देखाएनन् उनले । प्रायः लेखकहरू कृति प्रकाशनमा हतारिन्छन् । सागर, सागर जस्तै शान्त बनिरहें । कृति प्रकाशनको प्रसङ्ग कोट्याउँदा हाँसेर टारिदिन्थे उनी । कोभिड–१९ को कारण देशमा लकडाउन भयो । व्यवसायहरूमा शिथिलता आयो । सागरको रफ्तार लेखनमा केन्द्रित भयो । लकडाउनपछि सागरको साहित्यिक जीवनमा ‘टर्निङ प्वाइन्ट’का रुपमा देखा प¥यो । यही समयमा उनको ‘लकडाउन’ नामक निबन्धहरूको सङ््ग्रह प्रकाशित भयो । उनी कृतिकार भए । यो कृतिले राम्रै चर्चा पायो र उनलाई उत्साहित बनायो ।
लकडाउन प्रकाशन गर्न सागरलाई हिमाल चढ्न जत्तिकै कठिन भयो । जव उनले पहिलो पटक कृति प्रकाशनको सफल आरोहण गरे त्यसपछि उनलाई पटकपटक कृति प्रकाशनको यात्रा गर्ने रहरले कुत्कुताइरह्यो । उनी कृति प्रकाशनको यात्रामा दौडिरहेका छन् । दौडिरहेका छन् पनि के भन्नु ? अब त उडिरहेका छन् भन्दा पनि फरक नपर्ला । कृतिहरू फटाफट प्रकाशित हुन थालेका छन् । देश विदेश उडेका नियात्राहरू पनि एकपछि अर्को गर्दै प्रकाशित हुन थालेकोले पनि उनी साहित्यमा हिडिरहेका मात्रै होइन उडिरहेका छन् भन्न पो मन लाग्छ । सागरको ‘बलइगाउँदेखि बाकुसम्म’ नामक नियात्रा कृति सहित्यिक क्षेत्रमा धेरैले रुचाए । यो कृति लकडाउन प्रकाशन भएको अर्को वर्ष नै प्रकाशित भएको थियो । तेस्रो कृृतिका रुपमा उनले ‘मोहोर’ उपन्यास प्रकाशित गरे । पहाड र तराईको परिवेश समातेर लेखिएको यो उपन्यासले ‘सामान्य मानिसहरूका पनि रोचक कथाहरू हुन्छन्, अलिखित ऐतिहासिक घटनाहरू हुन्छन्’ भन्ने कुरा प्रमाणित गरिदियो । दाम र नाम दुबै दिन सफल भएका सागर गैरेका लकडाउन, बलइगाउँदेखि बाकुसम्म र मोहोरपछि भर्खरै मात्रै ‘एउटा अल्बाट्रस प्रशान्त महासागरदेखि काला सागरसम्म’ नामक नियात्रा बजारमा आइपुगेको छ । विमोचन हुनुपूर्व नै यो कृतिको बजारहल्ला राम्रै चलेको छ । ‘अल्बाट्रस’ बजारमा आइसकेपछि उनीसँग भेट भयो । एक प्रसङ्गमा उनले पाण्डुलिपी देखाउँदै भने ‘अब म कोहलपुरको इतिहास बोकेको कृति प्रकाशित गर्छु ।’ मैले सोचें सागरमा लेखनको लत त बसेको थियो नै अब त कृति प्रकाशन गर्ने लत पनि बसिसकेछ । उनको कोहलपुरको साहित्यिक इतिहासपछि भूँइ मान्छेहरूका कथा समेटेर तयार पारिएको कथा सङ्ग्रह पाइपलाइनमा बसेको रहेछ । यो पनि खुसीकै कुरा हो । ‘मूल फुट्न मात्रै हो समय लाग्ने, जब मूल फुट्छ त्यसपछि पानी रोकिदैन’ भने जस्तै भएको छ सागर गैरेको साहित्यिक कृति प्रकाशनको श्रृङ्खला । यो श्रृङ्खला दौडिहोस् यसरी नै । उनीभित्र सिङ्गो सागर नै छ अक्षर, शब्द विषय र लेखनको । उनले लेख्नेहरूलाई हौसला दिन्छन् । बोलेरै हिम्मत जुटाइदिन्छन् । साहित्यमा रुचि जगाउन सक्ने क्षमता छ उनमा । आफ्नो गाउँ समाजलाई परिचित गराउन उनले गरेको यो प्रयासलाई भविष्यले मूल्याङ्कन गर्ने नै छ ।
उनी लेख्न बसेपछि घण्टौँ लेख्न सक्छन् । विषयवस्तुलाई निचोरेर लेख्न सक्ने क्षमता छ उनको । प्रायः ‘ट्याब’लाई काउन्टरको छेवैमा राख्छन् । पसलमा ग्राहक नहुने बित्तिकै उनका औंला त्यही ट्याबको स्क्रिनमा घुम्न थाल्छन् । उनलाई लेख्न कुनै खास विषयवस्तु चाहिदैन । सामान्य विषयवस्तुलाई उनले लेखेर खास बनाइदिन्छन् । उनले लेखेका सामाजिक सञ्जालका स्ट्याटस् हुन् या लेख, सबैमा सबैले जानेका विषयवस्तुलाई जलप लगाएर टल्काउँदै नयाँ बनाइदिन्छन् । उनका लेखहरू यति सरल हुन्छन् कि आम मानिस सबैले आफ्नो विषयवस्तु सम्झेर पढ्छन् र महसुस गर्छन् । साइकलमा सामान बेच्न हिडेका तरकारीवाला, कवाडीवाला, फलपूmलवाला वा ठेलावाला । जो भएपनि मौका मिल्ना साथ कुरा गर्न छुटाउँदैनन् । कुराले मन छोए फोटो खिच्छन् । सामाजिक सञ्जालमा हाल्छन् । कहिले लेख बनाउँछन् कहिले कथामा समेट्छन् मनको भाव जोडेर । उनले लेख्ने मात्र होइन घण्टौं एउटै आसनमा बसेर अध्ययन गर्न सक्छन् । चर्चामा रहेका पुस्तकहरू काउन्टरको वरिपरि भेटिन्छन् उनको । पढेका कुरा हतपत बिर्सदैनन् उनी । कसैसँग कुरा गर्न र प्रसङ्गअनुसार बोल्न परे पुस्तकको नाम र लेखकसहित बोल्छन् उनी । इतिहास, राजनीति, दर्शन र अन्तरराष्ट्रिय समाचार सबैमा उत्तिकै चासो छ उनको । नेपाली, अंग्रेजी, हिन्दी, थारू लगायतका धेरै भाषा जानेका उनी सबैसँग समान व्यवहार गर्दछन् । कामलाई महत्व दिने सागरले कहिलेकाहीँ अनौठो स्वभाव देखाउँछन् । फरक लाग्छन् कतिलाई । हो उनी अरूभन्दा फरक छन् । यो प्रसङ्ग माथि पनि उठाइसकेको छु । कहिलेकाहीँ चिया पिउँदा पिउँदै कुनै काम परे साथी पनि बिर्सन्छन् । जुरुक्क उठेर फटाफट हिडिहाल्छन् । आफ्नो काम सक्किएपछि फेरि फोन गरेर सम्झिन्छन् साथीहरूलाई । यो उनको व्यक्तिगत स्वभाव हो । ‘साथी सबैभन्दा माथि’ भन्ने विचारलाई प्रथामिकता दिने सागरको लेखिरहने, पढिरहने र डुलिरहने लतले निरन्तरता पाउने नै छ । हिमलालबाट सागर बनेका गैरेजीको साहित्यिक यात्राले पटकपटक हिमाल आरोहण गरोस् शुभकामना ।









प्रतिक्रिया दिनुहोस्