बाँसगढी ।
बर्दियाको बाँसगढी नगरपालिका–५ मा अवस्थित प्राकृतिक ताल र तालबाराही मन्दिरको सौन्दर्य हराउँदै गएको छ । बाँसगढी नगरपालिका–५ स्थित बाँसगढी गाउँको बीचमा पर्ने प्राकृतिक एवं प्राचीन ताल सरसफाइ अभावमा फोहर र दुर्गन्धित बन्दा सौन्दर्य हराउँदै गएको हो ।
करिब १० कट्ठा क्षेत्रफलमा फैलिएको तालको मर्मतसम्भार र सरसफाइ हुन नसक्दा सौन्दर्य घट्दै गएको बाँसगढी–५ का वडाध्यक्ष डहवा थारूले जानकारी दिए । तालमाथि काठ र माटोको खपेडाबाट निर्मित तालबाराही मन्दिरलाई २०४१ सालमा पक्की मन्दिरका रूपमा पुनर्निर्माण गरिएको जानकारी दिँदै आगामी आवमा तालको मर्मतसम्भार गर्न बजेट छुट्याइने उनले दाबी गरे ।
स्थानीय ७० वर्षीय बुझाउन थारूका अनुसार कहिल्यै पानी नसुक्ने यो ताल करिब डेढ-दुई सय वर्षभन्दा पूरानो हो । ‘पहिला तालको पानी नियमित सफा गरिने भएकाले सँगालो हुन्थ्यो । तर अहिले ताल फोहरमैलाले भरिएको देखिन्छ’, उनले भने । संरक्षणका लागि बालउद्यान र ताल भएको क्षेत्रमा पक्की तारबार गरिएको जानकारी गराउँदै स्थानीय युवा अर्जुन थारूले भने, ‘प्राकृतिक संरचनाको संरक्षण र सम्बद्र्धनमा स्थानीय सरकारले ध्यान दिनुपर्छ ।’
प्रतिक्रिया दिनुहोस्