नन्दराम जैशी । सुर्खेत ।
बलात्कारपछि हत्या गरिएको आरोपमा मृत भेटिएकी १६ वर्षीया इनिसा विकको शव बुझेर परिवारले अन्त्येष्टि गरेका छन् । परिवारले घटनाको २७ दिनपछि शव बुझेका हुन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार प्रदेश अस्पतालको शवगृहमा राखिएको शव बिहीबार परिवारले जिम्मा लिएका थिए । शव बुझेलगत्तै संस्कारअनुसार भेरी नदी किनारमा अन्त्येष्टि गरिएको परिवारले जनाएका छन् ।
फागुन २३ गते बिहान ट्युसन पढ्न जाने भन्दै घरबाट निस्किएकी इनिसा वीरेन्द्रनगर नगरपालिका–४ अन्तर्गत जनजागरण सामुदायिक वन क्षेत्रमा अचेत अवस्थामा फेला परेकी थिइन् । उनलाई तत्काल प्रदेश अस्पताल पु¥याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । घटनालगत्तै प्रहरीले उनका प्रेमी भनिएका एक नाबालकलाई नियन्त्रणमा लिएको थियो ।
इनिसाकी आमाले सामूहिक बलात्कारपछि हत्या भएको आरोप लगाउँदै भोलिपल्ट थप तीन जनाविरुद्ध उजुरी दिएकी थिइन् । त्यसपछि प्रहरीले ती तीन नाबालकलाई पनि पक्राउ गरेको थियो । तर परिवारले न्यायको माग गर्दै लामो समयसम्म शव नबुझ्ने अडान कायम राख्यो ।
मंगलबार सुर्खेत जिल्ला अदालतले चारै जना नाबालकलाई पुर्पक्षका लागि बालसुधार गृहमा पठाउने आदेश दिएपछि मात्र परिवार शव बुझ्न तयार भएको हो ।
अदालतका अनुसार घटनासम्बन्धी अन्तिम फैसला भने अझै हुन बाँकी छ भने साक्षी तथा प्रमाणहरूको विस्तृत अध्ययनपछि मात्र निष्कर्ष निकालिने छ । हाल सबै आरोपित नाबालकलाई बालसुधार गृहमा राखेर थप अनुसन्धान र न्यायिक प्रक्रिया अगाडि बढाइएको छ । पोस्टमार्टम रिपोर्टमा जबरजस्ती करणीका क्रममा गम्भीर चोट लागेर अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको उल्लेख गरिएको छ ।
भेरी अस्पताल बाँकेका फरेन्सिक विशेषज्ञ डा. अर्विन शाक्यको टोलीले प्रदेश अस्पताल सुर्खेतमा पुगेर गरेको पोस्टमार्टम रिपोर्टमा जबरजस्ती करणी गर्दा मृतकको संवेदनशील अङ्ग च्यातिएको र अत्यधिक रक्तस्राव हुँदा मृत्यु भएको बताएको थियो । तर प्रहरीको प्रारम्भिक अनुसन्धान प्रतिवेदनमा एकल करणी भएको निष्कर्ष प्रस्तुत गरिएको थियो ।
चैत ११ गते प्रहरीले आफ्नो अनुसन्धान प्रतिवेदनमा इनिसामाथि सामूहिक नभई एकल करणी भएको निष्कर्षसहित पठाएको थियो । यसैबीच सरकारी वकिल कार्यालयले भने योजनाबद्ध सामूहिक बलात्कार भएको दाबी गर्दै चारै जनाविरुद्ध मुद्दा दायर गरेको छ । इनिसाका प्रेमी भनिएका १६ वर्षीय नाबालकले सहमतिमै यौन सम्बन्ध राखेको र उनी एक्कासि बेहोस भएको बयान दिएका थिए ।
अन्तिम फैसला भने बाँकी
मंगलबार सुर्खेत जिल्ला अदालत, बाल इजलासका न्यायाधीश दीपक ढकालले आरोपित चारै जना किशोरलाई पुर्पक्षका लागि बालसुधार गृहमा पठाउन आदेश दिएका हुन् । अदालतमा वादी (नेपाल सरकार÷पीडित)का तर्फबाट जिल्ला न्यायाधिवक्ता कर्णबहादुर महत, सहायक जिल्ला न्यायाधिवक्ता आरती चपाई, पुष्पा चालिसे, अधिवक्ताहरू गोविन्दराम परियार, राजेन्द्र भारती, मङ्गलसेन सार्की, भूमिप्रसाद सापकोटा, ईश्वरभक्त सुनार लगायतले बहस गरेका थिए ।
आरोपित किशोरहरूको तर्फबाट अधिवक्ताहरू शंकर पौडेल, अनिलबहादुर शाही, उत्तमप्रसाद आचार्य, विवशकुमार बस्नेत, खगेन्द्रबहादुर खनाल, नारायणनाथ योगीले बहस गरेका थिए । अदालतका सूचना अधिकारी उज्ज्वल रावलका अनुसार हाललाई पुर्पक्षका लागि सुधार गृह पठाइए पनि मुद्दाको अन्तिम फैसला भने बाँकी नै छ । सबै साक्षीको बयान र प्रमाणहरूको अध्ययन गरिसकेपछि मात्र यस मुद्दामा अन्तिम ठहर हुने उनले बताए ।
अदालतले यो घटनालाई सामूहिक बलात्कार र अति नै यौनहिंस्रक बनेर इनिसामाथि करणी गरेको प्रारम्भिक ठहर गरेको छ । तर प्रहरीको अनुसन्धान प्रतिवेदन, सरकारी वकिलको अभियोग पत्र तथा सीसीटीभी फुटेजअनुसार घटनामा इनिसाका प्रेमी भनिएका ‘वीरेन्द्रनगर प’बाहेक अन्यको भूमिकाबारे बलियो प्रमाण देखिन्न । तर पनि अन्य तीन आरोपितलाई अदालतले तत्काल निर्दोष भन्न सकिने अवस्था छैन ।
तीन जना किशोरका आफन्तले सरकारी वकिल कार्यालयको अभियोग पत्रविरुद्ध आन्दोलन समेत गरेका थिए । उनीहरूले ‘निर्दोषलाई होइन, दोषीलाई सजाय देऊ, न्याय बेचिने होइन, देखिने बनाऊ’ भन्दै प्रदर्शन गरेका थिए । हरेक अनुसन्धानमा सामूहिक बलात्कार नभएको रिपोर्ट आउँदा सरकारी वकिल कार्यालयले सामूहिक बलात्कार भन्दै मुद्दा अभियोजन गरी निर्दाेषलाई फसाउन खोजिएको आरोप उनीहरूको छ । उनीहरूले न्यायालयलाई प्रभावित पार्ने र निर्दोष बालकहरूलाई फसाउने काम भएको दाबी गरिरहेका छन् ।
गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भएकी १६ वर्षकी इनिसा वीरेन्द्रनगर नगरपालिका–१ मा परिवारका साथ बस्दै आएकी थिइन् । इनिसाकी आमाले सुरुमा घटना घटेको दिन बिहान ६ बजेतिर सबै बालकहरू आफ्नो घरमा आएर स्कुलमा प्रयोगात्मक परीक्षा छ भन्दै लिएर गएको बयान दिएकी थिइन् । तर पछि उक्त कुरा सच्याएकी थिइन् । पछि उनले स्कुल जान्छु भनेर घरबाट एक्लै छोरी गएकी भनेकी थिइन् ।
यद्यपि सरकारी वकिल कार्यालयले अदालतमा अभियोग पत्र पेस गर्दा इनिसाकी आमाको सच्याएको भनाइभन्दा अघिल्लो भनाइलाई पनि प्राथमिकता दिएको देखिन्छ । यसले आरोपित गरिएकाहरूलाई प्रश्न उठाउने ठाउँ दिएको देखिन्छ । साथै, घटनास्थलमा वनपाले र अन्य साक्षीहरूले उनीहरूको उपस्थितिबारे कागज गरिदिएको र घटनाको प्रकृति पनि गम्भीर भएको अदालतले भनेको छ ।
शव परीक्षण रिपोर्टको व्याख्यालाई अदालतले अर्को आधार बनाएको छ । शव परीक्षण रिपोर्टमा योनीको भित्री तहसम्म ३ सेमी लामो र १ सेमी गहिरो चोट लागेको, पाठेघरको मुखभन्दा केही तलसम्म भित्री पर्खाल च्यातिएको र अत्यधिक रक्तस्राव भएको उल्लेख छ । अदालतमा ‘प’ले ‘मृतक मेरो प्रेमिका हुन्, दुई पटक सहमतिमा यौन सम्पर्क हुँदा एक्कासि रक्तस्राव भएर बेहोस भई मृत्यु भएको हो, हत्या गरेको होइन’ भनी दिएको बयानलाई अदालतले पत्याएको देखिन्न । अदालतले यसलाई ‘अति नै यौनहिंस्रक बनी बलात्कार गरिएको’ तथ्यका रूपमा लिएको छ । र, यसलाई ‘सहमतिमा भएको यौन सम्बन्ध हो’ भन्ने जिकिरसँग मेल नखाने भनेको छ ।
अन्य बालकलाई ‘प’सँगै पुर्पक्षमा पठाउन अदालतले लिएको अर्को आधार घटनास्थलमा एकभन्दा धेरै कण्डम भेटिनु हो । घटनास्थलबाट प्रहरीले एउटा रगत लतपतिएको कण्डम, एउटा खोलेको र बाँकी ३ वटा नखोलेका कण्डम बरामद गरेको थियो । साथै, घटनास्थलमा संघर्ष भएको जस्तो देखिने जमिन मडारिएको र मृतकका छरिएका कपडाहरू फेला परेका थिए ।









प्रतिक्रिया दिनुहोस्