प्रधानमन्त्रीले थाले सांसदसँग संवाद



कोहलपुर (बाँके) ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले प्रतिनिधिसभाका सांसदहरूसँग संवाद थालेका छन् । सांसदहरूसँग क्षेत्रगत रूपमा निर्वाचन क्षेत्रका समस्या, समाधानका उपाय र सरकारले गर्नुपर्ने कामका विषयमा राय र सुझाव संकलनका लागि संवाद थालेका हुन् । सोमबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहले कोशी र कर्णाली प्रदेशका सांसदहरूसँग संवाद गरे ।

दुवै प्रदेशका सांसदहरूसँगको छलफलमा सुरुमै प्रधानमन्त्री शाहले जिल्लागत रूपमा तत्काल समाधान गर्न सकिने र अन्य विषयका समस्या राख्न आग्रह गरेका थिए । संवादमार्फत सांसदहरूमार्फत ती क्षेत्रका महत्वपूर्ण सवालबारे राय संकलन गरिएको छ । सांसदहरूसँग छलफल गर्नुअघि प्रधानमन्त्री शाहले आइतबार र सोमबार मन्त्रीहरूसँग समेत छलफल गरेका थिए ।

प्रधानमन्त्रीसँगको छलफलमा कर्णाली र कोशी प्रदेशका सांसदहरूले सम्बन्धित जिल्ला र प्रदेशका तत्कालीन समाधान हुन सक्ने समस्या, सरकारको नीति तथा कार्यक्रम र बजेटमा समेट्नुपर्ने विषय र समसामयिक विषयमा प्रधानमन्त्रीसँग मौखिक र लिखित रूपमा आफ्ना समस्या राखेका छन् । उक्त छलफल सबैभन्दा पहिला कोशी प्रदेशका सांसदहरूसँग गरिएको थियो ।

छलफलमा सहभागी कोशी प्रदेशका सांसदहरूले आ–आफ्नो जिल्लाका समस्याबारे आफ्ना भनाइ राखे । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश कार्कीका अनुसार सांसदहरूले आ–आफ्नो निर्वाचन क्षेत्रका तत्कालीन समस्याहरू प्रधानमन्त्रीलाई सुनाएको बताए । नेपाली काँग्रेसका सांसद नरेन्द्र केरुङले कोशी प्रदेशका विकासमा केन्द्रित रहेर कुराकानी भएको बताएका छन् ।

मोरङ २ का प्रतिनिधिसभा सदस्य यज्ञमणि न्यौपानेका अनुसार प्रदेशका सामूहिक समस्या, प्रत्येक निर्वाचन क्षेत्रका समस्याको सन्दर्भमा प्रधानमन्त्रीलाई जानकारी गराइएको छ । उनले भने, ‘प्रधानमन्त्री ज्यूले कोशी प्रदेशमा तत्काल समाधान गर्नुपर्ने समस्या र समाधानका उपाय के हुन सक्छन् भनेर सोध्नुभयो । त्यसमै केन्द्रित भएर सबै सहभागीहरूले आफ्ना धारणा राख्नुभयो ।’

प्रधानमन्त्री शाहसँगको भेटमा धनकुटाका एमाले सांसद राजेन्द्र राईले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सरकारले प्रतिशोधपूर्ण रूपमा पक्राउ गरिएको भन्दै तत्काल रिहा गर्न माग गरेका थिए । ओली रिहाको विषयमा केही पनि नबोलेका प्रधानमन्त्री शाहले सांसदहरूको जिज्ञासाहरूको जवाफ दिँदै बजेटको आधारमा विकास आयोजनालाई प्राथमिकतामा राख्ने र सबै क्षेत्रमा समान रूपमा बजेट वितरण गर्ने प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्रीले आह्वान गरेको छलफल श्रम संस्कृति पार्टीले भने बहिष्कार गरेको छ ।

प्रधानमन्त्री शाहसँगको भेटपछि जुम्लाबाट निर्वाचित सांसद तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले भेट अत्यन्त सकारात्मक, फलदायी र ऊर्जावान रहेको प्रतिक्रिया दिएका छन् । उक्त भेटवार्तामा कर्णाली प्रदेशसहित सम्पूर्ण नेपालको समग्र तथा दिगो विकासका लागि विभिन्न महत्वपूर्ण विषयहरू प्रस्तुत गरिएको उनले बताए ।

प्रधानमन्त्रीसँगको भेटमा विकासका आधारभूत संरचना सुदृढीकरण, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार, रोजगारी सिर्जना, पर्यटन प्रवद्र्धन तथा स्थानीय स्रोत–साधनको अधिकतम उपयोगजस्ता बुँदाहरूमा विशेष जोड दिइएको थियो । साथै, कर्णालीको समावेशी विकासमार्फत राष्ट्रिय समृद्धिमा टेवा पु¥याउने स्पष्ट दृष्टिकोण पनि राखिएको उनले बताए ।

यस्तै सल्यानका नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद रमेश मल्लले आगामी बजेटमा कर्णालीलाई प्राथमिकता दिन, कर्णालीको शासकीय सुधार, भौतिक पूर्वाधार निर्माणका विषयमा सुझाव दिइएको बताएका छन् । यस्तै जाजरकोट भूकम्पपछिको राहत तथा पुनर्निर्माण, मनसुनपूर्व तयारी, कर्णाली, भेरी, राप्तीलगायत विभिन्न सडक करिडोर तथा मध्यपहाडी राजमार्गका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गरिएको उनको भनाइ छ ।

प्रतिनिधिसभा सदस्य मल्लले उक्त भेटमा मदन भण्डारी, लुम्बिनी–रारा लगायतका लोकमार्ग तथा सडक पूर्वाधार, स्वास्थ्य बीमा, मातृशिशु पोषण, दैलेख पेट्रोलियम अनुसन्धान, वन्यजन्तुबाट हुने जोखिम व्यवस्थापन, साथै सञ्चार, विद्युत्, खानेपानी, सिँचाइ, कृषि, शिक्षा, वन, पर्यटन आदि क्षेत्रमा आवश्यक प्राथमिकताबारे छलफल गरिएको बताए । मंगलबार प्रधानमन्त्री शाहले अन्य प्रदेशका सांसदहरूसँग संवाद गर्ने प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत १७ गते मंगलबार