बाँकेमा एसइईको तयारी पूरा



नेपालगन्ज (बाँके) ।

आगामी चैत १९ गतेबाट देशैभर माध्यमिक शिक्षा परीक्षा (एसइई) हुँदैछ । बाँकेमा एसइईको सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । सोमबार नेपालगन्जमा आयोजना गरिएको एक कार्यक्रममा एसइईको सम्पूर्ण तयारी पूरा भएको बताइएको हो । सोमबार सञ्चार संवाद क्लबद्वारा नेपालगन्जमा आयोजना गरिएको एक कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई बाँकेका प्रमुख धनसुदन चौलागाईँले बाँके जिल्लामा एसइईको समपूर्ण तयारी पूरा भएको जानकारी दिए ।

उनले यस वर्ष बाँकेबाट नौ हजार ६३८ जना विद्यार्थीहरू एसइईमा सहभागी हुने जानकारी दिए । उनका अनुसार सात हजार ९८१ जना नियमित र एक हजार ७०२ जना ग्रेड वृद्धितर्फका विद्यार्थी उक्त परीक्षामा सहभागी हुनेछन् । जसमध्ये २७० जना प्राविधिक धारका र सात हजार ७११ जना साधारणतर्फका विद्यार्थी रहेका छन् ।

चौलागाईँले जिल्लामा परीक्षा सञ्चालनका लागि ३६ वटा केन्द्र तोकिएको जानकारी दिए । उनका अनुसार २८ वटा सामुदायिक विद्यालय र ८ वटा संस्थागत विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ । नेपालगन्ज नगरपालिकाभित्र ११, कोहलपुर नगरपालिकाभित्र १० वटा, खजुरा गाउँपालिका, बैजनाथ गाउँपालिका र राप्ती सोनारी गाउँपालिकाभित्र ४÷४ वटा र नरैनापुर गाउँपालिका, डुडुवा गाउँपालिका र जानकी गाउँपालिकाभित्र १÷१ वटा परीक्षा केन्द्र तोकिएका उनले जानकारी दिए ।

उत्तर पुस्तिकाहरू सम्पूर्ण परीक्षा केन्द्रहरूमा पु¥याइसकिएको भन्दै उनले अबको कही दिनभित्रै जिल्ला परीक्षा समन्वय समितिको बैठक बस्ने र सो बैठकबाट परीक्षा केन्द्रका केन्द्राध्यक्ष पनि नियुक्त गरिने बताए । उनले परीक्षा केन्द्र निर्धारण गर्दा भौगोलिक सहजता, पूर्वाधार र सुरक्षा अवस्थालाई प्राथमिकता दिइएको बताउँदै परीक्षा शान्त, निष्पक्ष र मर्यादित बनाउनका लागि सुरक्षा निकायसँगको समन्वय र सहकार्यमा कडा निगरानी गरिने व्यवस्था मिलाइएको बताए ।

उनले विद्यार्थीका अभिभावकहरूलाई समेत अनावश्यक दबाब नदिन र सकारात्मक वातावरण सिर्जना गराइदिन आग्रह गरे । त्यसैगरी विद्यार्थीहरूलाई डर र त्रासमा नभएर आत्मविश्वासका साथमा परीक्षामा भाग लिन आग्रह गरे ।

विगतमा जस्ता अनुगमनका नाममा जोकोहीलाई पनि परीक्षा स्थलमा प्रवेशमा कडाइका साथ रोक लगाइएको भन्दै जो पायो त्यही व्यक्ति परीक्षा केन्द्रमा छिर्दा परीक्षा मर्यादित नहुने तथा विद्यार्थीहरूको पनि ध्यान भंग हुने हुँदा त्यसता क्रियाकलाप रोक्नका लागि सबै पक्षको समन्वयकारी भूमिका हुनुपर्ने उनले बताए ।

सञ्चार संवाद क्लबका अध्यक्ष डा.डक्टप्रसाद धितालले क्लबले विभिन्न समसामयिक कार्यक्रमहरू गर्दै आएको र एसइई नजिकिँदै गरेको अवस्थामा पत्रकारहरूसँग शिक्षा विकास तथा समन्वय इकाई बाँकेका प्रमुख धनसुदन चौलागाईँमार्फत साक्षात्कार गराई एसइईको तयारीका बारेमा जानकारी लिइएको उल्लेख गरे ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ चैत १० गते मंगलबार