धनगढी ।
सुदूरपश्चिम प्रदेशसभा सचिवालयले बिहीबार प्रदेशसभा पदाधिकारी तथा सांसदहरूको फागुन महिनाको पारिश्रमिक र सेवासुविधा व्यक्तिगत खातामा पठाएको छ । ‘प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०७५’ अनुसार मुख्यमन्त्री, मन्त्री र राज्यमन्त्रीबाहेक सभामुख, उपसभामुख र अन्य सांसदहरूको पारिश्रमिक सचिवालयले खातामा हालिएको हो ।
निलम्बनमा रहेका दीर्घ सोडारी र राजीनामा दिएका डाक्टर तारा जोशीको भने सेवासुविधा निकासा गरिएको छैन । यसपटक ३९ जना सांसदको सेवासुविधा पठाउँदा कैलाली निर्वाचन क्षेत्र नम्बर ५ (२)बाट नेपाली काँग्रेसका प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री प्रकाश देउवाको पारिश्रमिक र सेवासुविधा रोक्का गरिएको छ ।
सचिवालयका अनुसार देउवा लामो समयदेखि प्रदेशसभा बैठकमा उपस्थित भएका छैनन् र आफ्नो अनुपस्थितिबारे कुनै जानकारी पनि दिएका छैनन् । स्रोतका अनुसार जेनजी आन्दोलनपछि उनी अमेरिका गएको बताइए पनि हालसम्म फर्किएका छैनन् । राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न समेत नआएका देउवा त्यसयता प्रदेशसभाको बैठकमा सहभागी भएका छैनन् ।
यही कारण उनको पारिश्रमिक र सेवासुविधा रोकिएको सचिवालय स्रोतले जनाएको छ । संविधानको धारा १८० तथा सुदूरपश्चिम प्रदेशसभा नियमावली २०८० अनुसार सभालाई सूचना नदिई लगातार १० वटा बैठकमा अनुपस्थित रहे प्रदेशसभा सदस्यको पद नै रिक्त हुन सक्ने व्यवस्था छ ।
सचिवालय स्रोतका अनुसार देउवा उपस्थित नभएसम्म वा उनको अवस्थाबारे आधिकारिक जानकारी नआएसम्म पारिश्रमिक र सेवासुविधा पठाइने छैन । यदि पछि उपस्थित भएमा रोकिएको रकम एकैपटक निकासा गर्न सकिने बताइएको छ ।









प्रतिक्रिया दिनुहोस्