कोहलपुर ।
तत्कालीन नेकपा (एकीकृत समाजवादी)का नेता स्वर्गीय अशोक कोराइलाको वार्षिक पुण्यतिथिको अवसरमा बाँकेको कोहलपुर–१२ स्थित ज्ञानज्योति माध्यमिक विद्यालय चप्परगौडीमा पाँच लाखको अक्षयकोष स्थापना गरिएको छ । शुक्रबार उनको सम्झनामा वार्षिक पुण्यतिथिको अवसर पारेर विद्यालयमा पाँच लाखको अक्षयकोष स्थापना गरिएको हो ।
ज्ञानज्योति माध्यमिक विद्यालयमा स्वर्गीय नेता कोइरालाको पनि योगदान गरेकाले विद्यालयमा अक्षयकोष स्थापना गरिएको कोइरालाका दाजु गोविन्द कोइरालाले बताए । स्वर्गीय नेता कोइरालाको सम्झनामा पुण्यतिथिको अवसर पारेर विद्यालयमा अध्ययन गर्ने गरिब, जेहेन्दार र पिछाडिएका विद्यार्थीहरुलाई शैक्षिक सामग्री उपलब्ध गराउन अक्षयकोषले मद्दत पुग्ने उनले बताए ।
तत्कालीन एकीकृत समाजवादीका पोलिटब्युरो सदस्यसमेत रहेका कोइराला बाँके जिल्लाको इन्चार्जका रुपमा जिम्मेवारीमा रहँदै गर्दा उनको अकल्पनीय निधन भएको उनले जानकारी दिए । स्वर्गीय नेता कोइरालाको काम, योगदान र सम्झनालाई जीवन्त राख्नलाई पारिवारिक सल्लाहबमोजिम ज्ञानज्योति माविमा अक्षयकोष स्थापना गरिएको उनको भनाइ थियो ।
उनीलगायत कोइराला परिवारका सदस्य स्वर्गीय नेता कोइरालाकी श्रीमती मञ्जु कोइराला, छोरा आशिस कोइराला, छोरी आस्था कोइरालाले विद्यालयका प्रधानाध्यापक सुमित्रा न्यौपाने र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दशरथ पराजुलीलाई पाँच लाखको चेक हस्तान्तरण गरेका थिए । स्वर्गीय कोइरालाको मृत्यु भए पनि परिवारले पुण्य काम गरेर जीवन्त राख्ने काम गरेको विद्यालयका प्रधानाध्यापक न्यौपानेले बताइन् ।
विद्यालयमा स्थापना गरिएको अक्षयकोषले हरेक वर्ष गरिब र जेहेन्दार विद्यार्थीहरुको मुहारमा उज्यालो ल्याउनुका साथै स्वर्गीय नेता कोइरालाको सम्झना रहिरहने उनले बताइन् । उनले विद्यालयलाई विश्वास गरेर अक्षयकोष स्थापना गरेकोमा कोइराला परिवारलाई धन्यवाद प्रदान गर्दै स्वर्गीय नेता कोइराला र परिवारलाई पनि विद्यालयले रहेक वर्ष सम्झने बताइन् ।
पार्टीकै कामको सिलसिलामा कपिलवस्तुमा रहँदा कोइरालालाई मस्तिष्कघात भएको थियो । भैरहवामा उपचारपश्चात् थप उपचारका लागि काठमाडौँस्थित शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो । त्यहाँ उपचारका क्रममा गत वर्ष चैत ११ गते उनको निधन भएको थियो । यो सँगै जन ज्योति माध्यमिक विद्यालयमा अक्षयकोषको संख्या ६ वटा पुगेको छ ।
प्रधानाध्यापक सुमित्रा न्यौपानेका अनुसार यसअघि विद्यालयमा शालिग्राम–मन्दोदरी–बाटुली ढकाल स्मृति अक्षयकोष रहेको छ । यो छात्रवृत्ति विपन्न÷असहायलाई प्रदान गरिदैँ आएको छ । एकदेव–रिखीसरा गौंडेल जेहेन्दार छात्रवृत्ति अक्षयकोष रहेको छ । यसैगरी जेहेन्दार विद्यार्थीहरुलाई प्रदान गरिने दशरथ–डम्बर कु.पराजुली जेहेन्दार अक्षयकोष अक्षय कोष,भवानीशंकर–चन्द्रादेवी जेहेन्दार अक्षयकोष अक्षय कोष र भोजबहादुर चन्द स्मृति अक्षयकोष रहेको विद्यालयले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्