निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांकअनुसार फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ ५.४५ प्रतिशत र समानुपातिक प्रणालीतर्फ ३.९५ प्रतिशत मत बदर भएका छन् ।
काठमाडौँ ।
नेपालमा हुने निर्वाचनमा मत बदर हुने समस्या पटक–पटक देखिँदै आएको छ, जुन यसपालि पनि कायमै रह्यो । यद्यपि फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बदर मतको संख्या घटाउन निर्वाचन आयोग तथा विभिन्न सरकारी निकायले अनेक प्रयास गरेका थिए । बदर मत कम गर्न मतदातालाई विभिन्न शिक्षा तथा जनचेतनामूलक कार्यक्रम आयोजना गएिको थियो ।
यसका बाबजुद बदर मतको संख्यामा खासै कम नभएपछि सरोकारवाला निकायले त्यस्ता कार्यक्रमको औचित्यमा प्रश्न उठाएका छन् । गएको निर्वाचनको प्रवेक्षण गरेका शम्भु उप्रेतीले कैयन मतदातालाई कसरी मतदान गर्ने भन्नेबारे जानकारी नभएको बताए । ‘कतिपय मतदाताले प्रत्यक्षतर्फ मतदान गरेपछि समानुपातिकमा मतदान गर्नुपर्छ भन्नेमा अन्योल रहेको पाइयो,’ उनले भने, ‘यसको अर्थ नेपालमा निर्वाचन शिक्षाका लागि अझै धेरै काम गर्न बाँकी छ भन्ने हो ।’
हुनतः निर्वाचन शिक्षाको समस्या नेपालको मात्र होइन । नेपालजस्तै राजनीतिक, सांस्कृतिक तथा शैक्षिकस्तर भएका मुलुकमा हुने निर्वाचनमा बदर मतलगायतका विभिन्न समस्या हुने गरेका छन् । राजनीतिक प्रवेक्षकहरूका अनुसार मतपत्र सही तरिकाले नछाप्नु, एकभन्दा बढी स्थानमा छाप लगाउनु वा मतदान प्रक्रियाबारे मतदाताको स्पष्ट जानकारी नहुनु जस्ता कारणले निर्वाचनमा मत बदर हुने गरेका छन् ।
निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांकअनुसार फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ ५.४५ प्रतिशत र समानुपातिक प्रणालीतर्फ ३.९५ प्रतिशत मत बदर भएका छन् । आयोगका अनुसार प्रत्यक्षतर्फ खसेका मतमध्ये ९४.५५ प्रतिशत मत मात्र सदर भएको छ । यस प्रणालीअन्तर्गत कूल १ करोड ११ लाख ६८ हजार ३२ मत खसेका थिए । तीमध्ये ६ लाख ९ हजार १५ मत बदर भएका छन् ।
यस्तै समानुपातिक प्रणालीतर्फ कूल १ करोड १२ लाख ८० हजार ६१७ मत खसेकोमा ९६.०५ प्रतिशत मत सदर भएको आयोगले जनाएको छ । यसतर्फ ४ लाख ४५ हजार ५९२ मत बदर भएका छन् । यसैबीच आयोगले समानुपातिक प्रणालीतर्फको सिट संख्या निर्धारण गरिसकेको छ । सिट बाँडफाँटको निर्णयपछि सम्बन्धित राजनीतिक दललाई तीन दिनभित्र समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम छनोट गरी आयोगमा बुझाउन पत्राचार गरिएको छ ।
समानुपातिकतर्फ ६ राजनीतिक दलले मात्रै सिट प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा धेरै ५७ सिट पाएको छ भने नेपाली काँग्रेसले २० सिट प्राप्त गरेको छ । त्यस्तै नेकपा एमालेले १६, नेकपाले ९ तथा श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले चार–चार सिट पाएका छन् । प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ भने राष्ट्रिय स्वतन्त्र पार्टीले १२५ सिट जितेको छ ।
नेपाली काँग्रेसले १८, नेकपा एमालेले ९, नेकपाले ८ र श्रम संस्कृति पार्टीले ३ सिट जितेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले १ सिट जितेको छ भने एक सिट स्वतन्त्र उम्मेदवारको पक्षमा गएको छ । निर्वाचनमा बदर मत हुनु भनेको एकातिर राज्यको ठूलो रकम गुमाउनु हो भने अर्कोतर्फ सही उम्मेदवार छनोटमा कैफियत आउनु हो । बदर मतको संख्या बढ्दा राम्रा उम्मेदवारले निर्वाचन हार्ने र नराम्रा उम्मेदवारले निर्वाचन जित्ने अवस्था आउन सक्छ ।
त्यस्तै निर्वाचन सम्पन्न गर्न पनि राज्यको ठूलो रकम लाग्ने भएकाले बदर मतको संख्या बढ्दा त्यस्तो लगानी समेत बालुवामा पानी हुन्छ । राजनीतिक विज्ञहरूले बदर मतको संख्या घटाउन तथा निर्वाचनको महत्व बढाउन निर्वाचन नभएको अवस्थामा पनि निर्वाचनसँग जोडिएका जनचेतनामूलक कार्यक्रम गरिरहनुपर्ने सुझाव दिएका छन् ।









प्रतिक्रिया दिनुहोस्