बिर्सने रोगको जोखिममा ज्येष्ठ नागरिक



वीरेन्द्र जैसी । नेपालगन्ज ।

सामान्यतया बिर्सने रोग भनेर चिनिने अल्जाइमर्सको जोखिम नेपालका ज्येष्ठ नागरिकहरूमा बढ्दो रहेको विभिन्न अध्ययनहरूले देखाएका छन् । सामान्यता ६० वर्षको उमेरपछि देखा पर्ने यो मानसिक स्वास्थ्य समस्या सुरु भइसकेपछि निको पार्ने उपचार हालसम्म विकास भइसकेको छैन । यद्धपि समस्याको गम्भीरताको गति कम गर्ने औषधिहरू भने उपलब्ध रहेका चिकित्सकहरू बताउँछन् । तर, ती औषधीहरूले समस्यालाई गम्भीर हुन रोकेपनि समय बित्दै जाँदा झन् बढ्दै जाने र अन्तमा अर्काे व्यक्तिको सहाराबिना दिशापिसाब गर्नेदेखि खानेसम्मका समान्य कामसमेत आफैँ गर्न नसक्ने अवस्थामा पुग्ने नेपालगन्ज मेडिकल कलेजमा कार्यरत मनोचिकित्सक डा. तनविर अहमद खान बताउँछन् ।

गत वर्ष सन् २०२५ अगस्टमा प्लस वन नामक जर्नलमा प्रकाशित ‘नेपालमा डिमेन्सियाको जोखिमः हिमाली, पहाडी र तराई क्षेत्रमा गरिएको एक ‘क्रस–सेक्सनल’ सर्वेक्षण’मा सहभागी ६० वर्षमाथिका ५३ दशमलव ७ प्रतिशत नागरिकहरूमा डिमेन्सिया अर्थात बिर्सने समस्याको जोखिम रहेको देखाइएको छ ।हिमाली, पहाडी र तराई तीनवटै क्षेत्रका तीनवटा जिल्लामा गरिएको सर्वेक्षणले हिमाली क्षेत्रमा पर्ने हुम्लाका सर्वेक्षणमा सहभागी ज्येष्ठ नागरिकहरूमा सबैभन्दा धेरै जोखिम देखाएको छ । हिमाली जिल्ला हुम्लाका ६७ दशमलव ३ प्रतिशतमा जोखिम देखिँदा पहाडको कार्भेपलान्चोकका ४६ दशमलव २ प्रतिशतमा जोखिम देखिएको थियो भने तराईंको सिरहाका २२ दशमलव ९ प्रतिशतमा जोखिम रहेको सर्वेक्षणबाट नतिजा आएको छ ।

अल्जाइमर्स भएका व्यक्तिहरू समयसँगै बढीभन्दा बढी अरु व्यक्तिमा आश्रित हुनुपर्ने र समान्य क्रियाकलापका लागि पनि हेरचाह गर्ने व्यक्ति चाहिने हुँदा यसका बिरामीको स्याहार चुनौतिपूर्ण हुने गरेको छ । आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरूमा डिमेन्सिया देखिएमा उनीहरूको स्याहार झनै चुनौतिपूर्ण हुने गरेको छ । कतिपय बिरामीहरू परिवारबाट समेत हेलामा परेर सडकमा आइपुग्ने गरेका पाइएको छ ।नेपालगन्जस्थित नीलसागर सेवाश्रममा रहेका चार दर्जनबढी ज्येष्ठ नागरिकहरूमा बिर्सने समस्या रहेको सेवाश्रमका अध्यक्ष सरिता खनाल बताउँछिन् । खनालका अनुसार उनीहरू सबै प्रायःजसो सडकबाट उद्धार गरिएका हुन् । उनीहरूसँग विगतको स्मृति नहुँदा आफ्नो घर पनि कहाँ हो भन्न नसक्ने र उनीहरूको खोजीका लागि पनि कोही नआउने गरेको खनालको भनाइ छ ।

नेपालमा सन् २०२० मा भएको एक अध्ययनले पनि आश्रमहरूमा बस्ने करिब ७५ प्रतिशत ज्येष्ठ नागरिकहरू अल्जाइमर्सको जोखिममा हुने गरेको देखाएको थियो । सन् २०२१ मा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कार्यरत मानसिक रोग विशेषज्ञ मोहन बेलबासे र डा. ज्योति अधिकारीले पनि उनीहरूकहाँ पुगेका बिरामीहरूलाई लिएर एक अध्ययन गरेका थिए । उक्त अध्ययनले एक हजार तीन सय ३२ जना बिरामीमध्ये ५२ जनामा अल्जाइमर्श भएको देखाएको थियो ।यसैगरी, सन् २००० देखि २०२१ सम्म फरक फरक वर्षमा भएका यस्तै प्रकृतिका ११ वटा अध्ययनले चिकित्सकहाँ पुगेका ३ दशमलव ९ प्रतिशतदेखि २८ प्रतिशतसम्म बिरामीहरू डिमेन्सियाबाट प्रभावित पाइएको थियो ।

डिमेन्सिया स्मरणशक्ति, सोच र भाषा जस्ता संज्ञानात्मक क्षमताहरूमा ह्रास आउने बुढ्यौलीको एक असामान्य अवस्था रहेकोले यसले दैनिक जीवनमा हस्तक्षेप गर्ने मनोचिकित्सक डा. खानको भनाइ छ । स्मृति सम्बन्धि समस्याहरूलाई समग्रमा बुझ्दा डिमेन्सिया भनिने र त्यसमध्ये अल्जाइमर्स एक प्रमुख समस्या रहेको खानको भनाइ छ ।डा. खान भन्छन्, ‘अल्जाइमर्स भनेको बढ्दो उमेरसँगै मष्तिस्कको स्मरणशक्तिसम्बन्धि कार्यक्षमता घट्दै जाने समस्या हो । यो समस्या प्रायः ६५ वर्षमाथिका ज्येष्ठ नागरिकहरूमा देखिन्छ । जति उमेर बढ्दै जान्छ त्यति नै यसको जोखिम पनि बढ्दै जान्छ । निर्णय क्षमता ह्रास भएर खाना कसरी खानेसमेत थाहा हुन छोड्छ । निको हुनेभन्दा समस्या झन् जटिल भएर अन्तमा पूर्णतया अरुमा निर्भर हुनुपर्ने अवस्था आउँछ ।’ समयमै चिकित्सकको सम्पर्कमा आएमा बिर्सने समस्या गम्भीर हुने गतिलाई सुस्त बनाउन सकिने डा. खानले बताए ।

उनले सुरुमा सामान्य रूपले नामहरू बिर्सने, कहिलेकाहीँ हिड्ने बाटोहरू बिर्सने समस्या देखिन थाल्छ । त्यही अवस्थामा चिकित्सककहा पुगेमा उपलब्ध उपचार सुरु गर्दा प्रभावकारी हुने उनले बताए ढिलाई हुँदै गए परिवारका सदस्यहरूकै नाम बिर्सने, एकै दिनको पनि घटनाहरू बिर्सन थाल्ने, आफ्नै सामानहरू बिर्सन थाल्ने हुँदै आफ्नै घरसमेत पराई घर हो भन्ने ठान्नेसम्मको स्थिति आउन सक्ने उनले बताए । ‘हुँदा हुँदा समयको भ्रम सृजना भई दैनिक जीवनको आफ्ना व्यक्तिगत कामहरू पनि गर्न नसक्ने स्थिति हुन्छ । राती नसुत्ने दिउँसो सुत्ने, दिशापिसाब गर्न शौचालय प्रयोग गर्नुपर्छ भन्नेसम्म बिर्सने स्थिति आउन सक्छ,’ खानले भने । जब बिर्सने समस्याले आफ्नो दैनिक काम गर्न नै समस्या हुन थाल्छ तब उक्त समस्यालाई अल्जाइमर्स भनिने डा. अहमदको भनाइ छ । ‘हामीकहाँ यो समस्या हो भन्ने चेतनाकै कमी छ । मानिसहरूले यसलाई स्वास्थ्य समस्याको रूपमा नबुझेर उल्टै ज्येष्ठ नागरिकहरू हेलामा पर्नसक्ने अवस्था आउनसक्छ,’ उनले भने ।

नीलसागरका अध्यक्ष खनाल पनि प्रायः ज्येष्ठ नागरिकहरूलाई परिवारले स्याहार गर्नुपर्ने दायित्वबोध भन्दा पनि बोझको रूपमा लिँदा ज्येष्ठ नागरिकहरू संवेदनात्मक आघातले स्वयं नै सडकमा पुग्ने गरेका बताउँछिन् । ‘जीवनभरी आफूले बालबच्चालाई हुर्काएको, लालनपालन गरेको स्मृतिका बीच आफू हेलामा पर्न थालेको महसुस भएपछि आमाबुवाहरू आफैँ घर छोडेरसमेत हिड्ने गरेको पाएकी छु,’ खनालले भनिन् ।अल्जाइमर्सका बिरामीलाई घरमा स्याहार गर्न पनि सजिलो छैन् । खनालका अनुसार उनले ज्येष्ठ नागरिक स्याहारसम्बन्धि तालिम लिँदा अल्जाइमर्स समस्या भएका ज्येष्ठ नागरिकको स्याहार गर्ने विषयमा पनि तालिम लिएकोले केही सहज भएपनि स्याहार गर्न निकै गाह्रो हुने गरेको बताउँछिन् ।

‘कुन बेला कता हिडिदिनुहुन्छ । के समस्यामा पर्नुहुन्छ भन्ने नै ठूलो चिन्ताको विषय हुन्छ । एकजना त अनिवार्य साथमा हुनुपर्छ,’ खनालले भनिन् । मनोचिकित्सक खान पनि अल्जाइमर्सको जति रोग बढ्यो, त्यति स्याहार गर्न गाह्रो हुने बताउँछन् । ‘एकजना त २४ सै घण्टा बिरामीसँग हुनुपर्छ । उनीहरूले आफूमाथि कुनै दुर्घटना हुन्छ भन्नेसमेत थाहा नहुने भएकोले निगरानी गरिरहनुपर्छ । अर्काेतिर स्याहार गर्ने मानिसको दिनचर्या नै बिरामीको दिनचर्यासँग मिलाउनुपर्ने हुँदा उसको स्वास्थ्यम पनि असर गर्न सक्छ । उसले राम्ररी निदाउन पनि नपाउन सक्छ,’ खानले भने ।

सन् २०२० मा जर्नल अफ इण्डियन एकेडेमी अफ जेरियाट्रिक्समा प्रकाशित अध्ययन प्रतिवेदनले नेपालमा अल्जाइमर डिमेन्सिया भएका बिरामीका हेरचाहकर्ताको भावनात्मक, सामाजिक, आर्थिक, शारीरिक र आध्यात्मिक अवस्थामा ठूलो असर गरिरहेको उल्लेख गरेको थियो ।बढ्दो उमेरसँगै सुरु हुने यो रोग अहिले विश्वभर फैलँदो छ । विश्व स्वास्थ्य संगठनका अनुसार डिमेन्सिया समेत भनेर चिनिने यो समस्याले हाल विश्वभर पाँच करोड ५० लाख मानिसहरू प्रभावित छन् । जसमध्ये ६० प्रतिशतभन्दा बढी कम र मध्यम आय भएका देशहरूका मानिसहरू छन् । प्रत्येक वर्ष लगभग १० लाख नयाँ बिरामीहरू थपिइरहेका छन् । अल्जाइमर्सबारे सचेतना जगाउन हरेक वर्ष सेप्टेम्बर २१ मा विश्वभर अल्जाइमर्स दिवस मनाउने गरिन्छ ।

छैन् पर्याप्त स्वास्थ्य सुविधा 

नेपालमा विद्यमान सरकारी नीति अल्जाइमर्स जस्ता डिमेन्सिया प्रभावितको उपचार र हेरचाहका लागि अपर्याप्त रहेको छ । सरकारले अज्जाइमरलाई गम्भीर खालको रोगको सूचीमा राख्दै दुई लाखसम्म उपचार खर्च दिने व्यवस्था गरेको छ । तर, यो रोगको प्रकृति हेर्दा उक्त रकम निकै कम भएको चिकित्सकहरू बताउँछन् । यसैगरी सरकारको जेष्ठ नारिक स्वास्थ्य सेवा रणनीतिको कार्यान्वयन पनि कमजोर रहेको उनीहरूको भनाइ छ ।‘इन्टर नेशनल जर्नल अफ जेरियाट्रिक साइकियाट्री’ मा सन् २०२४ मा प्रकाशित एक अध्ययनले पनि सरकारले डिमेन्सिया भएका व्यक्तिहरूलाई सरकारले उपलब्ध गराउने आर्थिक अनुदानमा पहुँचकै अभाव रहेको उल्लेख गरेको छ । उक्त सेवा लिन पहिले अल्जाइमर्स भएको हो भन्ने प्रमाणित हुनुपर्छ । तर, दुर्गमका नागरिकहरू उपचारमै पुग्नकै लागि वाधाहरू रहेको उक्त प्रतिवेदनमा उल्लेख छ ।

कमजोर सार्वजनिक स्वास्थ्य प्रणाली, कमजोर सुशासन, आर्थिक सीमितता, न्यून जनचेतनाको कमीले पनि यसको पहँचबाट प्रभावितहरू बाहिरै रहेको उक्त प्रतिवेदनमा उल्लेख छ । बिर्सने समस्यालाई लिएर बिरामीलार्य हेयको दृष्टिकोणले हेर्ने समस्या पनि वाधाको रूपमा रहेको छ ।यसका साथै नेपालमा डिमेन्सियासम्बन्धी देशव्यापी वैज्ञानिक अध्ययनको कमीले प्रमाणमा आधारित योजना तथा नीति निर्माण हुन नसकेको पनि प्रतिवेदनले औँल्याएको छ । त्यस्तै, डिमेन्सिया भएका व्यक्तिहरूको हेरचाह गर्नेहरूलाई लक्षित कुनै कार्यक्रम नरहेको र डिमेन्सिया रोकथामका लागि पनि कुनै पहलहरू लागू नगरिएको प्रतिवेदनमा भनिएको छ ।मनोचिकित्सक डा. खान जापानलगायत विकसित देशहरूमा अल्जाइमर्सका बिरामीलाई औषधि देखि हेरचाह सरकारले जिम्मा लिने गरेको बताउँछन् ।

‘बौद्धिक सक्रियताले घटाउन सक्छ जोखिम’अल्जाइमर्सका लागि वंशाणुगत प्रभाव, मस्तिष्कको संरचनात्मक परिवर्तन, वृद्धावस्थाका साथै उच्च रक्तचाप, मधुमेह, र हृदय रोग जस्ता अवस्थाहरू मुख्य कारण रहने चिकित्सकहरू बताउँछन् । यसको रोकथामका लागि स्वस्थ आहार विहार जरुरी हुने चिकित्सकहरूको भनाइ छ ।यसैबीच पछिल्लो एक अध्ययनले मानिस बौद्धिक रूपले सक्रिय रहँदा पनि जोखिम कम हुनसक्ने देखाएको छ । विशेषगरी जीवनभर नयाँ कुरा सिक्ने, पढ्ने–लेख्ने तथा विभिन्न बौद्धिक गतिविधिमा सक्रिय रहने मानिसमा अल्जाइमर्स र मानसिक क्षमतामा आउने ह्रासको जोखिम कम हुन सक्ने उक्त अध्ययनले देखाएको हो ।अमेरिकाको रश विश्वविद्यालय मेडिकल सेन्टरका अनुसन्धानकर्ताले गरेर २०२६ फेब्रुअरी ११, मा न्यरोलोजी नामक जर्नलमा प्रकाशन गरेको उक्त अध्ययनले बाल्यकालदेखि वृद्धावस्थासम्मको बौद्धिक सक्रियताबारे अध्ययन गरेर उक्त निश्कर्ष निकालेको हो ।

औसत ८० वर्ष उमेरका एक हजार ९३९ जना सहभागीलाई करिब आठ वर्षसम्म अनुगमन गरेर तयार गरिएको उक्त अध्ययनको प्रतिवेदनले सबैभन्दा बढी बौद्धिक रूपमा सक्रिय समूहमा अल्जाइमर्सको जोखिम ३८ प्रतिशत र सामान्य मानसिक कमजोरीको जोखिम ३६ प्रतिशत कम देखाएको थियो ।उच्च बौद्धिक सक्रियता भएका व्यक्तिमा अल्जाइमर्सका लक्षण औसत ९४ वर्षमा देखिएको थियो भने कम सक्रिय समूहमा करिब ८८ वर्षमै देखिएको प्रतिवेदनमा उल्लेख छ । अध्ययनमा सहभागीहरूको पुराना अनुभव र सम्झनामा आधारित जानकारी प्रयोग गरिएकाले त्यसमा केही सीमितता पनि रहेका अनुसन्धानकर्ताहरूको भनाइ छ ।

नेपालमा विद्यमान नीतिहरूले डिमेन्सिया भएका व्यक्तिहरू र उनीहरूको हेरचाह गर्नेहरूको आवश्यकतालाई अपर्याप्त रूपमा सम्बोधन गरेका छन् । स्वास्थ्य सेवाका सन्दर्भमा, नेपाल सरकारले डिमेन्सिया निदान भएका व्यक्तिहरूलाई आर्थिक अनुदान उपलब्ध गराउँछ तर सेवामा पहुँचमा धेरै अवरोधहरू छन् ।यी अवरोधहरूमा भौगोलिक तथा संरचनागत बाधाहरू, अकुशल सार्वजनिक स्वास्थ्य प्रणाली, कमजोर सुशासन, आर्थिक सीमितता, न्यून जनचेतना, सामाजिक कलंक, र अपर्याप्त जनशक्ति समावेश छन् । यसैगरी, नेपालमा डिमेन्सियासम्बन्धी बलियो राष्ट्रिय प्रतिनिधित्वयुक्त महामारीविज्ञानीय अध्ययनहरूको अभावले प्रमाणमा आधारित योजना तथा नीति निर्माणमा बाधा पु¥याएको छ । त्यस्तै, डिमेन्सिया भएका व्यक्तिहरूको हेरचाह गर्नेहरूलाई लक्षित कुनै हस्तक्षेपहरू छैनन्, र डिमेन्सिया रोकथामका लागि कुनै पहलहरू लागू गरिएका छैनन् ।

  • No tags available
प्रकाशित मिति : २०८३ असोज ५ गते सोमबार