कोहलपुर (बाँके) ।
२०औँ एसियन गेम्स सुरु भएको छ । जापानमा आयोजना भएको एसियन गेम्स नागोया सिटीस्थित मिजुहो पार्क एथलेटिक्स स्टेडियममा भव्य रूपमा उद्घाटन भएको हो । १९ सेप्टेम्बरदेखि ४ अक्टोबरसम्म सञ्चालन हुने एसियन गेम्समा ४३ खेलका ७१ विधामा खेल हुनेछन् । कूल ४६९ पदकका लागि करिब १७ हजार खेलाडीबीच प्रतिष्पर्धा हुन लागेको हो । एसियन गेम्समा नेपालसमेत सहभागी छ ।नेपालले २१ खेलमा सहभागिता जनाउँदैछ । ती खेलमा नेपालका १३५ खेलाडी सहभागीता जनाउनेछन् । जसमा ५७ महिला र ७८ पुरुष छन् । तीमध्येका एक हुन्, बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ११ एनटीभी रोडका २४ वर्षीय युवराज राना ।
उनी पुम्से तेक्वान्दोको अन्डर ३० विधामा नेपालको प्रतिनिधित्व गर्दैछन् । नेपाली सेनामा कार्यरत रानाले पुम्से तेक्वान्दो विधामा गत मे महिनामा मंगोलियामा एसियन च्याम्पियनसीप खेलेका थिए त्यतिबेला नेपाल क्यालिफाई हुन सकेन । तर, एसियन तेक्वान्दो युनियनमार्फत ‘वाइल्ड कार्ड’ प्राप्त गरेर कोहलपुरका रानाले नेपालको प्रतिनिधित्व गर्ने ऐतिहासिक अवसर प्राप्त गरेका हुन् । एसियन गेम्स खेल्न उनी असोज ११ गते नेपालबाट जापान जानेछन् । असोज १५ गते पुम्से तेक्वान्दोको पहिलो चरणको गेम सुरु हुनेछ । राना कोच, दुईजना साथी र म्यानेजरसहित जापान जाने भएका हुन् । तीन महिना अघि उनले इन्डोनेसियामा समेत खेलेका थिए । त्यो त उनी विगतदेखि विभिन्न राष्ट्रिय प्रतियोगिताहरू खेल्दै आएका छन् ।
आठौँ राष्ट्रिय खेलकुदमा सहभागीता जनाएका रानाले नवौँ राष्ट्रिय खेलकुदमा द्धितीय स्थान हासिल गरेका थिए । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दसौँ राष्ट्रिय खेलकुदमा समेत उनी छनौट भइसकेका छन् । बाँकेको कोहलपुरस्थित वस्र्टन माविबाट प्रारम्भिक शिक्षा हासिल गरेका रानाले त्रिभुवन माविमा प्लस टुसम्मको अध्ययनन गरेका थिए । सानै उमेरदेखि खेलकुदमा सक्रिय उनले बाँके जिल्लाको प्रतिनिधित्व गर्दै थुप्रै उपाधिसमेत जितेका छन् । खेलकुदकै माध्यमबाट उनले नेपाली सेनामा भर्ती हुने अवसर प्राप्त गरेका थिए । नेपाली सेनामा भर्ती भएपछि उनले आफ्नो खेल जीवनलाई थप उचाईमा पु¥याए ।
मिसन टुडे दैनिकसँग कुराकानी गर्दै उनले भने, ‘सानै उमेरदेखि खेल्दै आएको हो । अहिले एसियन गेम्स जस्तो प्रतियोगितामा खेल्न पाउँदा निकै खुसी छु । आफ्नो देशको प्रतिनिधित्व गरेको छु । पदक जितेर देशको नाम चिनाउने धोको छ ।’ युवराजका बुबा कर्ण बहादुर राना पनि आफ्नो छोराको क्षमताप्रति विश्वस्त छन् । उनका अनुसार युवराज सानै उमेरदेखि अत्यन्त कडा परिश्रमी र खेलकुदप्रति निकै आकर्षित थिए । उनले आफ्नो छोराले जितोस् भने चाहना राखेको बताएका छन् ।
एरिकाको यात्रा सेमिफाइनलमै सीमित
नेपाली कराते खेलाडी एरिका गुरुङ एसियाली खेलकुदको सेमिफाइनलमा पराजित भएकी छन् । आइतबार जापानको तोयोहाशी जिम्नाजियममा महिला ६८ केजीमाथिको सेमिफाइनलमा एरिकालाई काजकिस्तानकी सोफिया बेरुल्टसेभाले २–१ ले निराश बनाइन् ।निकै कडा टक्कर दिए पनि एरिकाले खेल आफ्नो पक्षमा पार्न सकिनन् । एरिकाले यसअघिको संस्करणको फाइनलमा पनि बेरुल्टसेभासँगै हार व्यहोरेकी थिइन् । यसपालि एरिकाले क्वार्टरफाइनलमा जोर्डनकी यारा नासेरविरुद्ध ७–१ को सहज जित निकालेकी थिइन् ।यस्तै, नेपाली खेलाडी राकेश मानन्धर र मीनबहादुर तामाङ पनि सेमिफाइनलमै रोकिए । राकेश कुमुते पुरुष ५५ केजीमुनिमा उज्वेकिस्तानका खुमोयुनमिर्जो खलिमोभसँग ७–० ले पराजित भए । मीन ६० केजीमुनिमा कुवेतका अब्दुल्लाह शाबानसँग १०–० ले हारे ।









प्रतिक्रिया दिनुहोस्