मानसरोवर–कैलाश यात्रा हिल्सा ‘ट्रान्जिट हब’ बन्दै



नन्दराम जैशी । सुर्खैत ।

नेपालको अर्को उत्तरी नाका हुम्लास्थित हिल्साको अन्तरदेशीय पर्यटकीय सम्भावना यसअघि ओझेलमा पर्दै आएको थियो । नेपाल—चीन जोड्ने रसुवागढी–केरुङ र तातोपानी नाका सञ्चालन हुँदा हिल्सा नाकाबारे खासै वास्ता हुुँदैन ।तर, पछिल्लो समय रसुवागढी–केरुङ र तातोपानी नाका बन्द हुँदा यात्राको वैकल्पिक मार्गका रूपमा हिल्सा नाका प्रयोग हुन थालेको छ । यसले हिल्साको रणनीतिक महत्व पुनः चर्चामा ल्याएको हो । एकातिर रसुवा र तातोपानीको अवरोधले पर्यटकलाई वैकल्पिक बाटो खोज्न बाध्य बनाएको छ, भने अर्कोतर्फ यही परिस्थितिले हिल्सालाई नयाँ अवसर दिएको छ । हाल हिल्सा नाका केरुङको अवरोधका कारण वैकल्पिक रुट बनेको हो ।

तर, यही आवागमनलाई व्यवस्थित गर्न सकिए हिल्सा भविष्यमा मानसरोवर–कैलाश यात्राको नियमित प्रवेश–आगमन तथा ट्रान्जिट हब बन्न सक्ने सम्भावना छ । मानसरोवर–कैलाश यात्रापछि हिल्सा नाका हुुँदै १५० बढी भारतीय पर्यटकको पछिल्लो आवागमनले यो सम्भावनाको अझ बलियो प्रमाणका रूपमा प्रस्तुुत गरेको छ ।रसुवाको केरुङ र सिन्धुपाल्चोकको तातोपानी हुँदै नेपाल फर्किन नसकेका मानसरोवर–कैलाश यात्रामा रहेका भारतीय पर्यटकहरू हिल्सा हुँदै नेपाल प्रवेश गरेका हुुन् । यी पर्यटकहरू हिल्साबाट हुम्लाको सिमकोट हुँदै हवाईमार्गबाट नेपालगन्ज पुगेपछि आ–आफ्नो गन्तव्यतर्फ फर्किएका छन् ।हिल्सा नाकामा पर्यटकको सङ्ख्या बढ्दै जाँदा यसको प्रभाव सीमावर्ती व्यापारदेखि होटल, यातायात, हवाई सेवा, गाइड, ट्रेकिङ तथा स्थानीय रोजगारीसम्म फैलिने सम्भावना छ । त्यसका लागि अहिलेको आकस्मिक अवसरलाई दीर्घकालीन योजनामा बदल्न आवश्यक रहेको पर्यटन तथा होटल व्यवसायी नोर्बुु लामा बताउँछन् ।

‘भोटेकोशीमा आएको बाढीले चीनसँग जोडिएका रसुवागढी–केरुङ र तातोपानी नाका प्रभावित भएपछि यसको प्रत्यक्ष असर मानसरोवर–कैलाश यात्रामा परेको थियो’ उनले भने, ‘तर यही अवरोधले हिल्सालाई भने वैकल्पिक अन्तरदेशीय तथा पर्यटकीय मार्गका रूपमा अगाडि ल्याएको हो ।’उनका अनुसार नेपाल–चीन आवागमनका परम्परागत उत्तरी नाकामा अवरोध आउँदा हिल्सा सीमावर्ती व्यापारको नाका मात्रै नभई मानसरोवर–कैलाश यात्राको वैकल्पिक ट्रान्जिट रुट बन्नसक्छ । सामान्य अवस्थामा काठमाडौँ हुँदै रसुवाको केरुङ नाका प्रयोग गरेर भारतीय पर्यटकहरू तिब्बततर्फ मानसरोवर–कैलाश दर्शनका लागि जाने गर्छन् । यात्राको मुख्य मार्गका रूपमा केरुङ स्थापित भएकाले त्यहाँको सडक तथा सीमा आवागमनमा समस्या आउँदा यसको असर यात्राको सम्पूर्ण व्यवस्थापनमा परेको हो ।

जिल्ला प्रशासन कार्यालय हुम्लाका अनुसार भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि केरुङतर्फको यातायात सेवा प्रभावित भयो । तिब्बत पुगिसकेका तर केरुङ हुँदै नेपाल फर्किन नसक्ने अवस्थामा रहेका पर्यटकलाई वैकल्पिक मार्ग खोज्नुपर्ने भयो । त्यसपछि हिल्सा उनीहरूको नेपाल फर्किने बाटो बनेको हो । हिल्सा हुँदै नेपाल प्रवेश गरेका भारतीय पर्यटकहरू सिमकोट पुगेपछि हवाईजहाजमार्फत नेपालगन्ज पुगेका छन् । यसले केरुङमा उत्पन्न भएको यातायात अवरोधको असरलाई हिल्सा–सिमकोट–नेपालगन्ज रुटले केही हदसम्म सम्हाल्ने अवस्था सिर्जना गरेको हो ।
नेपालका दुई फरक भौगोलिक क्षेत्रबीचको पर्यटन पूर्वाधार र वैकल्पिक अन्तरदेशीय मार्गको महत्वसमेत उजागर गरेको हुम्लाका प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाई बताउँछन् । उनका अनुसार पछिल्लो समय पर्यटकको चाप विस्तारै कम हुँदै गएको छ । तर केही पर्यटक तथा अन्य व्यक्तिको आउजाउ अझै जारी छ ।

उनले भने, ‘हिल्सा हुँदै पर्यटक आएपछि सीमावर्ती हिल्सादेखि सदरमुकाम सिमकोटसम्म पर्यटनसँग जोडिएका गतिविधि बढेका छन् । पर्यटकको आवागमनले होटल, यातायात, हेलिकोप्टर तथा अन्य स्थानीय पर्यटन व्यवसायमा पनि प्रत्यक्ष प्रभाव पार्छ ।’उनका अनुसार हिल्सा–सिमकोट सडकको अवस्था अहिले सामान्य छ । कतिपय यात्रुले हेलिकोप्टरमार्फत आवागमन गरिरहेका छन्, भने कतिपयले हेलिकोप्टर उपलब्ध नभएको अवस्थामा सडकमार्फत पनि हिल्सा र सिमकोटबीच यात्रा गरेका थिए । हिल्सा नाकालाई थप व्यवस्थित र पहुँचयुक्त बनाउन सके नेपाल र तिब्बतबीच नागरिक तथा पर्यटकको आवागमन बढ्नुका साथै राज्यको राजस्वसमेत वृद्धि हुने उनी बताउँछन् ।

हेलिकोप्टर नपाउँदा यात्रा रद्द 

हिल्सा हुँदै भारतीय पर्यटक नेपाल आउन थालेपछि यसको प्रभाव सिमकोटको हवाई सेवामा पनि देखिएको छ । मानसरोवर तथा कैलाश दर्शन सकेर फर्किएका पर्यटकहरू हिल्सा हुँदै सिमकोट झर्न थालेपछि हवाई यातायातमा चाप बढेको थियो । तर पर्यटकको मागअनुसार हेलिकोप्टर सेवा भने सहज रूपमा उपलब्ध हुन सकेन ।जसले गर्दा हिल्साबाट मानसरोवर कैलाशको धार्मिक यात्रा गर्ने पर्यटकहरूले आफ्नो यात्रा नै रद्द गर्नुुपर्ने अवस्था आयो । विभिन्न नौ वटा समूहद्वारा हिल्साबाट यस पटकको मानसरोवर कैलाश यात्रा रद्द गरिएको रिचा ट्रेकका हुम्ला हेर्ने पर्यटन व्यवसायी बिष्णु बहादुर रावतले बताए । यात्राको मितिसमेत तय गरिसकेका ती समूहले भोटेकोशी बाढीका कारण हेलिकोप्टर समेत पाउन सकेनन् ।

भोटेकोशी बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि हेलिकोप्टर प्रयोग भएपछि हिल्सा पठाउन नसकिएको सिम्रिक एयरका कर्णाली प्रदेश प्रमुख कमल गौतम बताउँछन् । उनका अनुसार कतिपय पर्यटक हिल्सा–सिमकोट सडकमार्फत आए, भने कतिपयले हवाई सेवाको विकल्प खोजिरहेका थिए । तर, पर्यटकका लागि माग बढिरहेका बेला हेलिकोप्टर विपद् व्यवस्थापनमा परिचालन भएको उनले बताए ।‘सिमकोट उडानका लागि पर्यटक तथा यात्रुबाट फोन आइरहेको थियो । तर हेलिकोप्टरको प्राथमिकता पर्यटकीय उडानभन्दा बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतमा रह्यो’ उनले भने, ‘पिक सिजनमै बाढीले प्रभावित बनाएपछि अब सिजन सकिने बेला पनि भएको छ । त्यसैले हामी पनि बाढी प्रभावित क्षेत्रमै केन्द्रित छौँ ।’

उनका अनुसार यसले हुम्लाको पर्यटन क्षेत्रमा एउटा असहज परिस्थिति सिर्जना गरेको छ । पर्यटक आउन चाहन्छन्, व्यवसायी र विमान कम्पनीसँग माग छ । तर आवश्यक समयमा हवाई साधन उपलब्ध छैन । हेलिकोप्टरका लागि पर्यटकबाट सम्पर्क आउने गरेको भए पनि त्यसलाई ठूलो पर्यटक चापका रूपमा लिन नसकिने गौतमको भनाइ छ ।उनका अनुसार यसपटक मानसरोवर–कैलाश यात्राको मुख्य सिजनमै प्राकृतिक विपत्तिले यातायात प्रभावित गरेपछि पर्यटकको आवागमन अपेक्षाअनुसार हुन सकेन । ‘चीनतर्फबाट पर्यटकको आवागमनका लागि अनुमति प्रक्रियासमेत अहिले बन्द भइसकेको छ’ उनले थपे, ‘नयाँ पर्यटकलाई तिब्बत प्रवेश गराउने सम्भावना घट्दै गएको छ ।’

रसुवाभन्दा छोटो हिल्सा रुट 

रसुवा र तातोपानी दुवै नाका बन्द भएका कारण कतिपय पर्यटकले धमाधम बुकिङ रद्द गरेका थिए । भने कतिपयलाई ट्राभल एजेन्सीहरूले वैकल्पिक रुटतिर लिएका थिए । केही एजेन्सीले काठमाडौँ–ल्हासा उडानमार्फत र नेपालगन्ज–सिमकोट–हिल्सा हुँदै पर्यटकलाई मानसरोवर र कैलाश पु¥याउने प्रयास जारी राखेका थिए । तर काठमाडौँ–ल्हासा उडानबाट जाँदा एकतर्फी भाडामै एक लाख हाराहारी खर्च हुन्छ । त्यसैले यी रुटबाट मानसरोवर जानेको सङ्ख्या निकै कम रहेको कैलाश टुर अपरेटर्स नेपालका महासचिव प्रदीप पण्डितले जानकारी दिए ।उनी आफैँ बाढीपछि कैलाश मानसरोवर जान चाहने २० जनाको टोली लिएर सिमकोट पुगेका थिए । त्यो टोली भोटेकोशीको बाढीपछि मानसरोवर हिडेको पहिलो हो ।

उनका अनुुसार सामान्यतया पर्यटकलाई काठमाडौँबाट नुवाकोट, रसुवा हुँदै १३ दिनको प्याकेजमा मानसरोवर लाने गरिएकामा नेपालगन्ज–सिमकोट–हिल्सा रुट दुई दिन छोटो पर्छ ।  नेपालगन्जबाट सिमकोटसम्म पुग्न जहाजमा जानुपर्छ । तर हिमाली क्षेत्रको मौसमका कारण उडान निश्चित हुँदैन ।‘ सिमकोटबाट अघि बढ्ने सडक कच्ची (अफ–रोड) भएकाले धेरैजसो पर्यटकले यो रुट असहज मान्छन्, त्यसैले यो रुटको सडक निर्माणमा चाँडै ध्यान दिन जरुरी छ’ उनले भने, ‘मानसरोवर र कैलाश पर्वतको यात्रा गराउने ट्राभल व्यवसायमा भोटेकोशी नदीमा आएको बाढीले गम्भीर धक्का लागेको छ । बाढीले एक महिनामै सवा अर्ब रूपैयाँको व्यवसाय गुमेको छ ।’व्यवसायीहरूका अनुसार सेप्टेम्बर महिनाका लागि भएका बुकिङमध्ये करिब चार हजार रद्द भए । बुकिङ रद्द गर्नेमा नेपाली र विदेशी दुवै पर्यटक छन् ।

तीर्थ र पर्यटन दुवै हिसाबले तिब्बतमा रहेको मानसरोवर र कैलाश पर्वत नेपाल र भारतबाहेकका देशका नागरिक पनि रसुवा नाका हुँदै जाने गरेका थिए । मानसरोवर र कैलाश पर्वत यात्राका गर्न चाहनेसँग ट्राभल एजेन्सीले पर्यटक अनुसार १० देखि १५ दिनको प्याकेजको दुुई हजारदेखि चार हजार डलरसम्म लिने गरेका थिए । उनीहरूले भारतीय पर्यटकसँग अढाइ लाख भारु लिने गरेका थिए ।औसतमा एक पर्यटकको चार लाख रूपैयाँका दरले तीन हजार जनाले बुकिङ रद्द गर्दा एक अर्ब २० करोड रूपैयाँको व्यवसाय बाढीले चौपट भएको हो । कैलाश टुर अपरेटर्सले हालसम्म ७० प्रतिशत पर्यटकले बुकिङ रद्द गरिसकेको जनाएको छ । व्यवसायीहरूले पर्यटकलाई हरेक वर्ष मेदेखि सेप्टेम्बरसम्म मानसरोवर र कैलाश लाने गरेकामा अगस्ट र सेप्टेम्बर पिक सिजन हो ।

ट्रेकिङ एजेन्सिज एसोसिसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डेले पनि मानसरोवर र कैलाश पर्वत यात्रा गराउने आफूहरूको व्यवसाय भोटेकोशीको बाढीले सखाप भएको बताए । उनका अनुसार बुकिङ रद्दपछि दुई दर्जनभन्दा बढी ट्राभल एजेन्सी कामविहीन भएका छन्, भने सयौँको रोजगारी गुमेको छ । ट्राभल एजेन्सीले आन्तरिक तथा विदेशी पर्यटकलाई २० जनाको समूहमा पठाउँदा त्यसमा चालक, सहचालक, कुक लगायत गरी कम्तिमा पाँच जनाले काम पाउँथे । पर्यटकलाई सघाउनका लागि ट्राभल एजेन्सीले कर्मचारी खटाउने गरेका थिए । यस्तै रसुवा नाका बाढीले पूरै बगरमा परिणत भएकोले चीनले बाटो जोखिमपूर्ण रहेको भन्दै तातोपानी नाका पनि भदौ १४ गतेदेखि बन्द गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ असोज ५ गते सोमबार