त्रिवेणीका साढे तीन हजार घरको निःशुल्क बीमा



सल्यान ।

त्रिवेणी गाउँपालिकाले पालिकाभित्रका तीन हजार ५०० आवासीय घरको निःशुल्क बीमा गरेको छ । विपद् आएपछि राहत र क्षतिपूर्तिको पर्खाइमा बस्नुपर्ने अवस्थालाई न्यूनीकरण गर्ने उद्देश्यसहित घर बीमा गरिएको हो ।बाढी, पहिरो, भूकम्प, भूक्षय, आगलागी र चट्याङजस्ता विपद्का कारण घरमा क्षति पुगेपछि नागरिकले व्यहोर्नुपर्ने ठूलो आर्थिक जोखिम घटाउने लक्ष्यसहित गाउँपालिकाले घर बीमा कार्यक्रम अघि बढाएको छ ।यसका लागि गाउँपालिकाले नेको इन्स्योरेन्सको सल्यान शाखासँग सम्झौता गरेको छ ।

शुक्रबार गाउँपालिका अध्यक्ष खिमबहादुर रावत, प्रमुख प्रशासकीय अधिकृत खुमबहादुर केसी, योजना शाखा प्रमुख तिलक रावल तथा नेको इन्स्योरेन्सका शाखा प्रमुख नारायण दाहालले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।सम्झौताअनुसार बीमा कार्यक्रम २०८४ असार मसान्तसम्म सञ्चालन हुनेछ । कार्यक्रमअन्तर्गत त्रिवेणी गाउँपालिकाभित्र रहेका कच्ची तथा पक्की दुवै प्रकारका आवासीय घर समेटिनेछन् । गाउँपालिकाले सबै घरको बीमांक रकम एउटै दरमा निर्धारण नगरी प्राविधिक मूल्यांकनका आधारमा तय गर्ने जनाएको छ ।

‘बाढी वा पहिरोले घरमा क्षति पु¥याउँदा घरधनीले तत्कालै मर्मत वा पुनर्निर्माणका लागि ठूलो रकम जुटाउनुपर्ने अवस्था आउन सक्छ’ अध्यक्ष रावतले भने, ‘कमजोर आर्थिक अवस्था भएका परिवारका लागि यस्तो क्षति घरको भौतिक संरचनामा मात्र सीमित नरही दीर्घकालीन आर्थिक संकटको कारण बन्न सक्छ, त्यसैले बीमाको अवधारणा ल्याइएको हो ।’ यही जोखिमलाई सम्बोधन गर्न विपन्न परिवारका घरको बीमा गाउँपालिकाले आफ्नै खर्चमा गरिदिने योजना बनाएको अध्यक्ष रावतले बताए । विपन्न नागरिकलाई बीमाको पहुँचमा ल्याउने र विपद्का कारण घरमा क्षति हुँदा उनीहरूले ठूलो आर्थिक भार व्यहोर्न नपर्ने वातावरण बनाउने उनको भनाइ छ ।

उनका अनुसार बीमालाई राहतको वैकल्पिक माध्यमका रूपमा नभई विपद् जोखिम न्यूनीकरणको दीर्घकालीन उपायका रूपमा अघि बढाउन खोजिएको हो ।घरको संरचना, अवस्था र निर्माण लागतलाई आधार बनाएर प्राविधिक मूल्यांकनपछि बीमांक रकम निर्धारण गरिनेछ । गाउँपालिकाले सुरुमा घरधुरीको विवरण संकलन गर्नेछ । त्यसपछि प्राविधिक टोलीमार्फत सम्बन्धित घरको विस्तृत लागत मूल्यांकन गरिने र सोही आधारमा बीमांक रकम निर्धारण गरेर बीमा प्रक्रिया अघि बढाइनेछ । यसले बीमा कार्यक्रम कार्यान्वयनमा घरको वास्तविक अवस्थालाई आधार बनाउने गाउँपालिकाको योजना छ ।अध्यक्ष रावतका अनुसार बीमा गर्नुअघि प्रत्येक घरको अवस्थाअनुसार आवश्यक प्राविधिक प्रक्रिया पूरा गरिनेछ ।

नेको इन्स्योरेन्ससँग गरिएको सम्झौताअनुसार बीमा योजनाले विभिन्न प्राकृतिक तथा मानवीय कारणबाट घरमा हुने क्षतिलाई समेट्नेछ । कार्यक्रममा बाढी, पहिरो, भूक्षय, भूकम्प, चट्याङ र आगलागीलगायत विपद्बाट आवासीय घरमा हुने क्षतिको जोखिम समेटिनेछ ।नेको इन्स्योरेन्स सल्यान शाखाका प्रमुख नारायण दाहालले गाउँपालिकासँग समन्वय गरेर घरधुरीको विवरण संकलनदेखि बीमा प्रक्रिया अघि बढाइने बताए । उनका अनुसार कार्यक्रम कार्यान्वयनका क्रममा गाउँपालिका र बीमा कम्पनीबीच आवश्यक समन्वय गरिनेछ । त्रिवेणी गाउँपालिकाको यो कार्यक्रमसँगै सल्यानमा आवासीय घरको निःशुल्क बीमा गर्ने स्थानीय तहको सङ्ख्या दुई पुगेको छ । यसअघि शारदा नगरपालिकाले पनि आवासीय घरको निःशुल्क बीमा कार्यक्रम सञ्चालन गरेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८३ असोज ५ गते सोमबार