काठमाडौँ ।
रूकुम पश्चिमको आठबिसकोट नगरपालिकामा निर्माण हुने २२.५० मेगावाट क्षमताको जल्दीगाड जलविद्युत् आयोजनाका लागि ४ अर्ब ६० करोड रूपैयाँँ लगानी जुटेको छ । सांग्रिला हाइड्रोपावर प्रालिले प्रवर्धन गर्ने आयोजनामा राष्ट्रिय वाणिज्य बैंकको नेतृत्वमा नेपाल बैंक र नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले संयुक्त रूपमा ३ अर्ब ३६ करोड रूपैयाँँ ऋण लगानी गर्ने भएका छन् ।बाँकी १ अर्ब २३ करोड ७१ लाख रूपैयाँँ प्रवर्धकहरूको इक्विटी लगानी रहनेछ । जल्दीगाड नदीमा निर्माण हुने आयोजनाबाट वार्षिक १३३.४५ गिगावाट घण्टा विद्युत् उत्पादन हुने अनुमान गरिएको छ । आयोजनाको निर्माण अवधि ३३ महिना तोकिएको छ ।
आयोजनाका लागि आवश्यक जग्गा खरिदलगायत अधिकांश पूर्वतयारीका काम सम्पन्न भइसकेकाले वित्तीय व्यवस्थापन सम्पन्न भएसँगै निर्माण कार्यलाई तीव्रता दिइने प्रबन्ध सञ्चालक कृष्णप्रसाद घिमिरेले बताए ।जल्दीगाड आयोजना प्रवर्धन गर्ने समूहले यसअघि गोरखामा ४.५५ मेगावाट क्षमताको विकास हाइड्रोपावर आयोजना निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ । उक्त आयोजना निर्धारित समयभन्दा करिब ६ महिनाअगावै सम्पन्न भएको र कम्पनी आईपीओमा समेत सूचीकृत रहेको छ ।त्यस्तै, यही समूहले गोरखामा ४.६ मेगावाट क्षमताको बूढीगण्डकी हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनालाई आगामी ६ महिनाभित्र विद्युत् उत्पादनमा ल्याउने तयारी गरिएको कम्पनीले जनाएको छ ।
सांग्रिला हाइड्रोपावरका अध्यक्ष खगेन्द्र न्यौपानेले वित्तीय व्यवस्थापन सम्पन्न भएसँगै आयोजना निर्माणका लागि थप उत्साह र ऊर्जा मिलेको बताए । उनले यसअघि पनि यही समूहले आयोजना निर्धारित समयभन्दाअगावै सम्पन्न गरी पुरस्कृत भएको स्मरण गर्दै जल्दीगाड आयोजना पनि तोकिएको समयमै सम्पन्न गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे । आयोजनाको वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौतामा सांग्रिला हाइड्रोपावरका अध्यक्ष खगेन्द्र न्यौपाने र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले हस्ताक्षर गरेका छन् । सम्झौता कार्यक्रममा नेपाल बैंक र निफ्राका प्रतिनिधिहरूको समेत उपस्थिति थियो ।









प्रतिक्रिया दिनुहोस्