कैलाली ।
सिटिजन्स बैंक इन्टरनेसनलले कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको डायलासिस युनिटलाई रिभर्स ओस्मोसिस प्रणाली उपलब्ध गराएको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले उक्त सहयोग गरेको हो ।यो सहयोगले सुदूरपश्चिम प्रदेशभरका मिर्गौला रोगी बिरामीलाई प्रदान गरिने डायलासिस सेवालाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ । अस्पतालको डायलासिस युनिटले हाल २१ डायलासिस मेसिनमार्फत तीन सिफ्टमा करिब २४२ नियमित बिरामीलाई सेवा प्रदान गरिरहेको छ ।
सेती प्रादेशिक अस्पतालमा आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोगस्वरूप उक्त प्रणाली हस्तान्तरण गरे । त्यसक्रममा उनले सुदूरपश्चिमका मिर्गौला रोगीहरूको सेवामा सहयोग गर्न पाउँदा आफूलाई धेरै खुसी लागेको बताए ।सेती प्रादेशिक अस्पताल र त्यहाँ उपचाररत बिरामीहरूको स्वास्थ्य सुधारको कामना गर्दै उनले यस्तो सहयोगले विशेष गरी न्यून आय भएका र विपन्न समुदायका मिर्गौला रोगीहरूलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गरे ।









प्रतिक्रिया दिनुहोस्