असोज ८ गतेदेखि भारी वर्षा गराउन सक्ने प्रणाली बन्दै



नेपालगन्ज ।

असोज ८ गतेदेखि १२ गतेसम्म देशमा भारी वर्षा हुनसक्ने गरी मौसमी प्रणाली विकसित भइरहेको मौसमविद्हरूले बताएका छन् । मौसम पूर्वानुमानका विभिन्न मोडलहरू अध्ययन पश्चात पूर्वी नेपालदेखि सुदूरपश्चिमसम्मै आगामी बिहीबारदेखि सोमबारसम्म अति भारी वर्षा हुने प्रक्षेपण गरिएको मौसमविद् विनोद पोखरेलले बताए ।जल तथा मौसम विज्ञान विभागले पनि बङ्गालको खाडीको पूर्वी भूभाग तथा उत्तर अमान सागर आसपासको क्षेत्रमा विकसित भएको न्यून चापीय प्रणाली थप शक्तिशाली बन्दै पश्चिम–उत्तरपश्चिम तर्फ सरिरहेको जनाएको छ ।

मौसम विश्लेषण र उपग्रहबाट प्राप्त तस्बिरहरूका अनुसार, यो प्रणाली आगामी असोज ७ गतेको आसपास न्यून चापीय क्षेत्रको रूपमा अझ बढी विकसित भई दक्षिण ओडिसा र उत्तर आन्ध्र प्रदेशको तटीय क्षेत्र नजिकबाट जमिनतर्फ प्रवेश गर्ने देखिएको विभागले जनाएको छ ।विभागले यस प्रणालीका कारण नेपालमा वर्षा हुने सम्भावना रहे पनि वर्षाको जोखिमको स्तर र यसले पार्न सक्ने सम्भावित असरबारे अहिले नै यकिन गरिहाल्न सकिने अवस्था नरहेको स्पष्ट पारेको छ ।

मौसम विज्ञान विभागले यस प्रणालीको गतिविधिको निरन्तर अनुगमन गरिरहेको जनाएको छ । आवश्यकता अनुसार थप सूचनाहरू अद्यावधिक गर्दै लगिने भएकाले मौसम सम्बन्धी आधिकारिक र नवीनतम जानकारीका लागि विभागको आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालहरू मात्र प्रयोग गर्न सबैमा अनुरोध गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ असोज ५ गते सोमबार