धनगढी ।
कैलालीमा ५८ जना उम्मेदवारको जमानत जफत भएको छ । पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमा ७५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका थिए । फागुन २१ गते भएको निर्वाचनमा १७ जना मात्र आफनो जमानत जोगाउन सफल भएका छन् । कानुनअनुसार उम्मेदवारले कूल सदर मतको निश्चित प्रतिशत (सामान्यतया १० प्रतिशतभन्दा कम) मत प्राप्त गरेमा जमानत जफत हुन्छ ।
उम्मेदवारले कूल सदर मतको १० प्रतिशतभन्दा कम मत पाएमा उसको जमानत रकम राज्यकोषमा जफत हुन्छ । गम्भीर उम्मेदवार मात्र चुनावमा उठून् भन्ने सुनिश्चित गर्नु, अनावश्यक वा औपचारिक उम्मेदवारी कम गर्नु, निर्वाचन प्रक्रियालाई व्यवस्थित र प्रभावकारी बनाउनु लगायतका कारण यो व्यवस्था गरिएको हो ।
तर, कैलालीका अधिकांश उम्मेदवारले कूल सदर मतको एक प्रतिशत पनि पु¥याउन नसकेको निर्वाचन आयोग कैलालीले जनाएको छ ।कैलाली क्षेत्र नम्बर १ मा १८ जना उम्मेदवार रहेकोमा १५ जनाको जमानत जफत भएको थियो । यहाँ सबैभन्दा कम मत ल्याउनेमा स्वतन्त्रबाट उम्मेदवारी दिएका अरुण ठकुल्ला रहेका थिए । उनले कूल सदर मतमा २४ मत प्राप्त गरेका थिए भने स्वतन्त्रकै उम्मेदवार २८ वर्षिय तपेन्द्र शाहले २७ मत प्राप्त गरेका थिए ।
यहाँ ५४ हजार दुई सय १९ मत सदर रहेको थियो । कैलाली क्षेत्र नम्बर २ मा १५ जना उम्मेदवार रहेकोमा ११ जनाको जमानत जफत भएको छ । यहाँ नेपाली कम्युनिष्ट पार्टीका नन्दबहादुर साउदले चार हजार ६२ मत प्राप्त गरेका थिए । जुन कूल सदर मतको तुलनामा आठ दशमलव आठ प्रतिशत हो । यस निर्वाचन क्षेत्रमा ४५ हजार सात सय दुई मत सदर भएको थियो ।
जसमा सबैभन्दा कम मत ल्याउनेमा मितेरी नेपाल पार्टीकी उम्मेदवार सम्झना विष्ट थापा रहेकी छिन । उनले कूल सदर मतमा दुई मत पाएकी थिइन् । यस निर्वाचन क्षेत्रमा दुई जनाबाहेक नौजना उम्मेदवारले कूल सदर मतको एक प्रतिशत पनि पु¥याउन सकेनन् । कैलाली क्षेत्र नम्बर ३ मा ११ जना उम्मेदवार रहेकोमा सात जनाको जमानत जफत भएको छ ।
नेकपा एमालेका उम्मेदवार गौरिशंकर थारुले चार हजार सात सय ५२ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार वीरेन्द्रबहादुर बमले दुई हजार तीन सय ४७ मत प्राप्त गरेका छन् । यहाँ ५६ हजार चार सय ४३ मत सदर भएको थियो । यस क्षेत्रमा सबैभन्दा कम मत मितेरी नेपाल पार्टीकी उम्मेदवार सुशीला थापा (मगर)ले २३ मत प्राप्त गरेकी थिइन् । यहाँ थारु र बमबाहेक अन्य उम्मेदवारले कूल सदर मतमा एक प्रतिशत पु¥याउन सकेनन् ।
कैलाली क्षेत्र नम्बर ४ मा १६ जना उम्मेदवार रहेकोमा १३ जनाको जमानत जफत भएको छ । यस क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार हरिराम चौधरीले पाँच हजार छ सय नौ र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कमल रजवारले एक हजार तीन सय ५८ मत प्राप्त गरेका थिए भने नागरिक उन्मुक्ति पार्टी नेपालका उम्मेदवार धनबहादुर सुनारले छ सय ७५ मत ल्याएका थिए ।
यस क्षेत्रमा कूल सदर मत ५८ हजार दुई सय ८३ रहेको थियो । यहाँ सबैभन्दा कम मत मितेरी पार्टी नेपालका उम्मेदवार दिनेशकुमार मल्लले ल्याएका छन् । उनले ११ मत मात्र प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । कैलाली क्षेत्र नम्बर ५ मा १५ जना उम्मेदवार रहेकोमा १२ जनाको जमानत जफत भएको छ । यस निर्वाचन क्षेत्रमा कूल सदर मत ६२ हजार एक सय ४७ रहेको छ ।
जसमा नेकपा एमालेका उम्मेदवार यज्ञराज ढुङ्गानाले पाँच हजार आठ सय ३९ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रोशन शाहीले एक हजार पाँच सय ९२ र स्वतन्त्र उम्मेदवार प्यारेलाल रानाले एक हजार सात सय ५५ मत प्राप्त गरेका छन् । यस निर्वाचन क्षेत्रमा सबैभन्दा कम मितेरी पार्टी नेपालका उम्मेदवार राधिकाकुमारी कार्कीले तीन मत पाएकी छिन् । यस क्षेत्रमा पनि अन्य उम्मेदवारले एक प्रतिशत पनि मत पुगाउन नसकेको निर्वाचन आयोगले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्