वीरेन्द्र जैसी । नेपालगन्ज ।
लुम्बिनी प्रदेशका १२ जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ २६ वटा निर्वाचन क्षेत्रहरु छन् । यसपटक देशभरजस्तै लुम्बिनी प्रदेशमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को लहरले काम गरेको छ । यस प्रदेशका २६ वटा सिटमध्ये २१ सिटमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरु निर्वाचित भएका छन् । जुन कूल संख्याको ८० प्रतिशत हुन आउँछ ।
बाँकी ६ सिटमध्ये दुई–दुई वटा सिटमा काँग्रेस र नेकपाका उम्मेदवार निर्वाचित भएका छन् भने नेकपा एमालेका एकजना उम्मेदवार मात्रै निर्वाचित भएका छन् । बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित मोहम्मद इश्तियाक राई एमालेबाट निर्वाचित हुने लुम्बिनी प्रदेशभर एकमात्र उम्मेदवार हुन् । प्रदेशका १२ जिल्ल्लामध्ये सातवटा जिल्लामा रास्वपाले एकलौटी जित निकालेको छ ।
रास्वपाको एकल जित भएका जिल्लाहरुमा गुल्मी, अर्घाखाँची, रुपन्देही, प्युठान, दाङ, बर्दिया र नवलपरासी पश्चिम रहेका छन् । लुम्बिनी प्रदेशबाट निर्वाचित भएका २६ जनामध्ये ११ जना ४० वर्षमुनिका छन् भने रुपन्देही २ बाट निर्वाचित रास्वपाका २८ वर्षीय सुलभ खरेल जेनजी उमेर समूहका प्रतिनिधिसभा सदस्य बनेका छन् । प्रदेशमा रहेका ४८ महिला उम्मेदवारमध्ये कोही पनि निर्वाचित भएनन् ।
लुम्बनी प्रदेशको गुल्मी जिल्लाको क्षेत्र नम्बर २ बाट रास्वपाका सागर ढकाल निर्वाचित भए भने गुल्मी २ मा रास्वपाकै गोविन्द पन्थी निर्वाचित भए । पाल्पा–१ बाट काँग्रेसका सन्दिप राना निर्वाचित हुँदा पाल्पा–२ बाट रास्वपाका माधवबहादुर थापा निर्वाचित भएका छन् । यसैगरी निर्वाचित रास्वपका उम्मेदवारहरुमध्ये अर्घाखाँची–१ बाट हरिप्रसाद भुसाल, रुपन्देही–१ बाट सुनिल लम्साल, रुपन्देही–२ बाट सुलभ खरेल, रुपन्देही–३ बाट डा. लेखजंग थापा, रुपन्देही–४ बाट कन्हैया बनिया, रुपन्देही–५ बाट तौफिक अहमद खान रहेका छन् ।
यसैगरी कपिलवस्तु–१ र २ बाट क्रमशः रास्वपाका मोहनलाल आचार्य र विक्रम थापा निर्वाचित हुँदा कपिलवस्तु ३ बाट काँग्रेसका अभिशेषप्रताप शाह निर्वाचित भए । यसैगरी प्युठानबाट रास्वपाका सुशान्त वैदिक र दाङका तीनवटै क्षेत्रबाट पनि क्रमशः रास्वपाका देवराज पाठक, विपिनकुमार आचार्य र कमल सुबेदी निर्वाचित भए ।
बाँकेको क्षेत्र नम्बर १ बाट रास्वपाका सुरेशकुमार चौधरी र ३ बाट खगेन्द्र सुनार निर्वाचित हुँदा क्षेत्र नम्बर २ मा भने एमालेका मो. इश्तियाक राई निर्वाचित भए । रास्वपाको एकलौटी जित भएको बर्दिया बर्दिया– १ बाट ठाकुरसिंह थारु र २ बाट श्रीधर पोखरेल निर्वाचित भएका छन् ।
रुकुम पूर्वबाट नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित भए भने रोल्पाबाट पनि नेकपाकै वर्षमान पुन निर्वाचित भएका छन् । यसैगरी नवलपरासी पश्चिमको क्षेत्र नम्बर १ मा रास्वपाकै विक्रम खनाल र नवलपरासी पश्चिम–२ मा पनि रास्वपाकै नरेन्द्रकुमार गुप्ता निर्वाचित भएका छन् ।
लुम्बिनीका हेभिवेटहरुको शर्मनाक हार
लुम्बिनी प्रदेशमा २ दर्जनबढी पूर्वमन्त्री, पूर्वसांसद तथा पार्टीको केन्द्रीयस्तरको जिम्मेवार पदमा रहेका नेताहरु चुनावी प्रतिस्पर्धामा थिए । तीमध्ये तीनजनाले बाहेक अरु सबैले शर्मनाक हार व्यहोरेका छन् । लुम्बिनी प्रदेशबाट प्रतिस्पर्धामा रहेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वअर्थमन्त्री वर्षमान पुन र पूर्वभौतिक पूर्वाधार तथा यातायात मन्त्री मो. इश्तियाक राईबाहेक पुराना दलका अरु सबैले हार व्यहोरेका हुन् ।
पूर्वप्रधानमन्त्री एवं नेपाली कम्पुनिष्ट पार्टी (नेकपा)का संयोजक प्रचण्डले चुनाव क्षेत्र परिवर्तन गर्दै यसपटक रुकुम पूर्व पुगेका थिए । जहाँ उनले १० हजार दुई सय ४० मत ल्याएर जिते । उनले निकटतम प्रतिस्पर्धी एमालेका लिलामणी गौतमलाई ६ हजार सात सय ७८ मतले पराजित गरेका छन् ।
शंकर पोखरेलको लगातार दोस्रो हार
दाङ क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका नेकपा एमालेका महासचिव एवं लुम्बिनी प्रदेशका पहिलो मुख्यमन्त्री शंकर पोखरेल यसपटक पनि हार व्यहोर्न बाध्य भएका छन् । २०७९ को निर्वाचनमा उक्त क्षेत्रमा माओवादी केन्द्रकी रेखा शर्मासँग एक सय ९३ मतले मात्रै पछि पारेर हारेका पोखरेल यसपटक २८ हजार दुई सय ७२ मतले हारेका छन् ।
२०७९ को निर्वाचनमा २७ हजार ७३ मत पाएका उनले यसपटक त्यसभन्दा बढी मतान्तरले हार्नुपरेको छ । पोखरेललाई हराएका रास्वपाका सहमहामन्त्री विनिकुमार आचार्यले ४३ हजार पाँच सय ५९ मत ल्याएका छन् भने पोखरेलले १५ हजार दुई सय ८७ मत ल्याएका छन् ।
विष्णु पौडेलको शर्मनाक हार
नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णु पौडेल यसपटक ४३ हजार ६ सय ८९ मतान्तरसहित पराजित भएका छन् । ६६ वर्षीय पौडेल रास्वपाका उम्मेदवार २८ वर्षीय सुलभ खरेलसँग पराजित भएका हुन् । खरेलले ५६ हजार पाँच सय ५० मत ल्याएर जित्दा पौडेलले १२ हजार ८ सय ६१ मतमात्रै पाए । २०६४ यता लगातार चुनाव जित्दै आएका पौडेल यसपटक अघिल्लोपटक पाएको भन्दा दोब्बरभन्दा बढी मत घटाउन पुगे । २०७९ को निर्वाचनमा पौडेलले २७ हजार एक सय ४८ मत पाएका थिए ।
सागर ढकालका सामु तीन हेभिवेट पराजित
गुल्मी क्षेत्र नम्बर १ मा तीन ठूला दलका हेभिवेट र पूर्वमन्त्रीहरु रास्वपाका सागर ढकालसामु पराजित भएका छन् । त्यहाँ एमालेका नेता पूर्वपराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र नेपाली काँग्रेसका नेता चन्द्र भण्डारी उम्मेदवार थिए भने नेकपाबाट संविधानसभा सदस्य तथा लुम्बिनी प्रदेशका पूर्वसामाजिक विकासमन्त्री सुदर्शन बराल उम्मेदवार थिए । तर ती सबैलाई पराजित गर्दै ढकाल फराकिलो मतान्तरसहित निर्वाचित भएका छन् । ढकालले २९ हजार ६ सय ४२ मत ल्याएर जित्दा ज्ञवालीले १५ हजार एक सय ८१, भण्डारीले १३ हजार पाँच सय पाँच र बरालले तीन हजार एक सय ६७ मतमात्रै पाए ।
२०७४ मा ज्ञवालीले साढे सात हजार मत अन्तरसहित ३७ हजार ८ सय १४ मत ल्याएर भण्डारीलाई पराजित गरेका थिए । त्यसबेला दुई ठूला कम्युनिष्ट पार्टीहरु एक ठाउँमा थिए । २०७९ मा माओवादीसँगै मिलेर नेपाली काँग्रेसका भण्डारीले ज्ञवालीलाई एक हजार ६ सय बढी मतान्तरसहित ३३ हजार सात ४४ मत ल्याएर जितेका थिए ।
लगातार जितमा वर्षमान पुन
२०६४ यता लगातार रोल्पाबाट निर्वाचित हुँदै आएका पूर्वअर्थमन्त्री एवं नेकपाका नेता वर्षमान पुनले यसपटक पनि जित जिनकालेका छन् । ५४ वर्षीय पुनले अर्थशास्त्रमा पिएचडी गरेका काँग्रेसका ३४ वर्षीय युवा सुदनकुमार ओलीलाई फराकिलो अन्तरले पराजित गर्दै २७ हजार चार सय ६० मत ल्याएर जितेका छन् ।
ओलीले १२ हजार ८ मत पाएका छन् भने सोही क्षेत्रबाट एमालेले उम्मेदवार बनाउका संविधानसभा सदस्य रहेका गोकुल घर्तीमगरले चौथो स्थानमा रहँदै नौ हजार नौ सय ३३ मतमात्रै पाएर पराजय भोगे ।
गोकर्ण विष्टको संसद् यात्रामा बे्रक
गुल्मी २ बाट २०५६ यता उम्मेदवारी दिएका सबै निर्वाचनमा जित्दै आएका एमालेका नेता तथा निवर्तमान सांसद गोकर्ण विष्ट पनि यसपटक पराजित भए । उनलाई रास्वपाका गोविन्द पन्थीले पाँच सय ६१ मतले पराजित गरे । पन्थीले १६ हजार नौ सय ६७ मत ल्याउँदा विस्टले १६ हजार चार सय ६ मत पाएका छन् ।
२०६८ सालमा ऊर्जामन्त्री र २०७४ सालमा श्रम तथा रोजगारमन्त्री रहेका विष्ट लगातार २०७४ र २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए भने २०७० सालमा संविधानसभा र २०५६ सालमा पनि निर्वाचित भएका थिए ।
पाल्पाका दुवै कम्युनिष्ट नेता पराजित
पाल्पा जिल्लामा दुईजना कम्युनिष्ट नेताले हार व्यहोरेका छन् । २०७९ मा विजयी प्रतिनिधिसभा सदस्य ठाकुरप्रसाद गैरे २०७४ का प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डेय यसपटक रास्वपाका माधवबहादुर थापासँग हारेका हुन् । एमालेका गैरे र हाल नेकपामा रहेका पाण्डेले चुनाव जितेको दल भने एमाले नै थियो ।
एमाले विभाजित हुँदा पाण्डे नेकपा एसतिर लागेका थिए । अहिले उनी नेकपामा छन् । यी दुई नेताबीच २०७९ को निर्वाचनमा पनि प्रतिस्पर्धा भएको थियो । जसमा गैरेले पाण्डेलाई पराजित गरेका थिए । यसपटक यी दुवै नेता रास्वपाका थापासँग पराजित भएका हुन् । २०७४ मा पाण्डेले काँग्रेसका हरिप्रसाद नेपाललाई १० हजार बढी मतान्तरसहित ३४ हजार आठ सय ९९ मत ल्याएर हराएका थिए । २०७९ मा काँग्रेस र माओवादीको समर्थनमा उम्मेदवार रहेका पाण्डेलाई गैरेले करिब चार हजार मतान्तरसहित २८ हजार ६ सय ४५ मत ल्याएर हराएका थिए ।
एमालेका थापा र काँग्रेसका पोखरेल ३१ वर्षीय युवासँग पराजित
एमालेका नेता र निवर्तमान प्रतिनिधिसभा सदस्य रहेका सूर्यबहादुर थापा र नेपाली काँग्रेसका नेता डा. गोविन्दराज पोखरेल यसपटक प्युठानबाट प्रतिस्पर्धी थिए । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र भूमकम्पपछिको राष्ट्रिय पुनर्निमाण प्राधिकरणमा सिइओ रहेका ५९ पोखरेल र एमाले चर्चित ५१ वर्षीय नेता थापा रास्वपाका ३१ वर्षीय युवा सुशान्त वैदिकसँग पराजित भएका हुन् ।
वैदिकले २७ हजार चार सय ६९ मत पाउँदा दोस्रो भएका पोखरेलले १८ हजार तीन सय ३८ र तेस्रो भएका थापाले १६ हजार सात सय १० मतमात्रै प्राप्त गरे । २०७९ को निर्वाचनमा थापाले १५ हजार मतान्तरसहित ४१ हजार एक सय १८ मत ल्याएर राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेललाई पारजित गरेका थिए ।
दीपक गिरीले पाउन सकेनन् निरन्तरता
२०७४ मा हार व्यहोरेका र २०७९ मा जित निकालेका पूर्वमन्त्री एवं नेपाली काँग्रेसका नेता दीपक गिरी यसपकट फेरि पराजित भएका छन् । ६३ वर्षीय गिरीलाई रास्वपाका ३८ वर्षीय उम्मेदवार कमल सुवेदीले ४४ हजार दुई सय ४८ मत ल्याएर जितेका हुन् । गिरीले सुवेदीको भन्दा २७ हजार सात सय ९५ कम मत पाए ।
२०७९ को निर्वाचनमा गिरीले एमालेकी कोमल वलीलाई सात हजार आठ सय बढी मतान्तरसहित ३६ हजार नौ सय ११ मत ल्याएर जित निकालेका थिए । त्यसबेला पनि उम्मेदवार रहेका रास्वपाका सुवेदीले १५ हजार तीन सय २६ मत ल्याएका थिए । २०७४ को निर्वाचनमा भने गिरीले ३३ हजार सात सय ३० मत ल्याउँदा एमालेका हिराचन्द केसीले ४० हजार दुई सय ८७ मत ल्याएर विजयी भएका थिए ।
हेभिवेटलाई नै पराजित गरेका गौतम यसपटक निरीह
बर्दिया १ बाट २०७४ मा एमालेका वामदेव गौतमलाई साढे सात सय मतान्तरसहित ४४ हजार ८ सय ३४ मत ल्याएर जितेका काँग्रेसका सञ्जय गौतम यसपटक निरीह भए । पूर्वमन्त्री एवं नेपाली काँग्रेसका नेता गौतम प्रतिनिधिसभा सदस्यमा ह्याट्रिक गर्ने मनसायसहित उम्मेदवार बनेका थिए । तर यसपटक उनलाई रास्वपाका उम्मेदवार र अघिल्लोपटक तेस्रो नम्बरमा रहेका ठाकुरसिंह थारुले जित्दा गौतम आफैँ तेस्रो नम्बरमा पुगे ।
थारुले ४९ हजार ६ सय ३१ मत पाएर जित्दा दोस्रो भएका एमालेका सालिकराम अधिकारीले १४ हजार ६ सय ४३ र गौतमले १२ हजार सात सय २२ मत मात्रै पाए । २०७९ को निर्वाचनमा गौतमले एमालेका लक्ष्मण ज्ञवालीलाई साढे चार हजार बढी मतान्तरसहित ३० हजार ६ सय ११ मत ल्याएर जित हासिल गरेका थिए । तर, त्यसबेला नागरिक उन्मुक्तिबाट उम्मेदवार रहेका थारुले २३ हजार नौ सय ९३ मत पाएका थिए ।
रहेन किशोरसिंह राठौरको रवाफ
अघिल्लोपटक बाँके क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य चुनिएका नेपाली काँग्रेसका निवर्तमान सहमहामन्त्री किशोरसिंह राठौर यसपटक बर्दिया क्षेत्र नम्बर २ मा उम्मेदवार बनेका थिए । रवाफी शैलीका राठौरलाई जहाँ गए पनि जित निकाल्ने नेता भनेर प्रचार गरिएकोमा यसपटक उनी रास्वपाका श्रीधर पोखरेलसँग नौ हजार दुई सय ७६ मतले पराजित भएका छन् । पोखरेलले २९ हजार ६ सय ७८ मत पाउँदा पोखरेलले जम्मा २० हजार चार सय २ मत मात्रै पाए ।
१० हजार पनि कटाउन नसकेका चौधरी र त्रिपाठी
उद्योगपति एवं नेपाली काँग्रेसका नेता विनोद चौधरी र उनले अघिल्लो निर्वाचनमा पराजित गरेका पुराना नेता हृदयश त्रिपाठीले यसपटक १० हजार मत पनि कटाउन सकेनन् । नवलपरासी (पश्चिम)–१ मै दोहोरिएर उम्मेदवार दुवैजना रास्वपाका विक्रम खनालसँग भारी मतान्तरले पराजित भएका हुन् । खनालले ४५ हजार दुई सय ४१ मत पाएर जित्दा दोस्रो भएका चौधरीले नौ हजार पाँच सय २ र चौथो भएका त्रिपाठीले सात हजार आठ सय ३२ मत मात्रै पाए ।
२०७९ को निर्वाचनमा चौधरीले करिब सात हजार दुई सय मतान्तरसहित २९ हजार पाँच सय २९ मत ल्याएर त्रिपाठीलाई पराजित गरेका थिए । अघिल्लोपटक जनता प्रगतिशिल पाटी नामको आफ्नै नेतृत्वको पार्टीबाट चुनाव लडेका त्रिपाठी यसपटक उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट उम्मेदवार बनेका थिए । २०७४ को निर्वाचनमा त्रिपाठीले ३८ हजार पाँच सय ९२ मतसहित काँग्रेसका देवकरणप्रसाद कलवारलाई करिब पाँच हजार अन्तरले हराएका थिए । अघिल्लोपटक १२ हजार मत पाएका रास्वपाका खनालले यसपटक मतमा भारी वृद्धि गरेका हुन् ।
जमानत जोगाउन नसकेका नेकपा नेता पौडेल र राप्रपाका प्रधान
२०७४ र २०७९ मा बाग्लुङ २ बाट निर्वाचन जितेका पूर्वमाओवादी हाल नेकपाका नेता देवेन्द्र पौडेलले यसपटक जमानत पनि जोगाउन सकेनन्। नवलपरासी (पश्चिम) २ मा उम्मेदवार रहेका पौडेल सातौँ नम्बरमा रहँदै जम्मा एक हजार ८ सय ३८ मत मात्रै पाए । उक्त क्षेत्रबाट रास्वपाका नरेन्द्रकुमार गुप्ताले ४४ हजार एक सय ३८ मत ल्याएर निर्वाचित भएका छन् ।
यसैगरी २०७९ मा सोही क्षेत्रबाट विजयी भएका पूर्वमन्त्री एवं राप्रपाका नेता ध्रुवबहादुर प्रधानले पनि जमानत जोगाउन सकेनन् । चौथो स्थानमा रहेका प्रधानले जम्मा चार हजार ६ सय ९१ मत मात्रै पाएका छन् । २०७९ को निर्वाचनमा उक्त क्षेत्रबाट प्रधानले नेपाली काँग्रेस माओवादीका साझा उम्मेदवार देवेन्द्रराज कँडेललाई १५ हजारबढी मतान्तरसहित हराएका थिए ।








प्रतिक्रिया दिनुहोस्