सापकोटाको अप्रत्याशित जित,राजनीतिक वृत्तमा नयाँ सन्देश



वीरेन्द्रनगर ।

सुर्खेत क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रमेशकुमार सापकोटाले अप्रत्याशित र ऐतिहासिक जित हासिल गरेका छन्।
पहिलोपटक प्रतिनिधिसभा निर्वाचन लडेका उनले नेपाली काँग्रेस र नेकपा एमालेका बलिया उम्मेदवारलाई भारी मतान्तरले पराजित गर्दै राजनीतिक वृत्तमा नयाँ सन्देश दिएका छन् ।

निर्वाचन परिणामअनुसार सापकोटाले ३० हजार ८२६ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नारायणकुमार कोइराला (नेपाली काँग्रेस)ले १६ हजार ३९२ मत ल्याए भने कुलमणि देवकोटा (नेकपा एमाले)ले १३ हजार १५५ मतमा सीमित भए । कर्णाली प्रदेशका १२ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये रास्वपाबाट निर्वाचित हुने सापकोटा एकमात्र उम्मेदवार बनेका छन् ।

सल्यानबाहेक अन्य क्षेत्रमा रास्वपा दोस्रो स्थानमा समेत आउन सकेन । प्रत्यक्षतर्फ चुनाव जितेर कर्णालीबाट प्रतिनिधिसभा प्रवेश गर्ने रास्वपाका उनी पहिलो व्यक्ति हुन् । सापकोटा रास्वपा सुर्खेत जिल्ला सभापतिसमेत हुन् । सुर्खेतलाई लामो समयदेखि नेपाली काँग्रेस र नेकपा एमालेको बलियो किल्ला मानिँदै आएको छ ।

यही जिल्लाबाट काँग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टीको कार्यवाहक सभापति हुँदै संघीय सरकारका विभिन्न मन्त्रालयको नेतृत्व गरिसकेका छन् । त्यस्तै हृदयराम थानी र शिवराज जोशी जस्ता प्रभावशाली नेताहरू पनि संघीय मन्त्री बनिसकेका छन् । यता एमालेतर्फ यामलाल कँडेल हाल पार्टीका केन्द्रीय सचिव तथा कर्णाली प्रदेशका मुख्यमन्त्री छन् भने नवराज रावत स्वास्थ्य राज्यमन्त्रीसम्म बनिसकेका छन्।

सुर्खेतका दुई प्रतिनिधिसभा क्षेत्रमा २०४८ सालदेखि काँग्रेस र एमालेबीच नै मुख्य प्रतिस्पर्धा हुँदै आएको थियो । कहिले एमालेले त कहिले काँग्रेसले चुनाव जित्ने क्रम चलिरह्यो । सशस्त्र युद्धपछि उदाएको नेकपा माओवादी केन्द्र हालको नेकपा यहाँ तुलनात्मक रूपमा कमजोर देखिँदै आएको छ । २०६४ सालको संविधानसभा निर्वाचनमा तीन निर्वाचन क्षेत्र हुँदा एउटा सिट जिते पनि त्यसपछि नेकपाले उल्लेख्य सफलता पाउन सकेको छैन ।

तर यसपटकको प्रतिनिधिसभा निर्वाचनमा यी स्थापित दलहरूलाई चकित पार्दै रास्वपाको उदय भएको छ । सुर्खेत क्षेत्र नम्बर २ बाट सापकोटाले अत्यधिक मतान्तरका साथ जित निकाल्दा पुराना दलहरूको प्रभावलाई चुनौती दिएको विश्लेषण गरिएको छ । दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको सुर्खेत–२ राजनीतिक हिसाबले महत्वपूर्ण मानिन्छ ।

यस क्षेत्रमा प्रदेश राजधानी वीरेन्द्रनगरसँगै पञ्चपुरी नगरपालिका, बराहताल गाउँपालिका र चौकुने गाउँपालिका पर्छन् । प्रदेश राजधानी वीरेन्द्रनगर र पश्चिम क्षेत्र दुई फरक जीवनशैली र अवस्थाका नागरिक रहेको ठाउँ हो । यस क्षेत्रमा नयाँ दललाई मतदाताले अनुमोदन गर्लान् भन्ने काँग्रेस र एमालेले कल्पना पनि गरेका थिएनन् ।

वडादेखि केन्द्रसम्म यी दुई दलका प्रतिनिधिहरूको बाहुल्यता रहेको क्षेत्रमा सापकोटाको जितले राजनीतिक वृत्तमा व्यापक चर्चा सुरु भएको छ। यही क्षेत्रबाट एमालेले मुख्यमन्त्री पाएको छ भने वीरेन्द्रनगर नगरपालिकाको प्रमुख र उपप्रमुख पनि एमालेकै छन् । त्यसैले चुनावअघि काँग्रेस र एमाले दुवैले सापकोटालाई मुख्य प्रतिस्पर्धीका रूपमा समेत नठानेको बताइन्छ । तर अन्तिम परिणामले सुर्खेतको राजनीतिक समीकरणमा नयाँ सन्देश दिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन २५ गते सोमबार