शेरबहादुर ऐर । कैलाली ।
कैलालीमा पाँचवटा निर्वाचन क्षेत्र रहेको छ । तर, बिहीबार प्रतिनिधिसभा निर्वाचनको रौनकता, उत्साह देखिन सकिएन । फागुन २१ गते भएको निर्वाचनमा निर्वाचन व्यवस्थापन फितलो झैँ देखियो । कैलालीमा कूल मतदाताको ५५ दशमलब चार प्रतिशत मात्र मतदाता सहभागिता भए ।
विगतका निर्वाचनको तुलनामा यस निर्वाचनमा केही मतदाताहरूले बहिष्कार अभियाननै जारी गरेका थिए भने केही मतदाताहरू रोजगारीका लागि बाहिर रहेका कारण सहभागी हुन सकेनन् ।
मतदानस्थलहरूमा ज्येष्ठ नागरिक, राजनीतिक दलका सक्रिय नेता तथा केही युवायुवती र महिलाहरूको सहभागिता देखिन्थ्यो । तर, विगतका जसरी युवा सहभागिता यस निर्वाचनमा उत्साह थिएन । ज्येष्ठ नागरिक पनि असहज यातायात पहुँचका कारण मतदानस्थलमा देखिएनन् ।
सबैभन्दा बढी मतदाता रहेको कैलाली क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा निर्वाचनमा ५८ प्रतिशत मत खसेको छ । एक लाख १० हजार पाँच सय ४९ मतदाता रहेको यो क्षेत्रमा ६४ हजार एक सय पाँच मत खसेको जनाइएको हो ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १ का मतदाता राम शर्मा भन्छन्, ‘ज्येष्ठ नागरिकहरू सवारी यातायाताको व्यवस्था नहुँदा मतदानस्थल पुग्न सकेका छैनन् । युवाहरू न्यून रहेका छन् । अहिले रोजगारीको मौसम हो । धेरै युवा भारतमा रहेका छन् । तर, होली लगायतका पर्व मनाउन आएका युवाहरू मतदानमा भाग लिएका छन् ।’ मतदान केन्द्र प्रवेश गर्दा फरक दृश्य थियो– ‘मतदान गर्न आएका युवायुवती तथा २०६४ सालमा मतदान गरेका व्यक्तिहरूको मतदाता परिचयपत्र पनि थिएन भने मतदाता नामावलीमा पनि नाम थिएन ।’
धनगढी १ को मतदानस्थल त्रिनगर माध्यामिक विद्यालयमा पुगेकी संगीता श्रेष्ठले २०७९ को निर्वाचनमा मतदान गरेकी थिइन् । तर, बाहिर आफनो मतदाता नामावलीमा नाम रहेको–नरहेकोबारे लिष्ट हेर्दा नाम भेटिनन् । उनी मतदान गर्न इच्छुक थिइन तर, नामावलीमा नाम नहुँदा मतदान नगरि फर्कन बाध्य थिइन् ।
उनीमात्र नभई २०७९ सालको निर्वाचनमा मतदान गरेका मतदाताहरू मतदान नगरि फर्कन बाध्य भए । उनीहरू भनिरहेका थिए– ‘मैले २०७९ सालको निर्वाचनमा मतदान गरेको थिएँ । अहिले किन नाम समावेश भएन ।’ उनको नामावली निर्वाचन कार्यालयको आधिकारिक अनलाइन पोर्टलमा खोज्दा समेत भेटिएन । तर, उनले आफूले मतदान गर्न पाउनुपर्ने दाबी गरिरहेकी थिइन् ।
मतदाता नामावलीमा नाम समावेशमात्र नभई थुप्रै मतदाताहरू आफ्नो निर्वाचन आयोगले प्रदान गर्ने परिचय पत्र र नागरिकता घरभन्दा टाढा क्षेत्र राखेका कारण पनि मतदान गर्न सकेनन् । काठमाडौँबाट फर्केका सिता विसीले काठमाडौँमा नागरिकता भुल्दा यहाँ मतदान गर्न पाइनन् । उनले भनिन्, ‘मतदाता नामावलीमा नाम समावेश छ । तर, मैले नागरिकता र मतदाता परिचयपत्र काठमाडौँमै भुलेँ । मोबाइल मतदान केन्द्रमा प्रतिबन्ध छ । नागरिकताको फोटोकपी गरेर देखाउँदा पनि अन्य दलले आपत्ती जनाउँदा मतदान गर्न पाइनँ ।’
यस्तै, कैलाली क्षेत्र नम्बर १ मा ५४ प्रतिशत मत खसेको छ । यो निर्वाचन क्षेत्रमा ५९ हजार ६१ मत खसेको जनाइएको छ । यहाँ एक लाख आठ हजार चार सय ९१ मतदाता रहेका छन् । कैलाली क्षेत्र नम्बर २ मा एक लाख सात हजार सात सय ५७ मतदाता रहेकोमा ५६ हजार सात सय ७० (५२.७ प्रतिशत) मत खसेको छ ।
कैलाली क्षेत्र नम्बर ३ मा ६० हजार दुई सय ९४ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । यहाँ कूल मतदाता एक लाख नौ हजार एक सय २२ मतदाता रहेका छन् । कैलाली क्षेत्र नम्बर ४ मा एक लाख १५ हजार एक सय ४३ मतदाता रहेकोमा ६३ हजार ३४ मत खसेको छ ।









प्रतिक्रिया दिनुहोस्