
जाजरकोट ।
आसन्न २१ फागुनका लागि देशैभरी चुनावी गतिविधिहरू तीव्र भइहँरदा जाजरकोटमा समेत तीव्र बनाइएको छ । जाजरकोटमा पूर्वमन्त्री नेपाली कम्युनिस्ट पार्टीका नेता शक्तिबहादुर बस्नेत, नेपाली काँग्रेस जाजरकोटका कार्यवाहक सभापति खडकबहादुर बुढा र नेकपा एमालेका केन्द्रीय सदस्य डम्बरबहादुर सिंह चुनावी भिडन्तमा रहेका छन् । तीनैजना उम्मेदवारका चुनावी एजेन्डाहरू एकै प्रकार रहेका छन् ।
लुम्बिनी रारा राजमार्ग जाजरकोट खण्ड पूरा गर्ने, नलगाड जलविद्युत् आयोजना ४१७ मेगावाट निर्माण गर्ने, अधुरा कामहरू पूरा गर्ने लक्ष्य सबैको चुवानी प्रतिबद्धता रहेको छ । काँग्रेस र एमालले पत्रकार सम्मेलन गरेर आफ्ना एजेन्डाहरू प्रस्तुत गरिसकेको छन् । उता नेकपाका नेता पूर्वमन्त्री बस्नेतले अहिलेसम्म भएको कामलाई रक्षा गर्दै बाँकी जाजरकोट निर्माणको कुरालाई जोड दिएका छन् ।
त्यस्तै भूकम्पपीडितका कुराहरू समेत चुनावी एजेण्डमा मुख्य रूपमा समेटिएको छ । अहिलेसम्म पूर्ण निर्माणको काम सुरु नहुनुमा केपी ओली नेतृत्वको सरकार दोषी भएको पूर्वमन्त्री बस्नेतको आरोप रहँदै आएको छ । काँग्रेस र एमालेका उम्मेदवारले जिल्लामा बजेट आएर पनि काममा परिणाम नआएको भन्दै अब परिणाम निकाल्नका लागि आफूहरूको उम्मेदवारी रहेको बताउँदै आएका छन् ।
नेकपाका उम्मेदवार बस्नेतले जाजरकोटमा विकासको जग २०६५ बाट मात्र सुरु भएको बताउँदै आएका छन् । उनले जिल्लामा विद्युतीकरण, खानेपानी, सडक, सञ्चार तथा जलविद्युत् आयोजनाको कामहरू गतिका साथ अगाडी बढाएको बताउँदै आएका छन् । बजेट जिल्लामा पठाए पनि निर्माण व्यवसायीको काम गर्ने तरिकाले असहयोग भएको उनले बताउँदै आएका छन् ।
नेपाली काँग्रेसका उम्मेदवार बुढाले आफूले हुने कुरा मात्र गर्ने, आफूले नसक्ने कामको विषयमा नबोल्ने बताएका छन् । माओवादी द्वन्द्वकालपछि मात्र जाजरकोटमा विकासको जग सुरुवात भएको देखिन्छ । जाजरकोट हुँदै डोल्पा पुगेर टुङ्गिने भेरी कोरिडोरको जाजरकोट खण्डको काम करिब करिब पूरा भएकोमा नेकपाका नेता बस्नेतले उपलब्धिको रूपमा राखेका छन् ।
मध्यपहाडी लोकमार्गको ८० प्रतिशत पिचको कामलाई बस्नेतले अर्को उपलब्धिका रूपमा लिएका छन् । नलगाड जलविद्युत् आयोजनाको डिपिआर आफ्नै पालामा आफैँले स्वीकृत गर्न लगाएको भन्दै अर्को मुख्य उपलब्धिको रूपमा उनले अथ्र्याएका छन् । उनले लुम्बिनी रारा राजमार्गको कामलाई समेत उपलब्धिकै रूपमा लिएको प्रतिबद्धतापत्रमा उल्लेख गरेका छन् ।
जिल्लाको बारेकोटमा रहेको कस्तुरी प्रजनन केन्द्रलाई समेत उनले आफूले गरेको कामका रूपमा सूचीबद्ध बनाएका छन् । उता काँग्रेस र एमालेका उम्मेदवारहरूले आफूले गरेको कामहरूको सूची नभई अधुरा कामहरू निर्माण गर्ने उद्घोष रहँदै आएको छ । जनमतको हिसाबले अघिल्ला चुनावको परिणाम हेर्दा तत्कालीन नेकपा माओवादी केन्द्रको जाजरकोटमा अवस्था तेस्रो रहे पनि हाल माधवकुमार नेपाल नेतृत्वको दलसँग एकता भएपछि बलियो देखिएको भन्दै नेकपा आफूले गरेका कामहरू जनतासामु धेरै गरेको दाबी गर्दै जस लिन खोजिरहेको देखिन्छ ।
नेकपा एमालेले हालसम्म प्रदेश सरकारमा समेत जाजरकोटबाट मन्त्री पाउन सकेको छैन । शान्तिकालपछि पश्चिम जाजरकोटबाट एक पटक मात्र जितेको इतिहास रहेको छ । नेपाली काँग्रेसले जाजरकोटका दुई प्रदेशसभामा माओवादीको गठबन्धनको बलमा दुई सिट जितेको छ । हाल दुवै जनाले पालो पालो प्रदेश सरकारको अर्थमन्त्रीको पद सम्हालिसकेका छन् । पहिलो कार्यकाल क्षेत्र नम्बर १ का बेदराज सिंह र हाल बहालवालामा क्षेत्र नम्वर २ बाट राजीवविक्रम शाहले नेतृत्व गर्ने अवसर पाएका छन् ।
अघिल्लो कार्यकालको सरकारले लगाएका ठेक्काका कामहरू समेत हालको सरकारले गति दिन नसक्दा प्रदेशका मन्त्रीहरूको आलोचना हुँदै आएको छ । पाँच वर्षदेखि पाँचवटा पुराना पुल तथा सडकका ठेक्काहरू अलपत्र रहेको छन् । त्यस्तै अन्य दुईवटा सडक तीन वर्षदेखि अलपत्र पर्दै आएका छन् । अलपत्र आयोजना निर्माण गर्नका लागि प्रदेश सरकारका मन्त्री तथा प्रदेशसभा सदस्यहरूमाथि दबाब तीव्र पर्दै आएको छ ।
सङ्घीय सरकारको भन्दा प्रदेश सरकारको कामहरू अलपत्र बढी भएकाले ती दुवै क्षेत्र काँग्रेसकै भागमा हुँदा थप आलोचना हुने गरेको छ । प्रदेशसभाको बैठकमा पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य बेदराज सिंहले विशेष समय लिएर अलपत्र आयोजनाका विषयमा बोले पनि प्रदेश सरकारले सुनेको देखिँदैन । सदनमा मन्त्रीले उठाएका कुराहरूको जवाफ दिने भएकाले राजीवविक्रम शाहले अलपत्र आयोजनाका विषयमा अनौपचारिक रूपमा कुराकानी गरे पनि सदनमा बोल्ने अवसर नपाएको अवस्था रहेको छ ।
काँग्रेस र एमालेको उम्मेदवारहरू काममा भएको ढिलासुस्तीका विषयमा खुला रूपमा बोलिरहेका छन् । तर हरेक आयोजना अलपत्र पार्नेहरूमा उनीहरूकै नेता तथा कार्यक्रमहरू हुँदा अर्को समस्या परेको छ । नलगाड जलविद्युत् आयोजनाको बाँधस्थल जानका लागि मुख्य द्वार रहेको खारामा ७ वर्षदेखि छेडागाड नगरपालिकाका मेयर तथा काँग्रेस नेता रत्नबहादुर खडकाले काम नगर्दा पुल अलपत्र परेको छ ।
नलगाडकै सिर्केमा मोटरेवल काँग्रेस निकट निर्माण व्यवसायी दीपेन्द्र शाहीले काम नगर्दा पाँच वर्षदेखि अलपत्र पर्दै आएको छ । जाजरकोटको पूर्वी क्षेत्रमा रहेको विद्युत् प्रसारण लाइन निर्माणको ठेक्का लिएका काँग्रेस नेता तेजविक्रम शाहले ७ वर्षदेखि काम नगर्दा अलपत्र पर्दै आएको छ । यी अलपत्र परेका आयोजनाहरूमा नेकपाका नेताहरूले चुनावी एजेन्डा बनाएका छन् ।
ठेक्का लिने तर काम नगरेर जिल्लामा विकास निर्माणको कुराहरू अलपत्र पारेर अरूलाई आरोप आरोप लगाउन नपाइने भन्दै नेकपाका नेता प्रशान्त शर्माले प्रश्न गरेका छन् । नेकपाका नेता शक्ति बस्नेत चार पटक मन्त्री भइसकेका पात्र हुन भने काँग्रेसका उम्मेदवार बुढा युवा राजनीतिज्ञ हुन ।
एमाले उम्मेदवार सिंह पटक पटक चुनावमा पराजित भएका पात्र हुन् । सरोकारवालाहरूको सङ्घीय सरकारमा जाजरकोटकै मन्त्री नहुँदासम्म नलगाड लगायतका ठूला आयोजनाहरू निर्माणको लागि सरकारी प्राथमिकता नपर्ने बताउँदै आएका छन् । त्यका लागि चुनाव जितेर मन्त्री नै पाउने हैसियत नेकपाका नेता बस्नेतकै मात्र रहेको छ ।









प्रतिक्रिया दिनुहोस्