आचारसंहिता पालनाबारे सर्वदलीय छलफल



जुम्ला ।

जिल्लामा निर्वाचनलक्षित सर्वदलीय छलफल गरिएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सभ्य, शान्त, मर्यादित र धाँधलीरहित वातावरणमा सम्पन्न गर्न सर्वदलीय छलफल गरिएको हो । छलफलमा सहभागी सरोकारवालाले भने जुम्लामा निर्वाचन आचारसंहिता पालनामा हुन नसकेकाले कार्यान्वयनमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले निर्वाचनमा बालबालिकाको प्रयोग भइरहेको बताए । जनप्रतिनिधि आफ्नै पालिकामा प्रचारमा गइरहेको भए पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले सूक्ष्म अनुगमन नगरेको उनको गुनासो छ । ‘फागुन ४ गतेअघि २५ जनाभन्दा बढी भेला हुन नपाउने, सडक जाम गरेर चुनावी गतिविधि गर्ने, बालबालिकाको प्रयोग गर्ने लगायतका आचारसंहिताविपरीतका गतिविधि भइसकेका छन्,’ उनले भने, ‘तर यो विषयमा प्रहरी प्रशासन तथा मुख्य निर्वाचन अधिकृतको कार्यालयले बोल्न सकेको छैन । यस विषयमा कडाइ गर्नुपर्छ ।’

नेपाल पत्रकार महासंघ जुम्लाका कार्यवाहक अध्यक्ष नौरते नेपालीले आचारसंहिता कागजमै सीमित रहेको उल्लेख गरे । यसमा आचारसंहिता पूर्ण पालनामा राजनीतिक दल र प्रहरी प्रशासनको ध्यानर्कषण हुनुपर्ने उनको भनाइ छ । निर्वाचन शिक्षालाई प्रभावकारी बनाउने, आचारसंहिता पालनामा बेवास्ता गर्ने दलहरूलाई स्पष्टीकरणसमेत नसोधेर छुट दिइएकोप्रति उनले आपत्ती जनाए ।

स्थानीय तहका जनप्रतिनिधिले सरकारी सवारीको दुरुपयोग गरी निर्वाचन प्रचारमा गइरहेकाले तत्काल रोक्नुपर्नेमा जोड दिएका छन् । जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत आनन्दराज पन्तले हालसम्म निर्वाचन आचारसंहिता पालनाको अवस्था सन्तोषजनक रहेको जानकारी दिए । तर हालसम्म औपचारिक लिखित उजुरी नआएका कारण दलहरूलाई स्पष्टीकरण नसोधे पनि मौखिक ध्यानर्कषण गराइएको उनले बताए ।

‘निर्वाचन आचारसंहिता पालनाबारे हालसम्म तीन पटक सर्वदलीय छलफल तथा अन्तक्र्रिया भइसकेको छ,’ उनले भने, ‘अब पनि आचारसंहिताविपरीत गतिविधि भएमा सिधै कारबाही गरिने छ ।’ प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जुम्लामा निर्वाचन आचारसंहिता पालनादेखि शान्ति सुरक्षाको व्यवस्था निकै मजबुद बनाइएको बताए ।

फागुन २१ गतेका दिन ढुक्क भएर मतदान गर्ने वातावरण बनाइएको उनको भनाइ छ । उनका अनुसार फागुन १८ गतेदेखि सुरक्षाकर्मीदेखी कर्मचारीलाई मतदानस्थलमा खटाउने तयारी छ । जुम्लामा ११० मतदान केन्द्र र मतदानस्थल ८४ वटा मध्ये ५४ वटा मतदान केन्द्र अतिसंवेदनशील रहेका छन् । सामान्य, संवेदशनशील र अतिसंवेदनशील गरी तीन तहमा वर्गीकरण गरी सुरक्षा व्यवस्थापन गरिएको उनले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन १२ गते मंगलबार