खजुरा (बाँके) ।
बाँकेको खजुरा गाउँपालिकामा पछिल्लो ६ महिनाको अवधिमा ५२ जना क्षयरोगी फेला परेका छन् । पछिल्लो समय खजुरामा क्षयरोगीको सङ्ख्या बढ्दो क्रममा देखिएको हो । फेला परेका क्षयरोगीहरूलाई खजुरा गाउँपालिकाको स्वास्थ्य शाखा अन्तर्गतका स्वास्थ्य केन्द्र मार्फत निःशुल्क उपचार गराइँदै आएको शाखाले जनाएको छ ।
स्वास्थ्य शाखा प्रमुख लक्ष्मी केसी ओलीका अनुसार खजुरामा सबैभन्दा बढी वडा नम्बर ८ मा क्षयरोगी फेला परेका छन् । क्षयरोगको अर्धवार्षिक समीक्षा तथा कोहर्ट विश्लेषण कार्यक्रममा सार्वजनिक गरिएको डाटा अनुसार वडा नम्बर १ र ६ मा शून्य, वडा नम्बर २ मा ६ जना, वडा नम्बर ३ मा १२ जना, वडा नम्बर ४ र ५ मा समान ५–५ जना, वडा नम्बर ७ मा १० जना र वडा नम्बर ८ मा १४ जना क्षयरोगी फेला परेका छन् ।
सामाजिक विकास संयोजक कृष्णा पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलले क्षयरोग सरुवा रोग भएकाले एक जनामा देखिनासाथ समयमै पहिचान र उपचारमा जोड दिनुपर्ने बताए । एक जना क्षयरोगीले १० देखि १५ जनासम्ममा रोग सार्न सक्ने भएकाले समुदायस्तरमै विशेष सतर्कता आवश्यक रहेको उनले उल्लेख गरे ।
स्वास्थ्य शाखाका अनुसार क्षयरोगबाट बच्न लामो समयसम्म खोकी लागेमा बेवास्ता नगरी तुरुन्त स्वास्थ्य संस्थामा जाँच गराउनुपर्ने, उपचार सुरु गरेपछि औषधि पूरा अवधि नियमित रूपमा सेवन गर्नुपर्ने र उपचार अधुरो नछाड्नुपर्नेमा जोड दिइएको छ ।
साथै भीडभाडमा मास्क प्रयोग गर्ने, घरभित्र पर्याप्त हावा प्रवाह हुने व्यवस्था मिलाउने, पोषणयुक्त खाना खाने तथा संक्रमित व्यक्तिसँग नजिकको सम्पर्क गर्दा सावधानी अपनाउनुपर्ने स्वास्थ्यकर्मीहरूले सुझाव दिएका छन् । क्षयरोग लुकेर बस्ने रोग नभएकाले लक्षण देखिएमा ढिलाइ नगरी नजिकको स्वास्थ्य संस्थामा गई निःशुल्क जाँच तथा उपचार सेवा लिन स्वास्थ्य शाखाले आग्रह गरेको छ ।









प्रतिक्रिया दिनुहोस्