नन्दराम जैशी । सुर्खेत ।
कर्णाली प्रदेशमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी तीव्र बनेको छ । मंगलबार प्रदेशका १२ वटै निर्वाचन क्षेत्रस्थित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूको कार्यालय उम्मेदवारी दर्ता गरिएसँगै चुनावी चहलपहल बढेको हो । उम्मेदवारी दर्ताका क्रममा विभिन्न राजनीतिक दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरू समर्थकसहित निर्वाचन कार्यालय पुगेका थिए ।
निर्वाचन अधिकृतको कार्यालय वरपर नारा–जुलुस, पार्टीका झण्डा–ब्यानर तथा कार्यकर्ताको भीड देखिन्थ्यो । उम्मेदवारी दर्तापछि उम्मेदवारहरूले आफ्नो चुनावी एजेन्डा सार्वजनिक गर्दै मतदातासँग प्रत्यक्ष पनि भेटघाट सुरु गरेका छन् । प्रदेश निर्वाचन कार्यालय सुर्खेतका अनुसार उम्मेदवारी दर्ता शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो ।
निर्वाचन आयोगले तोकेको कार्यतालिकाअनुसार मनोनयन दर्तापछि उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन, उजुरी दर्ता तथा छानबिन, अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न वितरणका कार्यक्रम सुरु भएका छन् । प्रदेशका १२ निर्वाचन क्षेत्रमध्ये हुम्ला, मुगु, डोल्पा, जुम्ला, कालीकोट, जाजरकोट, दैलेख, सुर्खेत, सल्यान र रूकुम पश्चिमका निर्वाचन क्षेत्रहरूमा दलहरूबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
काँग्रेस, एमाले, नेकपा, रास्वपा र राप्रपासहित अन्य पुराना दल, नयाँ दल र स्वतन्त्र उम्मेदवारको सक्रियताले यसपटकको निर्वाचनलाई थप रोचक बनाएको छ । निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षाका व्यवस्था कडा बनाइएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
कार्यालयका अनुसार प्रशासन र सुरक्षा निकायले निर्वाचन क्षेत्रहरूमा सुरक्षा सतर्कता बढाएका छन् । उम्मेदवारी दर्तासँगै कर्णालीमा चुनावी सरगर्मी बढ्दै गएको छ भने आगामी दिनमा घरदैलो कार्यक्रम, सभा–समारोह र राजनीतिक बहसहरू थप सक्रिय हुने दलहरुले जनाएका छन्।
चार ठूला दलका ४८ मुख्य प्रतिस्पर्धी
यस पटकको निर्वाचनमा विशेषगरी चार ठूला दल नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ । यी चार ठूला दलका ४८ जना उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । यस पटक अन्य सबै दललाई सबैभन्दा बढी रास्वपाको त्रास छ । रास्वपाले कर्णालीका १० जिल्लाका १२ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको छ ।
रास्वपा कर्णाली प्रदेश सभापति मदन खड्काका अनुसार सुर्खेत–१ मा टेकबहादुर सिंह, सुर्खेत–२ मा रमेश सापकोटा, दैलेख–१ मा नन्दकिशोर बस्नेत (एनके) र दैलेख–२ मा बखतबहादुर शाही उम्मेदवार बनेका छन् । यस्तै सल्यानमा ललित चन्द, रूकुम पश्चिममा मानबहादुर शाही, जुम्लामा विनिता कठायत, मुगुमा भुवन टमटा, कालीकोटमा प्रकाश न्यौपाने, जाजरकोटमा राघव कार्की, हुम्लामा टासी लाङजोम र डोल्पामा देवसिंह ऐडीले उम्मेदवारी दर्ता गरेका छन् ।
यता नेकपाबाट उम्मेदवारी दर्ता गर्नेहरुमा रूकुम पश्चिमबाट गोपाल शर्मा, जुम्लामा नरेश भण्डारी, दैलेख–१ मा अम्मरबहादुर थापा, दैलेख–२ मा योगेन्द्रबहादुर शाही, सुर्खेत–१ मा जीतबहादुर राना, सुर्खेत–२ मा झकबहादुर मल्ल ‘सुदीप’ र डोल्पामा धनबहादुर बुढा रहेका छन् । यस्तै नेकपाबाट हुम्लामा डा. दीपेन्द्र रोकाया, कालीकोटमा महेन्द्रबहादुर शाही, जाजरकोटमा शक्ति बस्नेत, सल्यानमा रमेश मल्ल र मुगुमा चन्द्रबहादुर शाहीले उम्मेदवारी दर्ता गरेका छन् ।
नेकपामा टिकट पाएकामध्ये तीनजना साविक एकीकृत समाजवादीतर्फका नेता हुन् । जसमा दैलेख–१, मुगु र डोल्पामा उम्मेदवारी दिएका छन्। भने बाँकी नौजना साविक माओवादीतर्फका रहेका छन् । यस्तै नेकपा एमालेबाट दैलेख–१ बाट रवीन्द्रराज शर्मा, दैलेख–२ मा लक्ष्मीप्रसाद पोखरेल, जाजरकोटमा डम्बरबहादुर सिंह, सुर्खेत क्षेत्र नम्बर १ मा ध्रुवकुमार शाही र सुर्खेत क्षेत्र नम्बर–२ मा कुलमणि देवकोटाले उम्मेदवारी दिएका छन् ।
एमाले प्रदेश अध्यक्ष गुलाबजंग शाह सल्यानबाट उम्मेदवार बनेका छन् भने जुम्लाबाट शान्तिलाल महत, डोल्पाबाट लंक रोकाया, मुगु पूर्णबहादुर रोकाया र कालीकोटबाट नागेन्द्र शाही (नेसनल) उम्मेदवार बनेका छन् । यता नेपाली काँग्रेसले सुर्खेत १ मा विष्णुबहादुर खड्का, सुर्खेत–२ मा नारायण कोइराला, मुगुमा ऐनबहादुर शाही, हुम्ला जयपती रोकाया, दैलेख–१ मा बासना थापा र दैलेख–२ मा दीक्पालकुमार शाहीलाई उम्मेदवार बनाएको छ ।
काँग्रेसबाट रूकुम पश्चिममा राजु केसी, जाजरकोटमा खड्गबहादुर बुढा, डोल्पा कर्णबहादुर बुढा र कालीकोटमा हर्षबहादुर बम र सल्यानमा केशबहादुर विष्टले उम्मेदवारी दर्ता गराएका छन् । यता राप्रपाबाट सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ मा जेनजी अभियान्ता रवीकिरण हमाल र जुम्लामा ज्ञानबहादुर शाहीले उम्मेदवारी दर्ता गराएका छन् । यी दुईजना उम्मेदवारका कारण ती क्षेत्रमा चुनाव थप रोचक बन्ने अनुमान छ ।









प्रतिक्रिया दिनुहोस्