नेपालगन्ज ।
बाँके प्रहरीले डुडुवा गाउँपालिका–४ मा पुस १६ गते भएको भनिएको बलात्कारसम्बन्धी घटनामा गलत प्रचार भइरहेको भन्दै दोस्रोपटक विज्ञप्ति जारी गरेको छ । दोस्रोपटक आइतबार जारी विज्ञप्तिमा बलात्कारमा परेको भनिएकी बालिकाका तर्फबाट जाहेरी प्रहरीले लिन नमानेको र पीडितलाई न्यायिक प्रक्रियामा असहयोग गरिरहेको भन्दै लगाइएको आरोप गलत भएको बताएको छ ।
नाबालिकामाथि जबरजस्ती करणी भएको भन्दै पीडित पक्षबाट जानकारी प्राप्त हुनासाथ प्रहरीले बालिकाको विस्तृत स्वास्थ्य परीक्षण गराएको र आफन्तहरूलाई जाहेरी दिन भनेर प्रहरीले नै अनुरोध गरे पनि जाहेरी नआएको बताएको छ । पुस २२ गते पीडित बालिकाकी आमाको नामबाट हुलाकमार्फत जाहेरी प्राप्त भएकोमा उक्त जाहेरी सनाखत गर्न भने कोही पनि प्रहरीकहाँ आउन नमानेको प्रहरीले बताएको छ ।
मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ अनुसार जाहेरी प्राप्त भएपछि एक हप्ताभित्र सनाखत गर्नुपर्ने व्यवस्था रहेकोमा प्रहरीले सम्पर्कमा कोही नआएको, प्रहरी घरमै गएर सम्पर्क गर्न खोज्दा पनि जाहेरीको ठेगानामा कोही पनि नभेटिएको प्रहरीको भनाइ छ । यसैगरी आफन्त र छिमेकीमार्फत पनि सम्पर्कमा ल्याइदिन अनुरोध गरिएकोमा कोही पनि सम्पर्कमा नआएकोले जाहेरी दर्ता हुन नसकेको प्रहरीले जनाएको छ । प्रहरीले पीडित पक्षलाई तुरुन्त सम्पर्कमा आउन र अनुसन्धानमा सहयोग गर्न अपिलसमेत गरेको छ ।
बाँके प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपक पातलीले हस्ताक्षर गरेको प्रेस विज्ञप्तिमा प्रहरीले जबरजस्ती करणी जस्तो गम्भीर अपराधमा संवेदनशील, निष्पक्ष र दबाबरहित अनुसन्धान गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ । यो घटनाको अनुसन्धानलाई प्रभावित पार्ने उद्देश्यले कुनै व्यक्ति, समूह वा सञ्चारमाध्यमले दबाब दिने, पीडितलाई पीडित बनाउने वा गलत प्रचार गर्ने कार्य नगर्न हर्दिक अनुरोध गरेको छ ।








प्रतिक्रिया दिनुहोस्