बाँके ।
नेपाली हिन्दु महिलाहरूको महान् चाड तीजको अवसरमा बाँकेको कोहलपुरमा खुला एकल नृत्य प्रतियोगिता हुने भएको छ । नेकपा एमाले निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) कोहलपुर नगर कमिटीको आयोजनामा भदौ २० गते कोहलपुरमा खुला एकल नृत्य प्रतियोगिता हुन गइरहेको हो । कोहलपुरस्थित भेरी शीत भण्डारको प्राङ्गणमा एकल खुला नृत्य प्रतियोगिता गर्ने निर्णय भएको बुधबार कोहलपुरमा कमिटीले पत्रकार सम्मेलन गरेर जानकारी दिएको थियो ।
संगठनकी कोहलपुर नगर अध्यक्ष कृष्ण कुमारी बुढाले प्रतियोगितामार्फत तीजको सांस्कृतिक पक्षलाई जीवन्त राख्ने र महिला प्रतिभालाई सार्वजनिक मञ्च प्रदान गर्ने निर्णय गरेको बताइन् । ‘अनेमसंघका लागि तीज केवल गीत र नृत्यको पर्व होइन, संगठनलाई जनतासँग जोड्ने सांस्कृतिक सेतु पनि हो’ उनले भनिन्, ‘एकातिर पार्टीको राजनीतिक शुद्धीकरण र संगठन सुदृढीकरणको बहस, अर्कोतिर महिलाको सांस्कृतिक उत्सव—कोहलपुर अनेमसंघले यी दुई पाटालाई एउटै मञ्चमा जोड्न खोजेको छ।’
प्रतियोगितामा प्रथम पुरस्कार ५ हजार, द्वितीय ४ हजार, तृतीय ३ हजार रूपैयाँँ र सान्त्वना पुरस्कार १ हजार रूपैयाँँ रहेको छ । प्रतियोगितामा सहभागी हुन ५ सय रूपैयाँँ प्रवेश शुल्क तोकिएको छ । नाम दर्ताको अन्तिम मिति भदौ १६ गते साँझ ६ बजेसम्म रहेको प्रतियोगितामा सहभागी सबैलाई प्रमाणपत्रसहित ६ सय रूपैयाँँ नगद प्रदान गरिने अध्यक्ष बुढाले जानकारी दिइन् ।









प्रतिक्रिया दिनुहोस्