कोहलपुर ।
बाँकेको बैजनाथ गाउँपालिका–४ तिलकपुरस्थित समावेशी माध्यमिक विद्यालयले प्रधानाध्यापक भुलप्रसाद अधिकारीको नेतृत्वमा पछिल्लो एक वर्षमा शैक्षिक तथा भौतिक सुधारका क्षेत्रमा उल्लेख्य प्रगति गरेको छ। अधिकारी प्रधानाध्यापक बनेपछि विद्यालयमा विभिन्न सुधारका काम अघि बढ्नुका साथै शैक्षिक तथा व्यवस्थापकीय क्षेत्रमा सकारात्मक परिवर्तन देखिएका छन् ।
एक वर्षको अवधिमा शिक्षकको उपस्थितिलाई व्यवस्थित गर्न बायोमेट्रिक प्रणाली जडान गरिएको प्रधानाध्यापक अधिकारीले जानकारी दिए । विद्यालयका ऐतिहासिक तथ्य तथा अभिलेखको खोज, अध्ययन र अभिलेखीकरण गर्नुका साथै म्युजिकल पिटिको व्यवस्था, मञ्च निर्माण तथा स्टाफ र कार्यालय मर्मतको कामसमेत सम्पन्न गरिएको बताए ।
विद्यार्थी तथा शिक्षकका लागि शुद्ध पिउने पानीको व्यवस्था, कक्षाकोठा सबलीकरण, कक्षा १ देखि ५ सम्म होमवर्क डायरीको प्रयोग, कक्षा ८, ९ र १० मा साप्ताहिक परीक्षा तथा कक्षा ४ देखि १० सम्म अतिरिक्त कक्षा सञ्चालन सुरु गरिएको छ। सिकाइमा कमजोर विद्यार्थीलाई लक्षित गर्दै बहुस्तर तथा बहुकक्षा सञ्चालन गरिएको विद्यालयले जनाएको छ। कक्षा ७ देखि १० सम्म स्मार्ट बोर्डको व्यवस्था, विद्यालय परिसरमा पेभर सिमेन्ट ब्लक बिछ्याउने तथा शिक्षक–कर्मचारीका लागि शुद्ध पिउने पानीको फिल्टर जडान गरिएको छ।
विद्यार्थीको बसाइ व्यवस्थापन सहज बनाउन २५ वटा नयाँ स्टिल डेस्क–बेन्च थपिएका छन्। विद्यालय परिसर तथा कक्षाकोठामा सीसी क्यामेरा जडान गर्नुका साथै प्रत्येक कक्षामा कक्षा परिचय पाटी राखिएको छ। यसैगरी, दुईकोठे पक्की भवन निर्माणको कामसमेत अघि बढाइएको विद्यालयले जनाएको छ। यी सुधारका काममा विद्यालयको आफ्नै स्रोतसँगै कैरितास नेपाल, नबिल बैंक, सिद्धार्थ विकास केन्द्र, बैजनाथ गाउँपालिका तथा सामाजिक विकास डिभिजन कार्यालयलगायतका निकायबाट सहयोग प्राप्त भएको विद्यालयले जनाएको छ।
उनको नेतृत्वसँगै शैक्षिक उपलब्धि पनि विद्यालयले सुधार गरेको छ । शैक्षिक सत्र २०८३ को एसईई परीक्षामा विद्यालयका सबै विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ । त्यस्तै, कक्षा ८ को वार्षिक परीक्षामा विद्यार्थी सागर खड्काले ४ जीपीए प्राप्त गरी पालिकामै प्रथम स्थान हासिल गरे । बालबालिकाको सिर्जनशीलता र सहभागिता बढाउने उद्देश्यले समावेशी भित्ते पत्रिका प्रकाशनको समेत सुरुवात गरिएको छ। विद्यालयले आगामी दिनमा शैक्षिक गुणस्तर सुधारसँगै भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर थप काम अघि बढाउने जनाएको छ।









प्रतिक्रिया दिनुहोस्