बाजुरा ।
‘जमिनमा परेको चिरा हेर्दा आफ्नै मन फाटेजस्तो लाग्छ । जमिन जति फाट्दै जान्छ, त्यति नै मन पनि फाट्दै जान्छ । अब यो जमिन कतिबेला बग्छ र हाम्रो घर कतिबेला पुरिन्छ भन्ने डर लाग्छ,’ बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सु गाउँका स्थानीय टेक थापाले भने । उनको यो भनाइले सिङ्गो गाउँको पीडा बोल्छ । बेलाबेला आउने भूकम्पले थिलथिलो बनेको यहाँको जमिन यस वर्षको मनसुनी वर्षापछि ठाउँठाउँमा चिराचिरा परेको छ ।
कतै घरका आँगन फाटेका छन् भने कतै खेतबारीमा लामालामा चिरा परेका छन् । गाउँमाथि र आसपासबाट पहिरो खस्नेक्रम नरोकिएपछि यहाँका ६० परिवार आफ्नै घरमा सुरक्षित महसुस गर्न सकिरहेका छैनन् । पानी पर्दा चिराबाट पानी पस्ने, जमिन थप धसिने र जुनसुकैबेला पहिरो खस्नसक्ने जोखिम बढेपछि केही दिनअघिसम्म आफ्नै घरमा ढुक्कसँग बसिरहेका स्थानीय अहिले दिनमा घरमा खाना खाने र राति त्रिपालमुनि रात कटाउन बाध्य छन् ।
‘जमिन नै चिराचिरा परेको छ, कहिले के हुन्छ भन्ने थाहा छैन, त्यसैले बिहानबेलुका घरमै खाना खान्छौँ, तर रात कटाउन त्रिपालमा जान्छौँ’, थापाले भने । ताम्सु गाउँमा ६० परिवार बसोबास गर्दै आएका थिए । गत साउन २८ गते राति अविरल वर्षासँगै आएको पहिरोले दुई घर पुरिएपछि अहिले ५८ परिवार बाँकी छन् । पहिरोले ठाउँठाउँमा जमिन चिरिएपछि पुरै गाउँ उच्च जोखिममा परेको वडाध्यक्ष नन्द थापाले बताए ।
‘साउन २८ पछि ताम्सुवासी त्रासमा छन् । घर हुँदाहुँदै त्रिपालमुनि बास भएको छ’, उनले भने, ‘त्रिपालको बास पनि सुरक्षित छैन । जताततै चिरा परेका छन्, कतिखेर पहिरो जान्छ थाहा छैन ।’ गत बिहीबार रातिको पहिरोले घर पुरिँदा एक जनाको मृत्यु र दुई जना घाइते भएका थिए । स्थानीय कर्णबहादुर थापाकी २० वर्षीया छोरी प्रतीक्षा थापाको घरभित्र पुरिएर मृत्यु भएको थियो । पुरिएको घरबाट प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीयवासीको प्रयासमा करिब १० घण्टापछि शव निकालिएको थियो ।
पहिरोमा परी धर्म थापा र धौलीदेवी रावल घाइते भएका थिए । धर्म जिल्ला अस्पतालमा उपचारपछि घर फर्किए भने धौलीदेवीको सेती प्रादेशिक अस्पताल, धनगढीमा उपचार भइरहेको छ । पहिरोमा ज्यान गुमाएकी प्रतीक्षा थापा बडीमालिका क्याम्पस, फालासैनमा स्नातक तह दोस्रो सेमेस्टरमा अध्ययनरत थिइन् । उनका बुबाआमा र भाइ रोजगारीका लागि भारतको दिल्लीमा बस्दै आएका थिए ।
पहिरोमा ज्यान गुमाउनुअघि दिउँसो बाख्रा चराउन गएकी प्रतीक्षाले दिल्लीमा रहेकी आमासँग फोनमा कुरा गर्दै यसपटक भाइटीका लगाउन उतै आउने बताएकी थिइन् । तर, उनको त्यो सपना अधुरै रह्यो । ‘मलाई धेरै पढ्ने चाहना छैन, म पैसा कमाउन विदेश जान्छु, त्यसका लागि पैसा कमाइराख्नु आमा भन्थी’, घटनापछि नेपाल आएकी आमा राजुदेवी थापाले भनिन्, ‘त्यही वचन अन्तिम भयो । हामीलाई देखाएको सपना, सपनामै रह्यो ।’









प्रतिक्रिया दिनुहोस्