कोहलपुर (बाँके) ।
जिल्ला प्रहरी कार्यालय बर्दियाले साउन महिनामा सम्पादित प्रगति सार्वजनिक गरेको छ । कार्यालयले साउन महिनामा अपराध अनुसन्धान तथा नियन्त्रण, शान्ति सुरक्षा तथा प्रहरी कार्य र अन्यतर्फ गरेका हासिल गरेका प्रगति सार्वजनिक गरेको हो । जस अनुसार अपराध अनुसन्धान तथा नियन्त्रण र शान्ति सुरक्षा तथा प्रहरी कार्यतर्फ समान १०–१० वटा र अन्य शिर्षकतर्फ ४ वटा उपशिर्षकमा मासिक प्रगति सार्वजनिक गरेको हो ।
कार्यालयका प्रहरी निरीक्षक तथा निमित्त सूचना अधिकारी वीरेन्द्र बहादुर बोहोराका अनुसार साउन महिनामा कूल ८० वटा मुद्दा दर्ता भएका थिए । जसमध्ये जघन्य अपराधका ७ वटा, गम्भीर अपराधका ५ वटा, महिला तथा बालबालिका तथा जेष्ठ नागरिकसँग सम्बन्धित १० वटा, आर्थिक अपराधसँग सम्बन्धित घटना ८ वटा दर्ता भएको उनले बताए । चालू मुद्दाका ६१ जनालाई पक्राउ गरिएको कार्यालयद्धारा जारी प्रगति विवरणमा उल्लेख छ ।
विभिन्न फैसलाको कार्यान्वयन गर्दै १७ पुरुष र २ जना महिलालाई पक्राउ गरिएको जनाइएको छ । महिला बालबालिका तथा जेष्ठ नागरिकतर्फ कूल ७८ वटा उजुरी परेको र हराएका ३० जनालाई फेला पारेको बर्दिया प्रहरीले जनाएको छ । घरेलु हिंसा शिर्षकतर्फ ४५ वटा उजुरीमध्ये सम्पूर्ण उजुरीउपर मिलापत्र गराइएको र अदालतसमेत पठाइएको प्रहरी निरीक्षक बोहराले बताए ।
स्थानीय तहहरूमध्ये सबैभन्दा धेरै गुलरिया नगरपालिकाका ३६, बढैयाताल गाउँपालिकाका ४ वटा, मधुवन नगरपालिकाका २ वटा, ठाकुरबाबा नगरपालिकाको १ वटा र अन्य जिल्लाका २ वटा उजुरी परेका थिए । लागूऔषध मुद्दामा २१ जनालाई पक्राउ गरिएको र ३५७ ग्राम ४३० मिलिग्राम ब्राउनसुगर बरामद् गरिएको छ । प्रहरी निरीक्षक बोहराले अपराध न्यूनीकरणका लागि सामुदायिक कार्यक्रम अन्तर्गत सचेतना कार्यक्रम, सीमा क्षेत्रमा चेकजाँच र महिला तथा बालबालिकामाथि हुने अपराधविरुद्व सचेतनामूलक कार्यक्रम आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
शान्ति प्रक्रिया र प्रहरी परिचालनतर्फ कूल २ हजार ७९३ जना जनशक्ति खटिएका थिए । साउन महिनामा १६ वटा सवारी दुर्घटनामा २ जनाको निधन हुनुका साथै १४ जना घाइते भएको र २२ वटा सवारी साधन दुर्घटनामा परेका थिए । यसैगरी ४३९ वटा सवारी साधनको कारवाहीबाट ३ लाख ६१ हजार रूपैयाँँ राजस्व संकलन गरिएको छ । विपद् व्यवस्थापनतर्फ जंगली जनावरको आक्रमण र दुई वटा आगजनीका घटना घटेको तथा जंगली जनावरको आक्रमणमा परेका एकजनाको मृत्यु हुनुका साथै दुई वटा पानी डुबेर परेको र १ जना घाइते भएका थिए ।
समुदाय तथा विद्यालय कार्यक्रम अन्तर्गत कूल ७५ वटा कार्यक्रम सम्पन्न गरिएको छ । नागरिकता, हतियार, नवीकरण तथा अन्य कागजातका लागि ५० वटा मुचुल्का, कार्यालयको हटलाइनमा ५३२ जनाको कल आएको र सेवाग्राहीहरूको ४११ वटा मुद्दा दर्ता भएको कार्यालयले जनाएको छ । कार्यालयले नागरिकमैत्री पहलतर्फ सेवाग्राहीले प्रहरी कार्यालयमा भौतिक रूपमा उपस्थित हुन नसक्नेलाई पनि सहज रूपमा गुनासो तथा उजुरी नेपाल प्रहरी एपमार्फत अनलाइन उजुरी दर्ताको काम प्रारम्भ गरिएको छ ।
बाल्टिनमा डुबेर नाबालकको मृत्यु
गुलरियामा घरको आँगनमा राखिएको बाल्टिनमा डुबेर एक नाबालको मृत्यु भएको छ । सोमबार दिउँसो २ बजेतिर आफ्नै घरको आँगन अगाडि राखिएको बाल्टिनमा डुबेर एक १८ महिने नाबालकको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार मृत्यु हुनेमा बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ५ को आरसी टोलका १८ महिने आनस अली बेहना रहेका छन् ।
आरसी टोलका पूर्वान अली वेहेनाका १८ महिने छोराको घरमा कोही नभएको समयमा खेल्ने क्रममा बाल्टिनमा डुबेर मृत्यु भएको प्रहरी निरीक्षक तथा सूचना अधिकारी वीरेन्द्र बहादुर बोहोराले बताए । ‘यो भदौ १ गते दिउँसोको घटना हो । खेल्ने क्रममा बाल्टिनमा डुबेर घाइते भएको रहेछन् । उपचारको क्रममा बालकको मृत्यु भएको हो,’ उनले भने ।
१८ महिने बालक घरमै बाल्टिनमा डुबेर घाइते भएपछि उपचारको लागि बर्दिया जिल्ला अस्पतालमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । यसैगरी, साउन महिनामा बर्दियामा पानीमा डुबेर दुई जना बालकको निधन भएको थियो । मृत्यु हुनेमा राजापुर नगरपालिका वडा नम्बर ५ जयपुरका १७ वर्षीय पुजन दमाईको नाला र बारबर्दिया नगरपालिका वडा नम्बर ९ कर्तनियाका १५ वर्षीय आकाश थारूको बबई सिँचाइ आयोजनाको नहरमा डुबेर निधन भएको सूचना अधिकारी बोहोराले जानकारी दिए ।
यस्तै, कुटपिट गरी बुवाको हत्या गरेको आरोपमा बर्दिया प्रहरीले छोरालाई पक्राउ गरेको छ । जिल्लाको गेरुवा गाउँपालिका–५ का १९ वर्षीय सरगम आचार्यलाई प्रहरीले सोमबार राति पक्राउ गरेको हो । सोमबार राति १२ बजेको समयमा घर कोठामै आचार्यले आफ्नो बुवा ४९ वर्षीय टेकराज उपाध्यायलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ । छोराको कुटपिटबाट घटनास्थलमै बुवाको ज्यान गएको थियो । सूचना अधिकारी बोहराले भने, ‘घटनाको कारण अझै खुलेको छैन् । आचार्यलाई घटनास्थलबाटै नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।’









प्रतिक्रिया दिनुहोस्