नेपालगञ्ज–पोखरा उडान फेरि शुरु हुँदै



काठमाण्डौ ।

लामो समयदेखि रोकिएको नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा यही भदौको अन्तिम हप्तादेखि फेरि सञ्चालन हुने भएको छ । निजी क्षेत्रको सेवा प्रदायक बुद्ध एयरले आउँदो भदौ ३१ गतेदेखि नेपालगञ्ज–पोखरा उडान फेरि सञ्चालन गर्न लागेको जनाएको छ । बुद्ध एयर नेपालगञ्जका प्रमुख विनीतविक्रम शाहले यात्रुको माग बढेकाले उडान फेरि सञ्चालन गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार भारतको उत्तर प्रदेशलाई पोखरासँग सिधा जोड्ने यो उडानका लागि यात्रुको माग बढ्दै गएको छ । गएको जेठ ५ गतेदेखि उडान स्थगित गरिएको थियो । भारतबाट आउने धार्मिक पर्यटकको सङ्ख्या घट्नु र इन्धन खर्च बढी भएकाले उडान रोकिएको शाहले बताउनुभयो ।

पछिल्लो समय धार्मिक पर्यटकको सङ्ख्या बढ्नाका साथै उडानको माग बढेकाले सेवा पुनः सञ्चालन गर्न लागिएको उहाँले जानकारी दिनुभयो । तालिकाअनुसार आइतबार, बुधबार र शुक्रबार उडान हुनेछ ।

रासस

  • No tags available
प्रकाशित मिति : २०८३ भदौ ४ गते बिहीबार