गाउँमै पुगेर सीमा पास वितरण



डोल्पा ।

उपल्लो डोल्पाका बासिन्दालाई चीन प्रवेशका लागि आवश्यक सीमा पास लिन जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको छ । जिल्ला प्रशासन कार्यालय डोल्पाले स्थानीय तहसँगको समन्वयमा गाउँमै पुगेर धमाधम प्रस्थान तथा प्रवेशपत्र (सीमा पास) वितरण गर्न थालेको हो । यसले चीनसँग जोडिएका बस्तीका नागरिकलाई सहज भएको छ । नेपाल–चीन सीमाका मरिमला र क्याटो नाकामार्फत तिब्बत आवतजावत गर्ने उपल्लो डोल्पाका बासिन्दाका लागि सीमा पास अत्यावश्यक कागजात हो ।

यही आवश्यकतालाई मध्यनजर गर्दै प्रशासनले कर्मचारीलाई दुर्गम गाउँबस्तीमै खटाएर पास वितरण गरिरहेको जनाएको छ । प्रशासनका अनुसार क्याटो नाका प्रवेशका लागि मात्रै ३५० भन्दा बढी स्थानीय बासिन्दालाई सीमा पास वितरण भइसकेको छ । विगत १५ दिनदेखि उपल्लो डोल्पाका विभिन्न गाउँमा पुगेर पास वितरणको काम भइरहेको जिल्ला प्रशासन कार्यालयबाट खटिएका नायब सुब्बा दत्त लामाले जानकारी दिए । उनका अनुसार भौगोलिक रूपमा अत्यन्तै विकट क्षेत्रमा गाउँ–गाउँ पुगेर सेवा दिइएको हो ।

‘उपल्लो डोल्पामा चीनसँगको सीमा अन्तर्राष्ट्रिय आवतजावतको विषय मात्र नभई स्थानीयको दैनिक जीवन र अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको छ’ उनले भने, ‘सडक सञ्जाल कमजोर रहेको तथा जिल्लाका अन्य बजारसम्म पुग्नसमेत कठिन हुने भएकाले यहाँका बासिन्दा वर्षौँदेखि तिब्बतसँगको सीमावर्ती व्यापारमा निर्भर रहँदै आएका छन् ।’
डोल्पाबुद्ध गाउँपालिकाको धो क्षेत्रमा मात्रै हालसम्म ५० वटा सीमा पास वितरण गरिएको छ ।

अधिकांश क्षेत्रमा पास वितरणको काम सकिए पनि वडा नम्बर १, २ र ३ का केही बासिन्दालाई भने अझै पास दिन बाँकी रहेको लामाले जानकारी दिए । प्रशासनले बाँकी नागरिकलाई समेत आवश्यक प्रक्रिया पूरा गरी सीमा पास उपलब्ध गराउने तयारी गरेको छ । दुर्गम भूगोलका कारण सबै बस्तीमा एकैपटक पुग्न नसकिए पनि क्रमशः योग्य सबै नागरिकलाई सेवा दिने प्रयास भइरहेको कार्यालयले जनाएको छ । शे–फोक्सुन्डो गाउँपालिकाका वडा नम्बर ७, ८ र ९ मा भने कर्मचारी पुगेर सीमा पास वितरण गर्न सकेका छैनन् ।

लामो दूरी, कठिन भूगोल र बाटोघाटोको समस्याका कारण ती क्षेत्रमा पुग्न कठिन भएको प्रशासनले जनाएको छ । हालसम्म गाउँपालिकाका विभिन्न क्षेत्रमा करिब २०० सीमा पास वितरण भइसकेको छ । बाँकी रहेका वडा तथा बस्तीका नागरिकलाई पनि सीमा पास उपलब्ध गराउने गरी आवश्यक तयारी भइरहेको लामाले बताए । ‘सीमा पास वितरणका लागि कर्मचारी नै गाउँसम्म पुग्न नसक्नु उपल्लो डोल्पाको भौगोलिक विकटताको अर्को उदाहरण हो’ उनले भने, ‘सामान्य प्रशासनिक सेवा लिनसमेत दिनौँको पैदल यात्रा गर्नुपर्ने अवस्थाका कारण सीमा पासका लागि सदरमुकाम आउनुपर्ने बाध्यता स्थानीयका लागि थप खर्चिलो र झन्झटिलो बन्ने गरेको थियो ।’

छार्काताङसोङमा सबैलाई वितरण

छार्काताङसोङ गाउँपालिकाका सबै स्थानीय बासिन्दालाई सीमा पास वितरण भइसकेको प्रशासनले जनाएको छ । गाउँपालिकाभित्रका सीमा क्षेत्रसँग सम्बन्धित नागरिकलाई आवश्यक प्रक्रिया पूरा गरी पास उपलब्ध गराइएको हो । तीनवटै स्थानीय तहका बासिन्दाको चीनको तिब्बतसँग पुरानो सामाजिक तथा व्यापारिक सम्बन्ध छ । वर्षौँदेखि उनीहरूले सीमा नाकामार्फत दैनिक उपभोग्य सामग्री खरिद–बिक्री गर्दै आएका छन् ।

स्थानीयका अनुसार तिब्बतसँगको व्यापार उपल्लो डोल्पाको मौसमी आर्थिक गतिविधिको महत्वपूर्ण आधार हो । विशेषगरी सीमा नाका सञ्चालन हुने समयमा स्थानीयको आवतजावत बढ्ने गर्छ । उपल्लो डोल्पाका धेरै बस्तीमा सडक तथा यातायातको सहज पहुँच नहुँदा दैनिक उपभोग्य सामग्रीको आपूर्ति चीनको तिब्बततर्फ बढी निर्भर छ । चामल, पिठो, नुन, तेललगायत खाद्यान्न तथा अन्य आवश्यक सामग्रीसमेत तिब्बतबाट ल्याउने गरिएको स्थानीय बताउँछन् ।

स्थानीय उत्पादनले मात्रै वर्षभरको आवश्यकता धान्न नसक्ने र नेपालतर्फका बजारसम्म पुग्न भौगोलिक कठिनाइ हुने भएकाले सीमापारको बजार व्यावहारिक विकल्प बनेको स्थानीय डोल्मा लामाले बताइन् । उनका अनुसार मरिमला तथा क्याटो नाका सञ्चालन भएपछि स्थानीय बासिन्दा तिब्बततर्फ पुगेर आवश्यक सामग्री खरिद गर्छन् । कतिपयले व्यापारिक प्रयोजनका लागि सामान ओसारपसारसमेत गर्दै आएको उनको भनाइ छ ।

‘वर्षायामपछि सीमावर्ती नाका सञ्चालन हुने समय नजिकिँदै जाँदा सीमा पास लिने स्थानीयको चासोसमेत बढ्ने गरेको छ’ उनले भनिन्, ‘समयमै पास नपाए सीमा क्षेत्रमा आवतजावत तथा व्यापारमा समस्या हुनेगरेको छ । तयसैले हामीले सहज र समयमै पास वितरण गर्न माग गरेका हौँ ।’ उनका अनुसार प्रशासनले गाउँमै पुगेर सीमा पास वितरण थालेपछि स्थानीयले लामो दूरीको यात्रा र खर्चबाट राहत पाएका छन् ।

विशेषगरी वृद्धवृद्धा, महिला तथा अत्यन्तै दुर्गम बस्तीमा रहेका नागरिकका लागि यो सेवा महत्वपूर्ण बनेको छ । यसअघि सीमा पास बनाउन सदरमुकाम वा तोकिएको कार्यालयसम्म पुग्नुपर्ने अवस्था हुँदा स्थानीयले यात्रा, बसोबास र खानपानमा अतिरिक्त खर्च गर्नुपथ्र्यो । भौगोलिक कठिनाइका कारण एउटा प्रशासनिक कामका लागि पनि धेरै दिन छुट्याउनुपर्ने अवस्था थियो ।

प्रशासनले पनि बाँकी रहेका क्षेत्रमा समन्वय गरी सीमा पास वितरणलाई निरन्तरता दिने जनाएको छ । विशेषगरी शे–फोक्सुन्डो गाउँपालिकाका वडा नम्बर ७, ८ र ९ तथा डोल्पाबुद्ध गाउँपालिकाका वडा नम्बर १, २ र ३ मा बाँकी रहेका नागरिकलाई पास उपलब्ध गराउन पहल भइरहेको छ । त्यसैले समयमै सीमा पास उपलब्ध गराउनु दुर्गम सीमावर्ती नागरिकको सहज आवतजावतसँगै उनीहरूको दैनिक जीवन र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने आधारसमेत बनेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ भदौ ५ गते शुक्रबार