जाजरकोट ।
जिल्लामा बाढीपहिरोले घर, जमिन र पूर्वाधारमा क्षति पु¥याएपछि जोखिमपूर्ण अवस्थामा रहेका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न अध्ययन थालिएको छ । त्यसका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट भूगर्भविद्सहित आठ जनाको प्राविधिक टोली जाजरकोट पुगेको छ । उक्त टोलीले भेरी नगरपालिकाका पहिरो प्रभावित क्षेत्रको जमिनको अवस्था अध्ययन गर्दै जोखिममा रहेका बस्तीको पुनःस्थापना तथा सुरक्षित स्थान पहिचान गर्ने भएको हो ।
भूगर्भविद् प्रकाश पोखरेलका अनुसार टोलीले भेरी नगरपालिका–२ रिसाङबाट बुुधबारदेखि स्थलगत अध्ययन सुरु गरेको छ । पहिरोले क्षति पु¥याएका स्थानको भौगोलिक तथा भौगर्भिक अवस्था, जमिनको स्थायित्व, पहिरोको सम्भावित विस्तार र सुरक्षित स्थानको सम्भाव्यताबारे अध्ययन गरिने उनले बताए । उनका अनुसार जियोलोजिस्ट डा.लेखराज भट्ट, शाखा अधिकृत निरञ्जनप्रकाश निरौला, इन्जिनियर जगदीश विष्ट र मेटेरियोलोजिस्ट राजन लामिछाने सहितका विज्ञ तथा प्राविधिक टोलीमा सहभागी छन् ।
‘प्राविधिक टोलीले भेरी नगरपालिका–१, २, ३ र ४ का विभिन्न पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरिरहेको छ’ उनले भने, ‘अध्ययनका क्रममा जोखिममा रहेका बस्ती तथा घरधुरीको अवस्था, जमिन चिरिएको वा भासिएको अवस्था, पहिरोको प्रकृति र भविष्यमा हुन सक्ने जोखिमको मूल्यांकन गरिनेछ ।’ साथै पहिरोको जोखिम, जमिनको अवस्था र सुरक्षित स्थानको सम्भाव्यता अध्ययन भइरहेको उनले बताए । यता प्रतिनिधिसभा सदस्य खडकबहादुर बुढाले भूगर्भीय अध्ययनबाट सुरक्षित स्थान पहिचान भएपछि मात्रै प्रभावित नागरिकलाई स्थायी वा अस्थायी रूपमा स्थानान्तरण गर्ने प्रक्रिया अघि बढाउन आवश्यक पहल गरिने बताए ।
तत्काल भूगोलको अध्ययन गरेर सुरक्षित स्थान निक्र्यौल भएपछि मात्रै प्रभावित नागरिकलाई त्यहाँ स्थानान्तरण गर्नुुपर्ने उनको भनाइ छ । गत साउन ३० गते आएको पहिरोले रिसाङलगायत भेरी नगरपालिका क्षेत्रका विभिन्न बस्ती प्रभावित भएका थिए । पहिरोमा चार जनाको मृत्यु भएको थियो भने सयौँ स्थानीय प्रभावित भएका छन् । घर, खेतीयोग्य जमिन, सडक र खानेपानीका संरचनामा क्षति पुगेपछि कतिपय परिवार अहिले पनि जोखिमयुक्त क्षेत्रमा बस्न बाध्य छन् ।
भने बाढीपहिरोबाट विस्थापित भएर विद्यालय तथा अन्य अस्थायी संरचनामा आश्रय लिइरहेका नागरिकमा स्वास्थ्य समस्या देखिन थालेपछि विपद्को संकट अर्को चरणमा प्रवेश गर्ने जोखिम बढेको छ । सुरक्षित स्थानमा सारिएका परिवार दूषित खानेपानी, भीडभाड र कमजोर सरसफाइका कारण संक्रमणको जोखिममा परेका छन्। हाल भेरी नगरपालिका–२ स्थित विजया प्राथमिक विद्यालय र त्रिभुवन आधारभुुत विद्यालयमा विस्थापित परिवारलाई राखिएको छ ।
बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला र सुत्केरीसमेत एउटै अस्थायी आश्रयस्थलमा बसिरहेकाले स्वास्थ्य जोखिम अझ संवेदनशील बनेको हो । प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीका अनुसार पछिल्ला दिनमा अस्थायी शिविरमा रहेका विस्थापितमा स्वास्थ्य समस्या देखिन थालेको छ । विस्थापित नागरिकको स्वास्थ्य अवस्थालाई प्राथमिकतामा राखेर परीक्षण तथा उपचार सुरु गरिएको उनले बताए । उनका अनुुसार सुरक्षित खानेपानी, व्यवस्थित शौचालय, फोहोर व्यवस्थापन, पोषण, सुरक्षित आवास र नियमित स्वास्थ्य निगरानी जस्ता कार्यमा जोड दिइएको छ ।
यता भेरी नगर प्रमुख चन्द्रप्रकाश घर्तीले विस्थापितका लागि सुरक्षित खानेपानी व्यवस्थापनको तयारी भइरहेको बताए । तत्कालका लागि खाना तथा लत्ताकपडाको समस्या नरहेको र आवश्यक राहत वितरण भइरहेको उनको भनाइ छ । जिल्ला प्रशासन कार्यालयले एकद्वार प्रणालीमार्फत राहत वितरण गरिरहेको उनले जानकारी दिए । जिल्लामा बाढीपहिरोबाट १६८ घरधुरीका ८९३ जना प्रभावित भएको उल्लेख छ ।
प्रभावित नागरिकका लागि विभिन्न स्थानमा चारवटा अस्थायी शिविर सञ्चालनमा छन् । ती शिविरमा १०८ जना बालबालिका, छ जना सुत्केरी र पाँच जना गर्भवती महिला आश्रय लिएर बसिरहेका छन् । भूकम्पपछि निर्माण गरिएका १३ वटा अस्थायी टहरा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने १२ वटा आंशिक क्षति भएका छन् । थप १९३ वटा अस्थायी टहरा तथा घर जोखिममा रहेको विवरण छ । बाढीपहिरोले ३१ वटा गोठमा क्षति पु¥याएको छ भने ३१ वटा पशुचौपायाको मृत्यु भएको छ ।
भने विस्थापित नागरिकमा स्वास्थ्य समस्या बढ्दै जाँदा जाजरकोटको स्वास्थ्य सेवा प्रणालीमाथि पनि दबाब बढेको छ । तर ५० शय्याको जिल्ला अस्पतालमा पर्याप्त चिकित्सक नहुँदा उपचार सेवा प्रभावित भएको छ । त्यसैले जाजरकोटमा अहिलेको प्राथमिकता राहत वितरणसँगै सुरक्षित पुनःस्थापना र स्वास्थ्य सुरक्षातर्फ केन्द्रित हुनुपर्ने देखिन्छ । अन्यथा पहिरोबाट सुरु भएको विपद् जोखिम, असुरक्षित शिविर, दूषित पानी र कमजोर स्वास्थ्य पूर्वाधारका कारण अर्को सार्वजनिक स्वास्थ्य संकटमा परिणत हुनसक्ने खतरा कायमै छ ।









प्रतिक्रिया दिनुहोस्