बाँसगढी (बर्दिया) ।
बर्दियाको बाँसगढीमा सातौँ बाँसगढी औद्योगिक, कृषि पर्यटन व्यापार मेला तथा बर्दिया माघ महोत्सव–२०८२ हुने भएको छ । ‘कृषि, पर्यटन, उद्योग, व्यापार तथा संस्कृतिको पहिचान, लागूऔषधरहित बाँसगढी हाम्रो अभियान’ भन्ने मूल नारासहित बाँसगढी उद्योग वाणिज्य संघको आयोजनामा महोत्सव सञ्चालन हुने भएको हो ।
संघका अध्यक्ष तथा मूल आयोजक समितिका संयोजक बद्रीनाथ बरालका अनुसार महोत्सव पुस ३० गतेदेखि माघ ९ गतेसम्म सञ्चालन हुनेछ । उनका अनुसार महोत्सव घोषणासँगै पूर्वतयारी र प्रचारप्रसारको तयारी भइरहेको छ । बर्दियाको पर्यटन प्रवद्र्धन, व्यवसाय विकास र लागूऔषध दुव्र्यसनविरुद्ध सचेतना फैलाउने महोत्सवको मुख्य उद्देश्य रहेको अध्यक्ष बरालले बताए ।
उनले भने, ‘महोत्सवको मिति घोषणा भइसकेको छ । त्यसैको पूर्वतयारीमा छौँ । उपसमितिहरू गठन भएर काम गरिरहेका छन् ।’ महोत्सवमार्फत लागूऔषध दुव्र्यसनविरुद्ध अभियानलाई सशक्त रूपमा सञ्चालन गरिने उनले बताए । लागूऔषध दुव्र्यसनमुक्त समाज निर्माणका लागि महोत्सवमा आउने कलाकारहरूले सचेतना फैलाउने, त्यसका विरुद्ध सडक प्रदर्शनदेखि अन्य थुप्रै कार्यक्रम रहेको अध्यक्ष बरालको भनाइ रहेको छ ।
यसैगरी महोत्सवमार्फत स्थानीय उत्पादनको बजारीकरण, स्टलमा कृषि र स्थानीय उत्पादनलाई प्राथमिकता दिइनेसमेत उनको भनाइ छ । महोत्सवको पूर्वतयारीका लागि ९ वटा उपसमिति गठन भइसकेको उनले बताए । महोत्सवमा बर्दिया डान्स आइडल प्रतियोगिता, थारू सांस्कृतिक नृत्य प्रतियोगितासमेत सञ्चालन गरिने प्रचारप्रसार समितिका संयोजक सञ्जुकुमार ओलीले बताए ।
महोत्सवमा ख्यातिप्राप्त राष्ट्रियस्तरका कलाकार र स्थानीय कलाकारहरूको समेत प्रस्तुति रहने उनले बताए । बाँसगढी सातौँ बाँसगढी औद्योगिक, कृषि पर्यटन व्यापार मेला तथा बर्दिया बाघ महोत्सव–२०८२ को मुख्य प्रायोजक पाँचु एण्ड गुड्डु ज्वैलर्स रहेको छ ।
महोत्सवका प्रायोजकका रूपमा बर्दिया डिष्ट्रिलरी प्रालि र चौधरी पोल्ट्री सप्लायर्स रहेका छन् । महोत्सवको संरक्षक बाँसगढी नगरपालिका रहेको छ । महोत्सवमा १ लाख ५० हजार दर्शक भित्र्याउने लक्ष्य राखिएको आयोजक बाँसगढी उद्योग वाणिज्य संघले जनाएको छ ।
बागलुङ महोत्सवमा आठ करोडको कारोबार
उद्योग वाणिज्य संघ बागलुङको आयोजनामा भएको बागलुङ महोत्सवमा रु आठ करोडको कारोबार भएको छ । संघका अनुसार महोत्सवमा करिब ४ लाख दर्शकले अवलोकन गरेका छन् । बागलुङ नगरपालिका–१ स्थित बाङ्गेचौर खेलमैदानमा यही पुस ११ गतेदेखि सुरु भएको महोत्सव यही पुस २२ गतेसम्म सञ्चालन गरिएको थियो ।
महोत्सवमा विभिन्न व्यासायिक स्टल साथै, स्थानीय उत्पादनलाई प्राथमिकतामा राखेर ‘मेड इन बागलुङ’ नाम दिएर बागलुङमा उत्पादन हुने वस्तुको बिक्री वितरण तथा प्रदर्शन निकै महत्वपूर्ण रहेको थियो । महोत्सवमा अटो मोबाइलदेखि होटल रेस्टुरेन्ट र विभिन्न प्रकारका व्यापारिक स्टलहरू राखिएको थियो । स्टलमा पनि उल्लेखनीय व्यापार भएको उद्योग वाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्यले जानकारी दिए ।
संघले महोत्सवबाट संकलन भएको रकमबाट सामाजिक उत्तरदायित्वअन्तर्गत मानवसेवा आश्रम बागलुङका लागि रु पाँच लाख ११ हजार १११ लाख र नेपाल पत्रकार महासंघ बागलुङका लागि रु एक लाख सहयोग प्रदान गरेको संघका निवर्तमान अध्यक्ष नरेश कँडेलले जानकारी दिए । महोत्सवबाट बचेको रकम व्यावसायीहरूको कल्याणकारी कोष, बागलुङ बजारमा सिसी क्यामेरा जडान तथा मर्मत, स्वास्थ्यका लागि खेलकुद कोष, अक्षयकोष निर्माण, कोशेली घर सञ्चालन आदिमा खर्च गरिनेछ ।









प्रतिक्रिया दिनुहोस्