जाजरकोट ।
जिल्लाको कुशे गाउँपालिका–१ तारेचौर बजारस्थित भित्री सार्वजनिक सडकमा एक व्यक्तिमाथि कुटपिट र जुत्ताको माला लगाएको आरोपमा चारजनालाई पक्राउ गरिएको छ । गत आइतवार बिहान करिब ८ः३० बजेको समयमा कुशे गाउँपालिका–१ स्याक्रीका निमबहादुर थापालाई केही व्यक्तिहरूले कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।
उक्त भिडिओ भाइरल भएपछि जिल्ला प्रहरी कार्यालय जाजरकोटले अनुसन्धान थालेको थियो । सो घटनामा संलग्न चारजनालाई प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुधिरकुमार खड्काले जानकारी दिए । उनकाअनुसार पक्राउ पर्नेमा कुशे गाउँपालिका–१ बस्ने अन्दाजी ३२ वर्षका शेरबहादुर चलाउने, वडा नम्बर ३ बस्ने ३६ वर्षका कर्णबहादुर बस्नेत, वडा नम्बर ४ बस्ने ३७ वर्षका जनक जैसी र वडा नम्बर ६ बस्ने २१ वर्षका दिपेन्द्र सिंह रहेका छन् ।
उनीहरूलाई सोमबार जिल्ला प्रशासन कार्यालय जाजरकोटबाट सात दिनको म्याद थप भई जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखिएको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । केही दिनअघि खाद्यान्न तथा जिन्सी सामग्री चोरी गरेको आरोप लगाउँदै स्थानीयहरूले निमबहादुर थापालाई जुत्ताको माला लगाइदिने र कालोमोसो दल्ने गरेका थिए । तर सो घटनाबारे पुष्टि भएको छैन ।









प्रतिक्रिया दिनुहोस्