बुटवल ।
बुटवलमा जारी औद्योगिक प्रदर्शनीको नवौँ दिन शनिबार मात्रै करिब ७५ हजार अवलोकनकर्ताले भ्रमण गरेका छन् । पुस ३ गतेदेखि १७ गतेसम्म रुपन्देही उद्योग संघले बुटवलमा आयोजना भएको १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवमा शनिबार अहिलेसम्मकै एकैदिनमा धेरै अवलोकनकर्ताको सहभागिता भएको प्रदर्शनी प्रबन्धक यादव भण्डारीले दाबी गरे ।
प्रदर्शनीका लागि छुट्टाइएका नियमित काउन्टरहरूमा सहभागीको दिनभर भीड थेग्न नसकेपछि अतिरिक्त काउन्टरको व्यवस्थापन गरेर दिनभर टिकट बिक्री गरिएको थियो । प्रदर्शनी सुरु भएको ९ दिनमध्ये एकैदिन ठूलो सङ्ख्यामा सहभागी आएको र स्टलहरूमा पनि त्यतिकै धेरै कारोबार भएको संघका कोषाध्यक्ष विशाल वेलवासेले बताएका छन् ।
पुसको पहिलो सातादेखि नै बुटवलमा हुस्सु तथा शीतलहर सुरु भए पनि त्यसको बाबजुत अवलोकनकर्ताको घुइँचो लागेको हो । शुक्रबार दिनभरजसो घाम लागेपनि शनिबार बिहानैबाट चिसो हुस्सु लागेपनि त्यसको बाबजुत राती अबेरसम्म प्रदर्शनीस्थलमा सहभागिहरूले घुँइचो लागेको थियो । चिसो बढेका कारण उडान अवरुद्ध हुँदा केही राष्ट्रिय कलाकार चितवन आएर गाडीबाट आइरहेको र धेरैजसो पूर्वघोषित कलाकारहरूलाई जसरी पनि सहभागी गराउनेगरी साँस्कृतिक कार्यक्रमको संयोजन भइरहेको साँस्कृतिक उपसमिति संयोजक लालप्रसाद बस्यालले बताए ।
संघका सल्लाहकार हिरामणी भट्टराईका अनुसार प्रदर्शनीमा शनिबार दिनभर अतिरिक्त टिकट काउन्टर चलाएर अवलोकनकर्तालाई भित्र जाने व्यवस्थापन गरिएको थियो । सचिव मन्जु भुसालका अनुसार प्रदर्शनीमा दिनभरजसो सबै स्टलहरूमा निकै ठूलो कारोबार भएको थियो भने सहभागी धेरै महिला उद्यमीहरू सहभागी रहेका छन् । यहाँ आउने अधिकांश अवलोकनकर्ताहरू महिला उद्यमीको उत्पादनमा ध्यान केन्द्रीत गरेको र ती उत्पादनहरूको बिक्री वितरण पनि राम्रो भएको थियो ।
प्रदर्शनीमा स्वदेशी उत्पादन र यसको प्रविधिबारे जानकारी दिने, उद्योगी र उपभोक्ताहरूको सोझो सम्पर्कको स्थापना गर्ने, उत्पादित वस्तुहरूको बजार प्रवद्र्धन र गुणात्मक प्रतिस्पर्धाको विकास गर्ने, उद्योगीहरूका बीचमा समस्या, अवसर र चुनौतीबारे अन्तक्र्रिया गर्ने विषयलाई प्राथमिकतामा राखेको संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले बताए ।
‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ सुरु भएको प्रदर्शनीमा स्वदेशी उत्पादनको प्रदर्शन र बजारीकरण गर्ने मुख्य उद्देश्यका साथ सञ्चालन हुने प्रदर्शनीमा ८ लाख दर्शकले अवलोकन गर्ने र ३० करोडको आर्थिक कारोबार हुने लक्ष्य राखिएको छ ।









प्रतिक्रिया दिनुहोस्