धनगढी ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी कैलालीले सबै पाँच निर्वाचन क्षेत्रबाट उम्मेदवारहरूको नाम केन्द्रमा सिफारिस गरेको छ । जिल्ला कार्यदलको बैठकबाट महिला र युवासहित विभिन्न आकांक्षीहरूको नाम केन्द्रमा पठाउने निर्णय गरिएको हो ।
कृष्णराज सुबेदीको अध्यक्षतामा बसेको जिल्ला कार्यदलको बैठकले प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लाबाट आएका प्रारम्भिक प्रस्तावहरूमा छलफल गर्दै केही नामहरू संशोधन तथा संक्षिप्त गरी अन्तिम सूची तयार पारेको थियो । जिल्ला कार्यदलका अनुसार संगठनात्मक सन्तुलन, राजनीतिक अनुभव, समावेशिता र क्षेत्रीय प्रतिनिधित्वलाई ध्यानमा राखेर उम्मेदवार सिफारिस गरिएको छ ।
पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमध्ये क्षेत्र नम्बर २ र ५ बाट डा. भीम रावलको नाम सिफारिस गरिएको छ । यससँगै क्षेत्र नम्बर ५ बाट पूर्वमुख्यमन्त्री त्रिलोचन भट्ट र भानुभक्त जोशीको नाम पनि केन्द्रमा सिफारिस गरिएको छ । रावलको नाम यसअघि अछाम जिल्लाबाट पनि सिफारिस भइसकेको छ भने भानुभक्त जोशीको नाम बझाङ र त्रिलोचन भट्टको नाम डोटी जिल्लाबाट पनि सिफारिस भएको छ ।
जिल्ला कार्यदलले प्रतिनिधिसभा निर्वाचनमा महिला र युवाको सहभागिता सुनिश्चित गर्न प्रत्येक निर्वाचन क्षेत्रमा कम्तीमा एक महिला र एक युवा उम्मेदवारलाई सिफारिस गरेको जनाएको छ । पार्टीभित्र नयाँ पुस्तालाई अघि बढाउने र समावेशी राजनीतिलाई मजबुत बनाउने उद्देश्यले यस्तो व्यवस्था गरिएको कार्यदलका सदस्यहरूको भनाइ छ ।
कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट हरि ज्ञवाली, भैरव रावल, सुरेन्द्र देउकर, प्रेम साउद, बालकृष्ण चौधरी र ललित थापाको नाम सिफारिस गरिएको छ । यस क्षेत्रबाट युवा उम्मेदवारका रूपमा तपेन्द्र शाह र महिला उम्मेदवारका रूपमा सरस्वती शाहको नाम केन्द्रमा पठाइएको छ ।
निर्वाचन क्षेत्र नम्बर २ बाट रावल, लालबहादुर सोडारी, कर्णप्रसाद जैशी र नन्दबहादुर साउदको नाम सिफारिस गरिएको छ । यस क्षेत्रमा युवाबाट शिवराज सञ्जाल र महिलाबाट बसन्ती डगौराको नाम समावेश गरिएको छ ।
निर्वाचन क्षेत्र नम्बर ३ मा विरभान चौधरी, लाजुराम चौधरी, प्रकाश मिश्र, विपिन आचार्य र कमलप्रसाद चौधरी सिफारिस सूचीमा परेका छन् । महिला उम्मेदवारका रूपमा विनिता चौधरी र युवा उम्मेदवारका रूपमा वीरेन्द्र जिसीलाई अघि सारिएको छ । निर्वाचन क्षेत्र नम्बर ४ बाट हरिराम चौधरी उत्सव, दीर्घ सोडारी, उद्धव भट्टराई, कृष्णराज सुबेदी, मीनराज बडू, लक्ष्मण कुवर र लक्षीराम आचार्यको नाम सिफारिस गरिएको छ । यस क्षेत्रबाट युवा उम्मेदवार बमबहादुर विक र महिला उम्मेदवार चुनकुमारी चौधरी रहेका छन् ।
निर्वाचन क्षेत्र नम्बर ५ बाट डाक्टर भीम रावलसहित भानुभक्त जोशी, त्रिलोचन भट्ट, नरबहादुर शाह, ओमप्रकाश पुन, प्रेम बिसी, सुरेन्द्र यादव र डिएल भण्डारीको नाम सिफारिस गरिएको छ । यस क्षेत्रमा महिलाबाट सुशीला बुढाथोकी र लक्ष्मी चौधरी विनाडी तथा युवाबाट मनोज पुन मगरको नाम केन्द्रमा पठाइएको छ ।









प्रतिक्रिया दिनुहोस्