नेपालगन्ज (बाँके) ।
नेपाल वन पैदावार उद्योग व्यवसायी संघ बाँकेको दसौँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशन बुधबार नेपालगन्जमा सम्पन्न भएको छ । संघ बाँकेका अध्यक्ष टेकबहादुर पुनको अध्यक्षता र महासचिव विक्रमसिंह सिजापतिले सञ्चालन गरेको कार्यक्रमका प्रमुख अतिथि नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघका पूर्वअध्यक्ष कपिल अधिकारी रहेका थिए ।
उद्घाटन सत्रको कार्यक्रममा प्रमुख अतिथि अधिकारीले किसानहरूले आफ्ना निजी आवादीमा उत्पादन गरिएका वन पैदावारलाई अन्नबाली सरह बिक्री वितरण गर्न र ओसारपसार गर्न पाउनुपर्ने बताए । उनले किसानले आफ्ना निजी आवादी जग्गामा उत्पादन गरेका वन पैदावारलाई बिना रोकावट अन्य अन्नबाली जसरी नै बिक्री वितरण तथा ओसारपसार गर्न पाउनुपर्नेमा जोड दिए ।
उनले निजी आवादीका वन पैदावारजन्य काष्ठ वस्तुहरू किसानले सजिलैसँग किनबेच गर्न तथा ओसारपसार गर्न नपाउँदा मर्कामा परेका भन्दै भने, ‘अन्य अन्नबालीहरू किसानले खरिदबिक्री गर्दा ओसारपसार गर्दा कसैको अनुमति लिनुपर्दैन, त्यसैगरी आफ्ना निजी जग्गामा लगाएका काष्ठजन्य वस्तु पनि खरिदबिक्री गर्न र ओसारपसार गर्न पनि अनुमति लिनु नपर्ने व्यवस्था गरिनुपर्छ, कैयौँ किसानहरू आफैँले उत्पादन गरेका काष्ठजन्य वस्तुहरू बिक्री गर्न र ओसारपसार गर्नका लागि ठूलो झन्झट व्यहोर्नुपर्ने व्यवस्थाले मर्कामा परेका छन् ।’
उनले किसानले उत्पादन गरेका वन पैदावारको उपयोग गर्न तथा बिक्री वितरण गर्नका लागि डिभिजन वन कार्यालय, सवडिभिजन वन कार्यालयबाट प्राविधिक नापजाँच गर्नुपर्ने, व्यावसायिक प्रयोजनका लागि निजी आवादीमा रहेका वन पैदावार संकलन तथा ओसारपसार गर्नुपरेमा सम्बन्धित स्थानीय तहको स्विकृति लिनुपर्ने, सम्बन्धित डिभिजन वन कार्यालयबाट स्विकृति लिनुपर्ने, एक स्थानीय तहबाट अर्को स्थानीय तह तथा एक जिल्लाबाट अर्को जिल्लामा ओसारपसार गर्नुपरेमा स्थानीय तह र डिभिजन वनको स्विकृति लिनुपर्ने जस्ता झन्झटिला र लामो प्रक्रियाले गर्दा किसानहरू विस्तारै हतोत्साहित हुँदै गएको उल्लेख गरे ।
उनले विदेशी आयातित काठको प्रतिस्पर्धा गर्नका लागि स्वदेशी काठको राजस्व घटाउनुपर्ने, अदृश्य खर्च न्यूनीकरण गर्नुपर्ने तथा मूल्य घटाउनुपर्ने, स्वदेशी काठ देशभित्र अनिवार्य उपभोग गर्ने वातावरण तयार पार्नुपर्ने, काठको विविधीकरण उत्पादन गर्नुपर्ने, उत्पादन लागत कम गर्नुपर्ने, उपभोक्तालाई स्वदेशी काठका बारेमा चेतना जगाउनुपर्नेमा जोड दिए । महासंघका सल्लाहकार कृष्णकाजी श्रेष्ठले काष्ठ व्यवसायमा लगानी र मुनाफाको सुनिश्चतता नभएको, यस पेशाप्रति नयाँ पुस्ताको आकर्षण नभएको तथा पुस्तान्तरण हुन नसकेको बताए ।
उनले व्यवसायीबीच आपसी अस्वस्थ प्रतिस्पर्धा तथा झन्झटिलो सरकारी प्रक्रिया, परिवर्तन भैरहने वन नियमावली लगायतका कारणले यो पेशा धराशायी बन्दै गएको उल्लेख गरे । डिभिजन वन कार्यालय बाँकेका वरिष्ठ वन अधिकृत टंकप्रसाद गुरुङले वन कार्यालय सदैव व्यवसायीका पक्षमा रहेको बताए । उनले राज्यले निर्दिष्ट गरेका सेवा प्रवाह वन कार्यालयबाट सरल रूपमा प्रवाह गरिरहेको उल्लेख गरे । सेवाग्राहीलाई सरल र सहज रूपबाट आवश्यक सेवा प्रदान गर्नका लागि वन नियमावलीले निर्दिष्ट गरेअनुसार आफू सधैँ लागिरहने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा नेपाल प्लाइउड उत्पादक संघका पूर्वअध्यक्ष चम्पालाल बोथरा, नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव भीम रानाभाट, जडिबुटी व्यवसायी संघका अध्यक्ष टंकप्रसाद आचार्य, निर्माण व्यवसायी संघ बाँकेका उपमहासचिव नरेश शाही, नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघका सदस्य सुरेश चन्द, लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष प्रदीप शाह, सदस्य निरञ्जनसिंह सिजापति लगायतले आआफ्ना धारणा राखेका थिए । उद्घाटन सत्रपश्चात् हुने बन्द सत्रले जिल्लाको नयाँ नेतृत्व छनोट गर्ने नेपाल वन पैदावर उद्योग व्यवसायी संघ बाँकेका महासचिव विक्रमसिंह सिजापतिले जानकारी दिए ।








प्रतिक्रिया दिनुहोस्