कोहलपुर (बाँके) ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले समृद्धिका लागि आर्थिक क्षेत्रको विकास, रोजगारी सिर्जना र उद्यमशीलता प्रवद्र्धन गर्न आवश्यक रहेको बताएका छन् । बुधबारदेखि कोहलपुर उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको कोहलपुर महोत्सव २०८२ को उद्घाटन सत्रमा बोल्दै अध्यक्ष ढकालले विकास र समृद्धिका लागि सरकार र निजी क्षेत्रबीच आपसी समझादारी आवश्यक रहेको बताएका हुन् ।
उनका अनुसार देशमा हुने विभिन्न आन्दोलनमा मुख्य रूपमा निजी क्षेत्रमाथि प्रहार हुने गरेको छ । देशको आर्थिक विकासमा ठूलो लगानी गरेका र रोजगारी सिर्जना गर्ने निजी क्षेत्रमाथि हुने गरेको प्रहारले आर्थिक क्षेत्रमा गम्भीर असर पर्ने गरेको बताए । पछिल्लो पटक भदौ २३ र २४ गते भएको जेनजी विद्रोहमा समेत देशको आर्थिक क्षेत्रले ठूलो क्षति व्यहारेको भन्दै देशव्यापी रूपमा हुने यस्ता मेला महोत्सवहरूले आर्थिक क्षेत्र चलायमान बनाउन भूमिका खेल्नेमा आशावादी देखिए ।
‘देशव्यापी रूपमा सञ्चालन हुने मेलामहोत्सवहरूले सम्बन्धित क्षेत्रको समग्र विकासमा भूमिका खेल्छन् । साथै आर्थिक, सामाजिक तथा पर्यटन विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएका छन् । कोहलपुर जस्तो उदाउँदो सहरको आर्थिक विकास, लगानी वातावरण र उद्यमशीलता प्रवद्र्धनमा यस महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने मेरो विश्वास रहेको छ ।’ अध्यक्ष ढकालले भने ।
अध्यक्ष ढकालले निजी क्षेत्रले नेपालको आर्थिक विकासमा ८० प्रतिशत योगदान गरेको दाबी गरे । निजी क्षेत्रले ८६ प्रतिशत रोजगारी सिर्जना गरेको उनको भनाइ थियो । निजी क्षेत्रले नेपालको पूर्वाधार निर्माणमा महत्वपूर्ण भूमिका खेलेको भन्दै उनले भने, ‘देशमा विभिन्न नाममा हुने हरेक आन्दोलनमा निजी क्षेत्रमाथि प्रहार हुने गरेको छ । निजी क्षेत्र नभएको भए रोजगारी नदिएको भए देशमा के हुन्थ्यो होला ?’
अहिलेको देशको आर्थिक क्षेत्र शिथिल अवस्थामा रहेको उल्लेख गर्दे अध्यक्ष ढकालले आर्थिक क्षेत्रको मनोबल उच्च बनाउन सरकारको साथ आवश्यक रहेकोमा जोड दिए । निजी क्षेत्र रोजगारी सिर्जनाकर्ता, पूर्वाधार निर्माणकर्ता र आर्थिक क्षेत्रको मेरुदण्ड भएकोले सरकारको साथ आवश्यक रहेको बताए । नेपाल उद्योग वाणिज्य महासंघले देशभरका व्यवसायिक हितका लागि काम गरिरहेको बताउँदै उनले वर्तमान सरकारलाई ‘प्राइभेट सेक्टर प्रोक्टेसन एण्ड प्रमोसन प्लान’ बुझाइएको जानकारी दिए । मन्त्रिपरिषद्बाट पास भएपछि योजना लागू हुने उनको भनाइ छ ।
यस्तै महासंघको अगुवाइमा उच्चस्तरीय आर्थिक सुधार आयोग गठन भएको र आयोगको सिफारिसअनुसार देशका विभिन्न क्षेत्रमा निजी क्षेत्रको लगानीमा मेघा प्राजेक्टहरू सञ्चालन भइरहेको उनले बताए । यसैगरी महासंघलाई समावेशी बनाउन विधान संशोधन गरेर सम्पूर्ण क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गरिएको उनको भनाइ थियो ।








प्रतिक्रिया दिनुहोस्