शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके)
कोहलपुर उद्योग वाणिज्य संघको आयोजनामा आजदेखि कोहलपुर महोत्सव–२०८२ सुरु हुँदैछ । ‘कोहलपुर महोत्सव, दिगो विकासको उत्सव’ भन्ने मूल नारासहित आजदेखि कोहलपुर महोत्सव सञ्चालन हुन लागेको हो । कोहलपुर उद्योग वाणिज्य संघले विसं २०६५ सालदेखि निरन्तर महोत्सव सञ्चालन गर्दै आएको छ । पछिल्लोपटक संघले तीन वर्षअघि महोत्सव सञ्चालन गरेको थियो । ‘कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी कोहलपुर महोत्सव–२०८२’ संघले आयोजना गर्न लागेको सातौँ महोत्सव हो ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक प्रदीप भट्टराईले महोत्सवको सम्पूर्ण तयारी पूरा भएको बताए । महोत्सवको आज दिउँसो १ ः०० बजे एक भव्य समारोहका बीच नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यतामा महोत्सव उद्घाटन हुँदैछ ।
उद्घाटनमा अध्यक्ष ढकालले कोहलपुर उद्योग वाणिज्य संघले सञ्चालन गर्ने ‘भिजिट बाँके नेसनल पार्क–२०८२’को घोषणा गर्ने पनि अध्यक्ष भट्टराईले जानकारी दिए । अध्यक्ष भट्टराईका अनुसार महोत्सवमार्फत कृषि, पर्यटन, सूचना प्रविधि, विद्युतीय अटोमोबाइल, स्थानीय हस्तकला, स्वास्थ्य, शिक्षा, उद्योग–वाणिज्य तथा कला–संस्कृतिलगायत विविध क्षेत्रसँग सम्बन्धित उत्पादन, सेवा, नवप्रवर्तन तथा कोहलपुर नगरको पहिचानलाई राष्ट्रियस्तरमा स्थापित गर्ने उद्देश्य रहेको छ ।
महोत्सवमा कूल ३ सय वटा स्टल रहनेछन् । त्यसमध्ये व्यावसायिक स्टल २५० वटा, होटल स्टल २२ वटा, प्रवद्र्धनात्मक स्टल १५ वटा, विभिन्न विषयगत प्रदर्शनी स्टल १० वटा र थारु गाउँ १ सहित ‐१७ वटा होटल÷रेस्टुरेन्ट) रहने उनले बताए । महोत्सव अवधिभर कृषि प्रदर्शनी, स्थानीय उत्पादन तथा उद्यम प्रवद्र्धन कार्यक्रम, सूचना तथा प्रविधि प्रदर्शनी, व्यावसायिक अन्तक्र्रियालगायत विविध गतिविधिहरू सञ्चालन गरिने उनको भनाइ छ ।
महोत्सवका मूख्य आकर्षक, समावेशी र मनोरञ्जनात्मक बनाउन राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारहरूका साथै स्थानीय कलाकारहरूको दैनिक साँस्कृतिक प्रस्तुति, विद्यालयस्तरीय नृत्य प्रतियोगितालगायत कार्यक्रम सञ्चालन गरिनेछ । साथै महोत्सवमा पहिलोपटक जलपरीको व्यवस्था गरिएको उनले बताए । कृषि तथा विज्ञान प्रदर्शनी जस्ता विशेष आकर्षणहरूले महोत्सवको विशिष्टता थप्ने अपेक्षा गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष भट्टराईले जानकारी दिए ।
महोत्सवमा प्रवेशका लागि सामान्य टिकट दर प्रतिव्यक्ति १ सय र सहुलियत टिकट दर ८० ‐विद्यार्थीहरूलाई मात्र) रूपैयाँँ रहेको छ । शारीरिक अपांगता भएका व्यक्ति तथा ७० वर्षमाथिका ज्येष्ठ नागरिकहरूलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । दर्शकहरूको सुरक्षा, शान्ति र सुव्यवस्था सुनिश्चित गर्न सीसीटीभीमार्फत निगरानी प्रत्यक्ष रूपमा निगरानी गरिनेछ ।
यस्तै प्रतिक्षित सुरक्षा गार्ड, स्वास्थ्य सहायता कक्षा, आगलागी नियन्त्रण उपकरण तथा ट्राफिक तथा पार्किङ व्यवस्थापन लगायतका सम्पूर्ण आवश्यक सुरक्षा प्रबन्धहरू मिलाइएको छ । हाल यातायात व्यवस्था कार्यालय रहेको पुरानो बसपार्कमा निःशुल्क पार्किङको व्यवस्था गरिएको छ ।
‘भिजिट बाँके नेसनल पार्क’ अभियान घोषणा गरिने
कोहलपुर उद्योग वाणिज्य संघले पुस ९ गतेबाट सुरु हुने महोत्सवमार्फत ‘भिजिट बाँके नेसनल पार्क’ अभियान सुरु गर्ने भएको छ । मनोरञ्जनसहित व्यावसायिक स्टल, स्थानीय उत्पादन प्रदर्शनी र पर्यटनलाई प्राथमिकता दिँदै संघले अभियान सञ्चालन गर्न लागेको हो । अभियानबारे प्रष्ट पार्दै अध्यक्ष भट्टराईले भने, ‘बाँके राष्ट्रिय निकुञ्ज हामीसँग जोडिएको छ । निकुञ्जको प्रचारप्रसारका लागि अहिलेसम्म राज्यले त्यति ध्यान दिएको देखिँदैन । निजी क्षेत्रसमेत प्रभावकारी रूपमा काम गर्न सकेको छैन । यसपटक हामीले महोत्सवबाट नै ‘भिजिट बाँके नेसनल पार्क’ अभियान घोषणा गर्दैछौँ ।’
यस्तै विभिन्न प्रदर्शनी र कोहलपुरका विविध विषय र आयामबारे प्यानल डिस्कसनका कार्यक्रमसमेत आयोजना गरिने उनको भनाइ रहेको छ । त्यस अलावा महोत्सवमा स्थानीयदेखि राष्ट्रियस्तरसम्मका कलाकारहरूको प्रस्तुति रहनेछ । लघु, घरेलु तथा साना–ठूला उद्योग–व्यवसाय प्रवद्र्धन, हस्तकला तथा कृषि–पशुजन्य उत्पादन प्रदर्शनी गरिने आयोजक कोहलपुर उद्योग वाणिज्य संघले जनाएको छ । यसैगरी, विद्यालयस्तरीय शैक्षिक र विज्ञान प्रदर्शनी, सूचना–सञ्चार प्रविधिका नयाँ आयामबारे छलफल, लोकसाँस्कृतिक प्रस्तुति, नयाँ प्रतिभा खोजी प्रतियोगिता र महिला विशेष कार्यक्रम आयोजना गरिनेछ ।
कोहलपुरलाई प्रदेशकै प्रमुख व्यापारिक तथा साँस्कृतिक केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्यसहित यो महोत्सवलाई यस वर्ष अझ व्यवस्थित, समावेशी र सहभागिमूलक बनाइने आयोजकको दाबी छ । महोत्सवका माध्यमबाट स्थानीय उद्यमीको क्षमतावृद्धि, व्यावसायिक वातावरण विस्तार तथा समग्र क्षेत्रको दिगो आर्थिक प्रगतिमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको कोहलपुर उद्योग वाणिज्य संघले जनाएको छ।








प्रतिक्रिया दिनुहोस्