भारतीय पर्यटकले भोग्ने समस्यामाथि नेपालगन्जमा मन्थन



नेपालगन्ज ।

नेपालगन्जमा भारत र नेपालका पर्यटन व्यवसायीबीच सीमापार पर्यटनबारे मन्थन भएको छ । नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल टुर एण्ड ट्राभल एजेन्ट्स नाट्टा बाँके च्याप्टरको संयोजनमा आयोजित नेपाल भारत क्रस बोर्डर टुरिज्म कन्क्लेवमा भारतीय पर्यटकहरूलाई नेपालमा आकर्षित गर्नका लागि आवश्यक सुधारका बारेमा मन्थन भएको हो । कार्यक्रममा सहभागिहरूले नेपाल भारतीय पर्यटकहरूका लागि एक प्रमुख गन्तव्य भएपनि राज्य पक्षबाट पर्यटकमैत्री वातारण बनाउने काममा कमजोरी रहेको बताए ।

भारतको उत्तर प्रदेश लगायत विभिन्न सहरहरूबाट आमन्त्रित पर्यटनकर्मी व्यवसायी तथा पत्रकारहरूले पर्यटकहरूको रेकर्ड राख्ने कानुनी प्रक्रियालाई एकद्वार पद्धतिमा लैजानुपर्नेदेखि प्रहरीबाट हुने अनावश्यक चेकजाँच तथा हैरानी हटाउनुपर्ने सुझाव दिए । उनीहरूले भारतीयलाई प्रहरीबाट सौतेला व्यवहार हुने गरेको संज्ञा दिँदै स्वागतमैत्री र पारिवारिक माहौल दिने व्यवस्था गर्न सुझाव दिए ।

झलक गैरेले सञ्चालन गरेको कन्क्लेवमा पूर्व प्रतिनिधिसभा सदस्य डा. धवलशमशेर राणा, पर्यटन बोर्डका कार्यकारी अधिकृत दीपक जोशी, बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसी र नाट्टा बाँकेका निवर्तमान अध्यक्ष श्रीराम सिग्देल वक्ता रहेका थिए । करिब ४० जना भारतीय पर्यटन व्यवसायी तथा पत्रकारहरूसमेत सहभागी उक्त कार्यक्रममा नेपालका पर्यटन व्यवसायीसँग व्यापारिक संवाद पनि भएको थियो । भारतबाट आएका पाहुनाहरूलाई नेपालगन्जका पर्यटकीय गतिविधि र बाँके राष्ट्रिय निकुन्ज तथा होमस्टेहरूको अवलोकन गराउने कार्यक्रम रहेको नाट्टा बाँकेका अध्यक्ष डिल्लिराज रेग्मीले जानकारी दिए ।

‘भन्सार र सवारी साधनको शुल्क एकद्वार बनाउ’

भारतीय पर्यटन व्यवसायी तथा पत्रकारहरूले नेपालगन्जको जमुनाह नाका हुँदै आएका पर्यटकरुले गरेका गुनासाहरू सुनाउँदै त्यसमध्ये एक समस्या भन्सार र यातायात सम्बन्धि राजस्व तिर्ने स्थान एकै ठाउँमा एकद्वार मार्फत हुनुपर्ने बताए । अहिले नेपालगन्जको जमुनाह नाकामा भन्सार शुल्क र त्यहाँबाट पाँच किलोमिटर भित्र मुख्य सहर कटिसकेपछि मात्रै यातायात कार्यालयसम्म पुग्न सकिन्छ ।

यस्तो अवस्थामा जमुनाहदेखि कारकाँदोसम्म पुग्दा अनावश्यक समय खर्च हुने गरेको र बीच बाटोमा प्रहरीले चेकजाँच गर्दा जरिवानामा पर्ने तथा अनुचित असुली हुने समस्या रहेको गुनासो पर्यटकहरूले गरेका पर्यटन व्यवसायीहरूले बताए । उक्त समस्यालाई हटाउन जमुनाह नाकामै भन्सार र यातायात दुवैको शुल्क लिने एकद्वार प्रणाली विकास गर्न उनीहरूको सुझाव छ । त्यसैमाथि यातायात कार्यालयका कर्मचारीहरूले घुस माग्ने गरेको गुनासो पनि आफूहरूकहाँ आएको ती पर्यटन व्यवसायीहरूको भनाइ छ ।

‘पर्यटकहरूको इन्ट्री एकपटक गरे पुग्ने व्यवस्था गर’

भारतीय पर्यटक तथा पत्रकारहरूले नेपालमा प्रहरीले सुरक्षा चेकजाँचका लागि गर्नुपर्ने आवश्यक चेकजाँचबाहेक जहाँ भेट्यो त्यहीँ रोकेर चेकजाँच गर्ने गरेको भन्दै त्यसबाट पर्यटकहरूमा नराम्रो छाप परेको बताए । प्रहरीले भारतीय नम्बर प्लेटको गाडीलाई जहाँ देख्यो त्यही रोक्ने गर्नुभन्दा एकपटक सबै जाँच प्रक्रिया पूरा गरिसकेपछि पर्यटकहरूलाई विशेष व्यवस्था गर्न सकिएमा त्यसले थप पर्यटकहरू आकर्षित गर्न सहज हुने सुझाव दिए ।

त्यसको लागि पर्यटकका सवारी भारतको उत्तराखण्ड सरकारले गरेको जस्तै विशेष खाले स्टिकरको प्रयोग गर्न सकिने र त्यसलाई निश्चित समयका लागि मान्यता दिने व्यवस्था गर्न सकिने उनीहरूको सुझाव छ । प्रहरीले सुरक्षा चेकजाँचका सबै प्रोटोकल पूरा गर्न पाउनुपर्ने तर अनावश्यक र जहाँ पायो त्यहीँ दुःख दिने प्रवृत्ति अन्त्य गर्न उनीहरूको सुझाव छ ।

भारतबाट आएका पर्यटन व्यवसायी पुनितसिंह चावलाले भने, प्रोटोकल पालना नै नगर्नुस् भनेको होइन । तर, पाहुनाहरूजस्तो व्यवहार त गरिदिनुस् । पर्यटकलाई दिन सकिने लिबरटी दिनुहोस् भन्ने अनुरोध हो । नेपाल साह्रै सुन्दर देश हो । हामी सधैँ यहाँ आउन चाहन्छौँ ।’

‘सीमानामा पर्यटकहरूका लागि आवश्यक सूचनाहरूको व्यवस्था गर’

भारतबाट कन्क्लेवमा आमन्त्रित व्यक्तिहरूले सीमामा हुने अव्यवस्थाले गर्दा पर्यटकहरूमा नकारात्मक छाप पर्नेतर्फ सचेत गराउँदै सीमामा पर्यटन सम्बन्धि जानकारी र सूचनाहरूको व्यवस्था गर्न पनि सुझाव दिए । कतिपय पर्यटकहरू यातायात कार्यालय कहाँ छ भन्ने पत्ता लगाउनै नसकेर समस्यामा पर्ने गरेका बताए । यसका साथै पर्यटकहरूलाई काम लाग्ने होडिङ बोर्ड र सूचना सामग्रीहरू नामा क्षेत्रमा राख्न सकेमा पर्यटकहरू लाभान्वित हुने उनीहरूको भनाइ छ ।

भारतीय पर्यटन व्यवसायीले नेपालगन्जमा होटलहरू सुविधायुक्त रहेको, नजिकमा घुम्न लायक ठाउँहरू र हिल स्टेशनहरू एकदमै आकर्षक रहेको बताए । उनीहरूले नेपालगन्जबाट नजिकै पर्ने हर्रेमा भारतीय पर्यटकहरू लोभ्याउने वातावरण रहेपनि पूर्वाधारहरूको विकास हुन नसकेको बताए । ‘हर्रे मलाई मन्सुरीजस्तै लाग्छ । तर यसबारेमा धेरै पर्यटकहरूलाई थाहा छैन,’ एक भारतीय व्यवसायीले भने, ‘तर त्यहाँ राम्रो खाना र बस्ने ठाउँ बन्न सकेको छैन । पर्यटकहरू धेरै खर्च गर्न चाहन्छन्, तर खर्च गर्ने ठाउँ छैन ।’

भारतीय पर्यटन व्यवसायीहरूले पर्यटकहरूले साथमा २५ हजार रूपैयाँ नगद बोक्नसक्ने छुटको सीमालाई बढाउन पनि सुझाव दिएका छन् । पर्यटकहरू जति धेरै नगद त्यति धेरै खर्च गर्नसक्ने भएकोले उक्त सीमा पनि बढाउन सुझाव दिएका छन् । भारतीय टुर अपरेटर शैलेश अग्रवालले भारतीयहरूलाई नेपालीको भन्दा बढी हवाई भाडा लिने गरिएकोले घटाउन सुझाव दिए । यसैगरी पर्यटकहरूले गर्ने सबै भुक्तानी अनलाइन मार्फत हुने व्यवस्था गर्न पनि सुझाव दिएका छन् ।

‘तेस्रो देशका पर्यटकका लागि अध्यागमन सेवा सुचारु गर’

बर्दियाका पर्यटन व्यवसायी कृष्णप्रसाद भट्टराईले बाँके बर्दिया घुम्न आउने तेस्रो देशका पर्यटकहरू रुपैडिहा आएर अलपत्र पर्ने अवस्था रहेको बताए । त्यसो हुनुको कारण रुपैडिहामा रहेको अध्यागमन कार्यालय कोभिड महामारीको समयपछि सन्चालनमा नै नआउनु रहेको छ ।
उनका अनुसार पर्यटकहरू दिल्लीबाट रुपैडिहा पुगेर नेपाल प्रवेश गर्न नपाएपछि भारतबाटै कि महेन्द्रनगर पुग्नुपर्ने कि त पूर्वका नाकातिर जानुपर्ने अवस्था रहेको बताए । कोरोना महामारीका बेला बन्द भएको रुपैडिहाको अध्यागमन कार्यालय त्यसयता सन्चालनमा ल्याउने काम भारतीय पक्षले गरेको छैन ।

‘पर्यटकमैत्री व्यवस्था गर्छौँ’

कन्क्लेवमा मूल छलफल कार्यक्रममा सहभागी वक्ताहरूले पर्यटकहरूले भोगिरहेका झन्झट अन्त्यको लागि प्रतिबद्धता जनाए । निवर्तमान प्रतिनिधि सभा सदस्य डा. धवलशमशेर राणाले पर्यटकहरूलाई नाकामा अनावश्यक हैरानी भइरहेकोमा आफूले पनि सदनमै आवाज उठाएको बताउँदै अब एकद्वार एन्ट्री पोइन्ट तयार गर्नेतर्फ आफूले पहल गर्ने बताए । उनले नेपालगन्जबाट भारतका सहरमा हवाई उडान तथा रुपैडिहा रेलवे स्टेशनबाट सिधा दिल्ली रेल सुविधा गराउन सकिएमा पनि पर्यटनलाई फाइदा पुग्ने पनि बताए ।

पर्यटन बोर्डका कार्यकारी अधिकृत दीपक जोशीले एक पटक इन्ट्रिको र एकद्वार पर्यटन सेवाके विषयमा नीतिगत सुधारको कामका लागि गृहकार्य भइरहेको बतए । बाँकेका प्रहरी प्रमुख अंगुर जिसीले सरोकारवालाहरूको औपचारिक बैठक बसेर नै पर्यटकलाई सहजीकरण गर्ने सम्बन्धमा स्थानीयस्तरमा देखिएका समस्याहरू समाधानको उपाय निकाल्न प्रस्ताव गरे । उनले प्रहरी संगठनको नीति अनावश्यक चेकिङ गर्ने नभएको र संगठनले त्यसो नगर्न स्पष्ट निर्देशन पनि दिएको बताए । नाट्टा बाँकेका निवर्तमान अध्यक्ष श्रीराम सिग्देलले आफूहरूले पटक–पटक पर्यटकहरूले भोगेका समस्याहरू समाधानको लागि राज्यलाई घच्घच्याइरहेको र अब ती समस्याहरूको अन्त्य गर्ने समय आएको बताए ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस ६ गते आइतबार