सुर्खेत ।
नेकपा एमाले नेता ठम्मर विष्टले केन्द्रीय सदस्यमा पराजित भएपछि पार्टी परित्याग गरेका छन् । एमालेको ११ औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा पराजित भएपछि विष्टले बिहीबार राजीनामा दिएका हुन् । उनले राजीनामा दिनुको कारण भने, पार्टीको आन्तरिक लोकतन्त्र, नेतृत्व शैली र मूल्य–मान्यतामा गम्भीर विचलन रहेको बताएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत् लामो वक्तव्य जारी गर्दै आफू अब एमालेमा बसिरहन नसक्ने निष्कर्षमा पुगेको बताएका हुन् । उनले पछिल्लो समय भ्रष्टाचार, अनियमितता र नेतृत्वको अधिनायकवादी कार्यशैलीका कारण पार्टी दिनप्रतिदिन स्खलित हुँदै गएको आरोप समेत लगाएका छन् । ‘जेनजी आन्दोलन’पछि देशमा सिर्जित गम्भीर मानवीय र भौतिक क्षतिबारे सरकार तथा पार्टी नेतृत्वले जवाफदेही भूमिका निर्वाह गर्नुपर्नेमा उल्टै आन्दोलनकारी, घाइते र आम जनतामाथि अपमानजनक व्यवहार गरिएको उनको आरोप छ ।
‘एकातिर जेनजी आन्दोलनपछि पार्टीको मुख्य नेतृत्व कमरेड ओली अधिनायकवादी शैलीमा आन्दोलनकारी, शहीद, घाइते र आम जनतालाई आलो घाउमा नुन चुक छर्ने काम गरी रहनु भएको छ’ उनले जारी वक्तव्यमा भनेका छन्, ‘अर्को तिर, नत पार्टीलाई एकताबद्ध बनाएर लैजाने कुनै लय उहाँमा देखिन्छ ।’
विष्टले मंसिर २४ गते अध्यक्ष ओलीसँग भेट गरेको र त्यति बेला ओलीले अपमानजनक व्यवहार गरेको आरोप समेत लगाएका छन् । ‘म सम्मानित अध्यक्षको अगाडि छु कि कुनै मालिकको अगाडि क्षमा दानको बिन्ती गर्न पुगेको हुँ भन्ने अनुभूति भयो,’ उनले भनेका छन् । आफूले उठाएका प्रश्नहरू व्यक्तिगत आक्षेप नभई पार्टी र नेतृत्वलाई अझ माथि उठाउने उद्देश्यसहितको स्वच्छ रचनात्मक आलोचना मात्र भएको उनले बताएका छन् ।
विष्टले ११औँ महाधिवेशनमा उम्मेदवार छनोट र निर्वाचन प्रक्रियामा समेत पार्टी ओलीको निर्देशनमै एक्ल्याउने काम भएको बताएका छन् ।अध्यक्षकै निर्देशनमा उम्मेदवारलाई ‘वंशज’ र ‘अङ्गीकृत’ भन्दै वर्गीकरण गरिएको, संस्थागत सूची बाँडिएको, शक्ति र स्रोतको चरम दुरुपयोग गरी आफूजस्ता नेता कार्यकर्तालाई योजनाबद्ध रूपमा पराजित गराइएको उनको आरोप छ । ‘सूचीहरू गोप्य रूपमा बाँडिए पनि यत्रतत्र सर्वत्र उदाङ्गो भइसकेको छ’ विष्टले उल्लेख गरेका छन् ।
पूर्व माओवादी पृष्ठभूमिबाट आएका नेताहरूलाई अहिले पनि एमालेमा दोस्रो दर्जाको नागरिक जसरी व्यवहार गरिएको विष्टको आरोप छ । उनले बहुदलीय जनवाद र मदन भण्डारीको विचारलाई सीमित गर्ने, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई अपमानजनक व्यवहार गर्ने तथा सदस्यताबाट वञ्चित गर्ने कदमलाई लोकतन्त्रकै उपहास भनेका छन् ।
पार्टी नेतृत्व भावना, विचार र मूल्य–मान्यताबाट पूर्ण रूपमा विचलित भइसकेको निष्कर्ष निकाल्दै विष्टले एमालेमा बसिरहनु समयको बर्बादी हुने भएकाले राजीनामा दिएको बताएका छन् । ‘संगठन र नेतृत्वको गलत शैलीको मलामी बन्न सक्दिनँ,’ उनले भनेका छन् ।









प्रतिक्रिया दिनुहोस्