जीतबहादुर शाह
हाम्रै नेपालको प्रतिष्ठित व्यापारिक सहरमा अवस्थित एउटा होटलको हलमा साहित्यिक कार्यक्रमको आरम्भ हुँदैछ । सहरका साहित्यकार र साहित्यानुरागीहरुको जमघट छ । संघीय राजधानीबाट पनि प्रतिनिधिमूलक किसिमबाट साहित्यकारहरुको उपस्थिति छ । कार्यक्रम सञ्चालकले शिष्टता र विनम्रतापूर्वक सकेसम्म मर्यादाक्रम मिलाएर कार्यक्रमका अध्यक्ष, प्रमुख अतिथि, विशेष अतिथि र अतिथिहरुको आसन ग्रहण गराउने काम गरियो । तत्पश्चात् पनि हामी नेपालीको चलन, तोकिएको समयभन्दा ढिलै गरी कार्यक्रममा उपस्थित हुने भएकाले कार्यक्रमका सञ्चालकबाट उपस्थित सबैलाई आसनग्रहण गराए पनि आसनग्रहण गर्ने कार्य जारी रहनेछ भन्ने अनुरोध पनि गरियो । पालो आयो सामूहिक राष्ट्रिय गानको, देशप्रतिको भक्तिभाव अभिव्यक्त गर्नका लागि । उद्घोषकबाट उद्घोषण त भयो राष्ट्रिय गानमा सहभागिताका लागि तर राष्ट्रिय गानको रेडिमेड आवाज उद्घोषकसँग तत्काल रहेनछ र सहभागीहरुतिर सङ्केत गर्र्दै भने ः राष्ट्रिय गान छ कसैसँग ? मलाई भने उनको यो जिज्ञाशाले हामी राष्ट्रलाई प्रेम गर्ने मामलामा कता पुग्दैछौँ र के गर्दैछौँ भन्ने पिरलोले कार्यक्रम अवधिभरि आफैँलाई मुटु चस्किनेगरी घोचिरह्यो ।
यो त्यहाँको मात्र होइन जहाँको पनि त्यस्तै हो । राष्ट्रको कुनै शिष्ट र विशिष्ट कार्यक्रमहरु चल्दा पनि राष्ट्रिय गानको अवस्था त्यस्तै हो । हाम्रो राष्ट्रिय गान हामीसँग हुँदैन । युटूव र इष्टाग्राम वा फेसबुक र टिकटकतिर हुन्छ । झट्टपट्ट मोबाइल खोलेर खोज्नु पर्छ । यसरी खोजेर सुनाइएको राष्ट्रिय गानमा हामी निष्क्रिय किसिमबाट सहभागी हुन्छौँ । कोही मौनधारण गरेजस्तै गरी उभिइरहेका हुन्छौँ भने कसैकसैले ओठ चलाएर राष्ट्रिय गान गाएको अभिनय गरिरहेका हुन्छौँ । कार्यक्रमहरुमा सहभागीहरुमध्ये थोरै प्रतिशतले भने बजिरहेको राष्ट्रिय गानसँगै गुनगुनाइ रहेको अवस्था हुन्छ । त्यत्तिबेला त्यो कार्यक्रममा त छिटै भेटियो राष्ट्रिय गान । कतिपय कार्यक्रमहरु त राष्ट्रिय गान खोज्नै पनि राष्ट्रिय गान गाउने समयभन्दा बढी लाग्छ । यस्तै अवस्थाहरुको आकलन गर्दा हामीले राष्ट्रियताप्रति कति न्याय गरिरहेका छौँ ? हामी हाम्रो राष्ट्रियताप्रति कति इमान्दार र बफादार छौँ भन्ने कुरामा समेत आफैँभित्र पनि आशंकाका काला पहाडहरु बग्रेल्ती उभिरहेको देख्छु । राष्ट्रिय गानको सुरुकै हरफमा ‘सयौँ थुङ्गा फूलका हामी एउटै माला नेपाली’ भनिएको छ, जसमा राष्ट्रिय एकताको कुरा प्रष्ट रुपमा उजागर गरिएको छ । के हामी साँच्ची राष्ट्रिय गानमा उल्लेख गरेजस्तै एकताबद्ध छौँ त ? के हामीले धर्म, जातजाति, भाषाभाषी, कला, संस्कृति, रहनसहन र भेषभूषाका नाममा एकअर्कालाई सम्मान गर्दै बाँचिरहेका छौँ त ? के यी सबैलाई निर्देश गर्ने राजनीतिक दलहरु एकअर्काको आस्था र विचारलाई सम्मान गर्दै अगाडि बढिरहेका छन् त ? राष्ट्रियतालाई केन्द्रमा राखेर यी र यस्ता प्रश्नहरुको जवाफ दिन कठिन र चुनौतिपूर्ण छ ।
अहिले जसले पनि अस्तित्वको लडाइँ लडिरहेको अवस्था छ । अस्तित्व पनि आफ्नो माथि होस् र अरुको सकेसम्म हुँदै नहोस् र भए पनि आफ्नोभन्दा तलै होस् भन्ने सोचबाट निर्देशित र पोषित अस्तित्व । अहिले कसैलाई झुक्किएर पनि केही भन्नु हुँदैन, कहिलेकाहीँ हामीले भनेको कुरो राम्रै भए पनि सुन्नेलाई मन परेन भने सुन्नेले त्यसलाई मुद्दा बनाएर त्यसमाथि जात, धर्म, भाषा, संस्कृति आदिको लेपन गरेपछि राष्ट्रिय मुद्दा बन्न बेर लाग्दैन । अनि कसरी भयो एउटै माला ? के एउटै माला हुनका लागि सबै फूलहरु मिलेर सह्दयतापूर्वक हातेमालो गर्दै एउटै मालामा गाँसिनु पर्दैन र ? हामी अहिले हरेक मानिसहरु दोहोरो चरित्रका भएका छौँ । बाहिर एउटा आकृति र आकारमा देखिएका छौँ भने हाम्रोभित्र देखिने आकार भने फरक छ । यसरी डबल स्टयाण्डमा बस्ने मानिसहरुलाई छद्मभेषी भनिदोरहेछ । बाहिर जे कुरा गरिएको छ भित्र त्यसको ठिक उल्टो हुने गर्दछ । दिउँसभरि राष्ट्रियताको पक्षमा भाषण र प्रशिक्षण सञ्चालन गरेर साँझ परेपछि नुनतेल र तरकारी किन्न रुपैडिहा, सुनौली, गौरीफण्टा, जयनगर, जोगबनी र गलगलियातिर गएजस्तो । तातो गर्ने नाममा एक गिलास तानेर स्कुलमा पढाउन गएर कक्षामा मादक पदार्थको बेफाइदाहरुबारे विद्यार्थीहरुलाई सहजीकरण गरेजस्तो । एनजिओ र आइएजनजिओहरुमा महिला हिंसाविरुद्धका कार्यक्रमहरुमा करोडौँ बजेट सिध्याइसक्दा पनि घर गएर पत्नीलाई विभिन्न निहु गरेर हातपात गरेजस्तो ।
अफिसमा योग्य र सन्तजस्तो भएर सुशासन र पारदर्शिताका कुरा गरे पनि निवासमा गएपछि रित्तो हात र रित्तो गोजीसँग आउनेहरुलाई दुई शब्द कुरा गर्नका लागि पनि समय छैन भनेर आलटाल गरेजस्तो । यस्तै यस्तै डबल स्ट्याण्ड हामी सबैजसोसँग छन् । यस्ता छद्मभेषीहरुले नै मौका पाएपछि पहिलेदेखि नै बाहिर देखिने मुकुण्डो उतारेर भित्रको सक्कली अनुहार देखाउँदा रहेछन् र यस्तैले विध्वंस मच्चाउँदा रहेछन् मुलुक र समाजमा । विचरा सोझा नागरिकहरु मुकुण्डोलाई हेरेर असल र खराब छुट्याउँदा रहेछौँ । युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्की राष्ट्रपति हुनुभन्दा पहिले अभिनेता र हास्य कलाकार थिए । उनले एउटा टेलिफिल्म जनताको नोकर (क्भचखबलत या तजभ उभयउभि)मा एउटा सामाजिक विषयको शिक्षकको अभिनय गरेर मुलुकमा भएको भ्रष्टाचारको विरुद्धमा आवाज उठाएको अभिनय गरे । त्यसपछि जेलेन्स्की राष्ट्रपतिको चुनावमा उठे र अत्यधिक मत (कूलमतको ७३.२२ प्रतिसश)ले चुनाव जिते । उनका विरोधी पेट्रो पोरोशेन्कोले २४.४५ प्रतिशत मात्र मत ल्याएका थिए । अहिले युक्रेन रुससँगको युद्धमा जलिरहेको छ । युद्धमा विदेशीहरुले दिएको विभिन्न थरि सहयोगमा भ्रष्टाचार झनै बढिरहेको छ । युक्रेनी युवाहरुलाई जबर्जस्ती सेनामा भर्ना गराएर युद्धमा जान बाध्य बनाउने नीतिका कारण त्यहाँका युवाहरुले आफू युद्धमा गएपछि मर्ने निश्चित देखेर बरु आफैँले आफ्नो खुट्टामा गोली हानेर घाइते अवस्थामा अपाङ्ग भएर घरमै बसिरहेका छन् ।
कति युक्रेनीहरु आन्तरिक रुपमा विस्थापित भएर बसिरहेका छन् भने कति युक्रेनीहरु पोल्याण्ड, जर्मनीलगायत युरोपियन मुलुकतिर शरणार्थी हुन बाध्य छन् । यसबाट पुष्टि हुन्छ कि हामी फिल्मको हिरोलाई वास्तविक जीवनमा पनि त्यस्तै गर्ला भनेर नेता बनाउँछौँ । जब कि त्योभन्दा फरक छ मानिसको वास्तविक चरित्र र चित्र । आज कतिपय मुलुकहरु त्यहाँका नेताहरुकै कारण युद्धको विभिषिकामा कहिल्यै नउत्रिने गरी फसिरहेका छन् । सिरियामा चलिरहेको गृहयुद्धका कारण त्यहाँ नागरिकहरु ठूलो संख्यामा शरणार्थीको रुपमा टर्की, लेवनान, जोर्डन र युरोपका अन्य मुलुकहरुमा गइरहेका छन् । इजरायल र प्यालेष्टाइन बीचको युद्धका कारण लाखौँ प्यालेष्टाइनीहरु संयुक्त राष्ट्रसंघीय निकायको हेरचाहमा बाँचिरहेका छन् । त्यसरी नै सुडानमा भएको गृहयुद्धका कारण दक्षिणी सुडानबाट लाखौँ महिला र बालबालिकाहरु युगाण्डा, इथोपिया र अन्य छिमेकी मुलुकहरुतिर शरणार्थी हुन बाध्य छन् । कतिले आफ्नो घर, गाउँ र मुलुक छोड्न नसकेर आफ्नै घरलाई आफ्नो चिहान बनाउनु परेको छ भने कतिपय अङ्गभङ्ग भएर बाँच्नु परेको छ । शरणार्थीहरुको जीवन कहालिलाग्दो छ । जहाँ बस्नका लागि आफ्नो नामको एक पाइला जमिन छैन, जहाँ आफन्तहरु छैनन्, जहाँ आफ्नो भाषा र संस्कृतिको सम्मान र इज्जत छैन त्यस्तो मुलुकमा गएर जीवन बाँचेकाहरुलाई सोध्नु पर्छ राष्ट्रियता के हो भनेर । उनीहरुका लागि उनीहरुको राष्ट्रियता आफूबाट सधैँका लागि गुमेको आमाको न्यानो काखभन्दा पनि प्रिय बनेको छ, जुन कुरा उनीहरुलाई भोट दिएर जिताएका नेताहरुले बुझेनन् ।
त्यसैले म त भन्छु, राष्ट्रियता कतै मोबाइल र युटुवहरुमा खोज्ने बस्तु बनाइनु हुँदैन । राष्ट्रियता हरेक नागरिकहरुको मुटुका स्पन्दनहरुमा धड्किनुपर्छ । यो कुरा राष्ट्रियता गुमाएर शरणार्थी भएकाहरुलाई सोध्नु पर्छ । अहिले गुण्स्तरीय शिक्षाको नाममा एउटा बालकले आफ्नो जन्मेको थात्थलो र आमाको न्यानो काख छोडेर सहर पसेको छ । सानैमा आमाको काख र आफ्नो जन्मभूमि छोडेकोलाई अब मुलुक छोड्न गाह्रो हुँदैन । त्यसैमा अझ उसले विदेसिनकै लागि स्वदेशका भाषा र संस्कार बिर्सिएर उतैको सिकिरहको छ । तर जहाँ गए पनि ऊ नेपाली भने अवश्य हुन्छ । उसले नेपाली हुन नचाहे पनि अरुले उसलाई नेपाली भनेर चिन्छन् । अहिले कतिपय नेपालीहरु विदेशको नागरिक हुँदा पनि त्यहाँका आदिवासीहरुले नेपाली होस् भनेर चिन्न थालेपछि उनीहरु बाध्य भएरै गैरआवासीय नेपाली भनेर आफूलाई सङ्गठित भएर चिनाउन थालेका छन् । भन्नुको मतलब हरेक नागरिकका लागि आफ्नो देश भन्ने कुरा सबैभन्दा महान हुँदोरहेछ । आफूले बिर्सिन खोजेपछि अरुहरुले नै सम्झाइदिँदा रहेछन् । राम्रो मुलुकको भए सम्मान गर्ने हिसाबले सम्झाइ दिँदारहेछ । उस्तैतस्तै मुलुकको भए अपमान गर्ने हिसाबले पनि सम्झाइदिँदा रहेछन् ।
सिक्किम भारतमा विलय भइसकेपछि त्यत्तिबेला सिक्किमका अन्तीम प्रधानमन्त्री लेण्डुप दोर्जे भारतका तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीलाई भेट गर्नका लागि जान्छन् । भारतको प्रधानमन्त्री हुँदा भेट्न जानेबित्तिकै समय दिने इन्दिरा गान्धीले यसपटक लामो समय भइसक्दा पनि पर्खाइरहेपछि उनका सहयोगीले फेरि सम्झाउँछन् – ‘सिक्किमबाट मुख्यमन्त्री लेण्डुप दोर्जे आउनु भएको छ, बाहिर पर्खिरहनु भएको छ । लामो समय भइसक्यो । भित्र पठाइ दिउँ हजुर !’ त्यत्तिबेला इन्दिरा गान्धीले आफ्नो सहयोगीलाई ‘त्यो देश बेचुवालाई किन भेट्नु प¥यो मैले ?’ भनेर प्रतिक्रिया दिएकी रहिछन् । यसबाट प्रष्ट हुन्छ कि राष्ट्रियताको पक्षमा उभिनेहरुलाई दुश्मनहरुले समेत सम्मान गर्छन् । बाघबुढा अमरसिह थापाको प्रतिमाको मुन्तिर म बाघको डमरु हुँ, मलाई सिनो खाने कुकुर नसम्झ भनेर भारतमा समेत लेखेर राखेकोबाट यो कुराको सहजै पुष्टि हुन्छ कि राष्ट्रलाई प्रेम गर्नेहरु जहाँ गएपनि सम्मानित हुन्छन्, राष्ट्रप्रेम नगर्नेहरुको हबिगत जहाँ गएपनि लेण्डुप दोर्जेको जस्तै हुने गर्दछ ।
मलाई भन्न मन लागिरहेको छ कि यदि हामीलाई जहाँ गए पनि हाम्रो राष्ट्रियताले हामीलाई छोड्दैन भने हामीले पनि यसलाई हाम्रै निम्ति पनि सम्मान र प्रेमपूर्वक संरक्षण र जगेर्ना गर्नु आवश्यक छ । हामीले हाम्रा धर्म, सम्प्रदाय, भूगोल, जातजाति, कला, भाषा, संस्कृति, रहनसहन, रीतिरिवाज र भेषभूषाका आआफ्नै डम्फु बजाएर आआफ्नो चुल्होको आगो ताप्ने होइन कि जसरी एउटा बाद्ययन्त्रभन्दा धेरै बाद्ययन्त्रको कुशल संयोजनबाट झनै सुन्दर सङ्गीतको जन्म हुन्छ, जसरी एउटा फूलको बगैँचाभन्दा धेरै किसिमका फूलहरु पूmलेको बगैँचा राम्रो देखिन्छ त्यसरी नै हामीले हाम्रा सबै भाषा, जातजाति, संस्कृति, कला, भेषभूषा, रहनसहन र संस्कारलाई पनि आआफ्नै किसिमले एकअर्काको अवसान होइन कि सम्मान गर्दै संरक्षण र प्रवर्धन गर्नु जरुरी छ । फुटेर अर्काको चुल्होका दाउरा तानेर आफ्नो चुल्होमा आगो बाल्ने होइन कि सबै एकजुट भएर सबैका चुल्होहरुमा आगो बाल्न आवश्यक छ । त्यसैले पनि भन्न मन लागिरहेको छ कि राष्ट्रिय गान कोसँग छ भनेर खोज्ने होइन कि राष्ट्रिय गान भन्नेबित्तिकै मुटुको स्पन्दनबाट झङ्कृत हुने वातावरण र भावनाको विकास गर्नुपर्दछ । बाँकी जो हजुरहरुको मर्जी !









प्रतिक्रिया दिनुहोस्