नेपाली काँगे्रस पार्टी विधान र निर्धारित प्रक्रियाअनुसार विशेष महाधिवेशन सम्पन्न भएर नेतृत्व परिवर्तन भएको हो । नियमित महाधिवेशन समयमै हुन नसक्ने अवस्था देखिएपछि देशभरका पार्टी कार्यकर्ताको चाहनाअनुसार वैधानिक प्रक्रिया पूरा गरेर विशेष महाधिवेशन गरिएको थियो । त्यसलाई निर्वाचन आयोग र सर्वोच्च अदालतले समेत वैधानिकता प्रदान गरिसकेको अवस्था हो । अहिले विशेष महाधिवेशनमा सहभागी भएका र सहभागी नभएका सबैलाई एउटै ठाउँमा उभ्याएर १५औँ महाधिवेशन समयमै सम्पन्न गर्नुपर्ने दायित्व सबै काँगे्रसको हुनपर्ने हो । तर आफूलाई लोकतन्त्रको हिमायती ठान्ने नेताहरुले पार्टीको विधान र विधानले तोकेको प्रक्रियाद्वारा विशेष महाधिवेशन गरेर त्यस प्रक्रियाबाट आएको वैधानिक नेतृत्वलाई सभापति मान्न तयार नभएर मात्र यो विभाजनउन्मुख भएको हो भन्ने पूरा त प्रष्टै छ ।
भीम रावत
नेपालको राजनीतिक इतिहासमा नेपाली काँग्रेस केवल एउटा राजनीतिक दल मात्र होइन, यो नेपालको प्रजातान्त्रिक आन्दोलनको पर्याय मानिँदै आएको संस्था हो । जहानियाँ राणा शासनको विरुद्ध २००७ सालको प्रजातन्त्र स्थापना, निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध २०४६ को बहुदलीय व्यवस्थाको पुनर्वहाली र २०६२–६३ को ऐतिहासिक जनआन्दोलनमार्फत सशस्त्र द्वन्द्वमा रहेको तत्कालीन माओवादीलाई शान्तिपूर्ण संसदीय राजनीतिमा रुपान्तरण गराउँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनासम्म काँग्रेसको भूमिका नेपाली राजनीतिक इतिहासमा अतुलनीय छ । तर, इतिहासको विरासतले मात्र वर्तमानको अस्तित्व जोगाउन सक्दैन भन्ने कुरा काँगे्रसले बुझ्न नसक्दा यतिबेला नेपाली काँगे्रस आफ्नो इतिहासमै सबैभन्दा धेरै संकटको अवस्थामा छ । देशकै पुरानो लोकतान्त्रिक दल काँग्रेसभित्रको आन्तरिक विवाद यतिबेला विभाजनउन्मुख देखिएको छ । कुनै नाटकीय राजनीतिक सहमति वा अप्रत्याशित घटनाक्रम विकसित नभए विभाजनलाई औपचारिकता दिन मात्र बाँकी छ । हाल संसद्मा प्रमुख प्रतिपक्षी दल काँग्रेस विभाजनतर्फ अघि बढे त्यसले लोकतान्त्रिक शक्तिहरूको एकता, शक्ति सन्तुलन, आगामी निर्वाचनको राजनीतिक समीकरण तथा समग्र राष्ट्रिय राजनीतिक अवस्थामै गम्भीर प्रभाव पार्न सक्ने देखिन्छ । विवादबीच काँग्रेसका संस्थापक नेता वीपी कोइरालाका छोरा तथा पूर्वमहामन्त्री डा. शशांक कोइराला १४औँ महाधिवेशन पक्षधर (संस्थापन इतर) समूहको नेतृत्वमा आएका छन् । आगामी २९ साउनमा हुने राष्ट्रिय कार्यकर्ता भेलाका लागि उनी ५५१ सदस्यीय मूल आयोजक समितिका संयोजक भएका हुन् । काँगे्रस विभाजनको नेतृत्व लिएर वीपीको सम्मान हो कि अपमान हो गर्न खोजेको भनेर प्रश्न उठिरहेको छ । काँग्रेसको इतरसमूहले गर्दै आएको पछिल्लो गतिविधिले पार्टीभित्रको संकट थप गहिरिएको संकेत गरेको छ । वीपी कोइरालाको स्मृति दिवससमेत एउटै मञ्चबाट मनाउन नसकी समानान्तर कार्यक्रम आयोजना भएपछि काँग्रेस मनोवैज्ञानिक र राजनीतिक दुवै रूपमा विभाजनउन्मुख रहेको देखिन्छ । शशांक कोइरालाको नेतृत्वमा राष्ट्रिय भेला आयोजना गर्ने निर्णयले त्यो संकेतलाई थप बलियो बनाएको छ । यतिबेला नेपाली काँग्रेसले संस्थापन र इतरपक्ष आरोप–प्रत्यारोप, आत्मप्रशंसा वा आत्मनिन्दा भन्दा पनि आत्मचिन्तन, आत्मसमीक्षा र आत्मालोचनामा केन्द्रित हुनुपर्ने हो ।
पुराना राजनीतिक दलहरुप्रति नकारात्मक सन्देश जागृत भैरहेको अवस्थामा काँगे्रसको यो गतिविधिले काँगे्रसीजनहरुमा समेत झन निराशा बढ्ने निश्चित छ । काँग्रेस पूर्वसभापति शेरबहादुर देउवा पक्षले साउन २९ देखि ३१ गतेसम्म आयोजना गर्न लागेको राष्ट्रिय भेलामा पार्टीका विभिन्न तहका निर्वाचित नेता, जनप्रतिनिधि, पूर्वपदाधिकारी, शुभेच्छुक तथा विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधिसमेत सहभागी हुने भनिएको छ । भेला आयोजक पक्षले सार्वजनिक गरेको विवरणअनुसार भेलामा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्य, पूर्वकेन्द्रीय पदाधिकारी तथा सदस्य, काँग्रेसबाट निर्वाचित वा नियुक्त भएका पूर्वमन्त्री तथा पूर्वसांसदलाई आमन्त्रण गरिएको छ । सातै प्रदेश समितिका सभापति तथा पदाधिकारी, जिल्ला कार्यसमितिका सभापति र पदाधिकारी, महानगर कार्यसमितिका सभापति, प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय कार्यसमितिका सभापति, प्रदेशसभा निर्वाचन क्षेत्रीय सभापति, महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधिहरू पनि भेलामा सहभागी हुने बताइएको छ । तर यसअघि नै इतरपक्षका प्रभावशाली मानिएका नेताहरुकै जिल्लाका पार्टी सभापतिहरुले आफूहरुले नेताको पछि लागेर नेपाली काँगे्रसको चारतारे झण्डा र रुख चुनाव चिन्ह छोड्न नसक्ने बताइसकेका छन् । त्यसैले गगन थापालाई गलाउने र कमजोर पार्ने बहानामा गरिन लागेको इतरसमुहको राष्ट्रिय भेलामा उनीहरुले सोचे जस्तो सहभागिता रहने सम्भावना कमै अनुमान गर्न सकिन्छ । वीपी कोइरालाले अघि सारेको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको जगमा उभिएको नेपाली काँग्रेस यतिबेला वैचारिक रूपमा अलमलमा देखिन्छ । सत्ता प्राप्तिका लागि सिद्धान्तहीन गठबन्धनहरू गर्नु र विचार नमिल्ने दलहरूसँग सम्झौता गर्दा पार्टीको मौलिक पहिचान धमिलिएको छ । नयाँ पुस्ताका मुद्दाहरू जस्तैः डिजिटल अर्थतन्त्र, सुशासन, रोजगारी सिर्जना, र नवप्रवर्तन जस्ता विषयहरुलाई सम्बोधन गर्न नसक्दा नेपाली काँगे्रस पार्टी युवा वर्गबाट टाढिँदै गएको छ । अहिले नेपाली काँगे्रसमा सधैँ सत्ताको चास्नीमा रमाउने बानी परेका पुराना नेताहरु युवा पुस्ताका गगन थापालाई सभापति स्वीकार गर्न नसक्नु नै आज नेपाली काँगे्रसको लागि दुर्भाग्य बन्दैछ । नेपाली काँग्रेस व्यवहारतः यतिबेला दुई टुक्रामा विभाजित देखिन्छ । १४औँ महाधिवेशनबाट निर्वाचित संस्थापनइतर पक्ष र विशेष महाधिवेशनबाट निर्वाचित संस्थापन पक्ष समूहले अलग–अलग संरचना र सम्पर्क कार्यालयसमेत खडा गरिसकेका छन् । देउवा समूह नयाँ काँग्रेस नामक छुट्टै पार्टी गठनको गृहकार्यमा जुटेको छ भने अर्को पक्षले १५औँ महाधिवेशनको तयारी अघि बढाइरहेको छ । सदस्यता नवीकरण र महाधिवेशनको वैधता जस्ता प्राविधिक विवादका पछाडि वास्तविक कुरा नेतृत्व र सत्ता–समीकरणकै हो भन्ने कुरा प्रष्ट देखिएको छ ।
आज नेपाली काँगे्रसका कार्यकर्तादेखि काँगे्रसलाई नजिकबाट चिन्ने सर्वसाधारण नागरिकहरुको मनमा समेत एउटा गम्भीर प्रश्न उब्जिएको छ कि के नेपाली काँग्रेस आफ्नो गौरवशाली इतिहासमै सीमित हुने बाटोतर्फ उन्मुख छ ? यो प्रश्न केवल विपक्षीको आलोचना वा अतिरञ्जना होइन, बरु पार्टीकै आन्तरिक संरचना र कार्यशैलीले जन्माएको आजको कटु यथार्थ हो । लोकतान्त्रिक आन्दोलनको ऐतिहासिक विरासत बोकेको नेपाली काँग्रेस सत्ता र नेतृत्वको होडबाजीका कारण पटक–पटक पार्टी विभाजित भयो । चाहे त्यो २०५९ सालमा नेपाली काँग्रेस (प्रजातान्त्रिक)को गठन होस् वा अन्य समयमा भएका आन्तरिक विसर्जनहरू हुन । यतिबेला काँगे्रसमा विचार र सिद्धान्तभन्दा व्यक्तिकेन्द्रित गुटहरू पार्टीको तल्लो तहसम्मै झाङ्गिएका छन् । जुन काँगे्रसको राजनीतिक यात्रामा नकारात्मक संकेतहरु हुन् । नेपाली राजनीतिमा इतिहासले एउटा कुरा स्पस्ट देखाएको छ । त्यो हो जनताको विश्वास गुमाएका राजनीतिक दलहरू केवल नाममा बाँच्छन् । आफ्नो मान र प्रतिष्ठाका लागि । तर आफ्नै कारणले आफ्नो मान र प्रतिष्ठा सकिएको समेत थाहा पाउँदैनन् । कुनै समयमा शक्तिशाली रहेका धेरै दलहरू फेरि कुनै समयमा इतिहासका पानामा सीमित हुन पुग्छन् । प्रजापरिषद् त्यसको एउटा उदाहरण हो । काँग्रेसकै स्थापना सम्मेलनमा पार्टीको नाम नेपाल प्रजापरिषद् नै राखेर अगाडि बढ्ने प्रस्ताव गणेशमान सिंहले राखेका थिए, तर भट्टराई दाजुभाइ लगायतले विरोध गरेपछि नेपाली काँग्रेस नाम रहन गयो । त्यसैले यतिबेला नेपाली काँग्रेस इतिहासको प्रजापरिषद् बन्ने लाइनमा छ भन्ने अभिव्यक्ति कुनै भविष्यवाणी होइन, यो काँगे्रसकै इतिहासको स्मरण मात्र गराउन खोजेको हो । काँगे्रसइतर पक्षले संस्थापन पक्षसँग सहमति नभएमा साउन २९ गते हुने राष्ट्रिय भेलाबाट नयाँ पार्टी घोषणाको तयारी गरेको देखिन्छ । नयाँ पार्टीको नाम ‘राष्ट्रिय काँगे्रस’ र चुनाव चिन्ह ‘शंख’ राख्ने समेत तयारी र सुनिश्चि गरिनुले नेपाली काँगे्रसको विभाजन अब औपचारिकता मात्र बाँकी रहेको अनुमान जो कसैले पनि गर्न सक्छ । नेपाली काँगे्रसका पाका, खारिएका र लोकतन्त्रका लागि जीवनभर त्याग गरेका नेताहरुको बुझाइ देखेर पनि आश्चार्य लाग्दो होला काँगे्रसजनहरुलाई । किनभने नेपाली काँगे्रस पार्टी विधान र निर्धारित प्रक्रियाअनुसार विशेष महाधिवेशन सम्पन्न भएर नेतृत्व परिवर्तन भएको हो । नियमित महाधिवेशन समयमै हुन नसक्ने अवस्था देखिएपछि देशभरका पार्टी कार्यकर्ताको चाहनाअनुसार वैधानिक प्रक्रिया पूरा गरेर विशेष महाधिवेशन गरिएको थियो । त्यसलाई निर्वाचन आयोग र सर्वोच्च अदालतले समेत वैधानिकता प्रदान गरिसकेको अवस्था हो । अहिले विशेष महाधिवेशनमा सहभागी भएका र सहभागी नभएका सबैलाई एउटै ठाउँमा उभ्याएर १५औँ महाधिवेशन समयमै सम्पन्न गर्नुपर्ने दायित्व सबै काँगे्रसको हुनपर्ने हो । तर आफूलाई लोकतन्त्रको हिमायती ठान्ने नेताहरुले पार्टीको विधान र विधानले तोकेको प्रक्रियाद्वारा विशेष महाधिवेशन गरेर त्यस प्रक्रियाबाट आएको वैधानिक नेतृत्वलाई सभापति मान्न तयार नभएर मात्र यो विभाजनउन्मुख भएको हो भन्ने पूरा त प्रष्टै छ ।
हो, नेपाली काँगे्रसमा विशेष महाधिवेशनका विषयमा पार्टीभित्र दुई धार देखिएका थिए । सहमत हुनेहरू महाधिवेशनमा सहभागी भए, नेतृत्व परिवर्तनमा भूमिका खेले र नयाँ नेतृत्व चयन भयो । त्यसपछि यो विषय निर्वाचन आयोग र सर्वोच्च अदालतसम्म पुग्यो । दुवै संवैधानिक संस्थाले पिशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई वैधानिकता दिइसके । त्यसपछि काँगे्रस पार्टीले आप्नो नियमित प्रक्रियाअनुसार सदस्यता अद्यावधिक प्रक्रिया अघि बढ्यो, जसमा हालसम्म देशभरका करिब ८०–८२ प्रतिशत सदस्य सहभागी भइसकेका छन् । यस्तो अवस्थामा पनि संस्थापनइतर पक्षले राष्ट्रिय भेला आयोजना गर्नु भनेको पार्टी विभाजनको उद्देश्य मात्र हो भन्ने बुझिन्छ ।
नेपाली काँग्रेसको इतिहास कतिपय अवस्थामा नेतृत्वले सही ढंगले बुझ्न नसक्दा निकै दुखःद घटनाहरु पनि भएका छन् । आफ्नै प्रभावशाली, निष्ठावान् र विचारशील नेताहरूलाई समेट्न वा पचाउन नसक्नु हो । सर्वोच्च नेता गणेशमान सिंह र संस्थापक नेता कृष्णप्रसाद भट्टराई जस्ता शीर्ष व्यक्तित्वहरूले आफ्नो राजनीतिक जीवनकै उत्तरार्धमा आफ्नै पार्टीभित्र अपमानित र उपेक्षित महसुस गर्दै पार्टी छाड्नु वा राजनीतिबाट अलग हुनुपरेको इतिहास साक्षी छ । त्यस्तै, वैचारिक रूपमा सबल र विशाल जनाधार भएका खुमबहादुर खड्का तथा गोविन्दराज जोशी जस्ता तल्लो तहसम्म बलियो सङ्गठनात्मक पकड भएका नेताहरूलाई घेराबन्दी गर्ने, निष्कासन गर्ने र पचाउन नसक्ने परिपाटी नेपाली काँगे्रसमा त्यतिबेलाको संस्थापन पक्षले गरेकै थियो । चापलुसी र गुटगत बफादारितालाई प्राथमिकता दिने यही प्रवृत्तिका कारण धेरै योग्य र क्षमतावान् नेतृत्व पछाडि पारिएका थिए । नेपाली काँगे्रसले आफ्नो पार्टी इतिहासको यो नकारात्मक प्रवृत्तिको पुनरागमन गर्नु हुँदैन ।









प्रतिक्रिया दिनुहोस्