प्रदेशहरूमध्ये बीमाको पहुँचका हिसाबले सबैभन्दा बढी बागमती प्रदेशमा ३४ दशमलव ४८ प्रतिशत र सबैभन्दा कम मधेश प्रदेशमा नौ दशमलव ३७ प्रतिशत रहेको छ । यसैगरी कोशी प्रदेशमा ३१ दशमलव ७५ प्रतिशत, गण्डकी प्रदेशमा ३० दशमलव २८ प्रतिशत, कर्णाली प्रदेशमा २९ दशमलव ११ प्रतिशत, सुदूरपश्चिम प्रदेशमा १९ दशमलव १४ प्रतिशत र लुम्बिनी प्रदेशमा १९ दशमलव ९ प्रतिशत रहेको छ ।

वीरेन्द्र जैसी । नेपालगन्ज ।
नेपालमा पछिल्लो ६ वर्षमा जीवन बीमाको पहुँच उल्लेखनीयरूपमा वृद्धि भएपनि अझै ५१ प्रतिशत नागरिक बीमाको पहुँचबाहिर रहेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार २०७५–०७६ सालसम्म १७ प्रतिशत नागरिकमा मात्रै रहेको जीवन बिमाको पहुँच २०८२ को असोज मसान्तसम्म आइपुग्दा ४९ दशमलव ०५ प्रतिशत नागरिकमा पुगेको छ ।
प्रदेशहरूमध्ये बीमाको पहुँचका हिसाबले सबैभन्दा बढी बागमती प्रदेशमा ३४ दशमलव ४८ प्रतिशत र सबैभन्दा कम मधेश प्रदेशमा नौ दशमलव ३७ प्रतिशत रहेको छ । यसैगरी कोशी प्रदेशमा ३१ दशमलव ७५ प्रतिशत, गण्डकी प्रदेशमा ३० दशमलव २८ प्रतिशत, कर्णाली प्रदेशमा २९ दशमलव ११ प्रतिशत, सुदूरपश्चिम प्रदेशमा १९ दशमलव १४ प्रतिशत र लुम्बिनी प्रदेशमा १९ दशमलव ९ प्रतिशत रहेको छ ।
बीमाशुल्कमा हिस्साका हिसाबले पनि पछिल्लो तथ्यांकअनुसार बागमती प्रदेशको सबैभन्दा बढी ४६ दशमलव ०७ प्रतिशत रहेको छ भने सबैभन्दा कम कर्णाली प्रदेशको जम्मा दुई दशमलव ९४ प्रतिशत रहेको छ । बीमाशुल्कमा हिस्साका आधारमा दोस्रोमा रहेका लुम्बिनी प्रदेशको १४ दशमलव ७६ प्रतिशत, कोशी प्रदेशको ११ दशमलव ९१, गण्डकी प्रदेशको १० दशमलव ०१ प्रतिशत, मधेश प्रदेशको ८ दशमलव ६९ प्रतिशत र सुदूरपश्चिम प्रदेशको पाँच दशमलव ६४ प्रतिशत रहेको छ ।
लुम्बिनी प्रदेशमा असोज महिनासम्म बीमा शुल्कका आधारमा रुपन्देही, दाङ र बाँके जिल्ला अगाडी रहेका छन् । लुम्बिनी प्रदेशका ११ लाख सक्रिय जीवन बीमालेख रहेका र उनीहरूबाट सात अर्ब ४३ करोड बीमाशुल्क संकलन हुँदा एक अर्ब २६ करोड दाबी भुक्तानी पनि गरिएको प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालयका सहायक निर्देशक शिवराज विसीले जानकारी दिए ।
हाल नेपालमा १४ वटा जीवन बीमक कम्पनी, १४ वटा निर्जीवन बीमक कम्पनी, दुईवटा पुनर्बीमक कम्पनी, सातवटा लघुबीमक कम्पनीले इजाजत प्राप्त गरेका पनि विसीले जानकारी दिए । हाल देशभर करिब चार लाख बीमा अभिकर्ता र एक हजार चार सय १५ अभिकर्ताहरू सक्रिय रहेका छन् ।
बीमाबारे पत्रकारसँग अन्तक्र्रिया
नेपाल बीमा प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालयले नेपालगन्जमा पत्रकारहरूसँग बीमासम्बन्धी अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्राधिकरणका प्रदेश प्रमुख जमुना अर्याल आचार्यको अध्यक्षता तथा पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईंको प्रमुख आतिथ्यतामा सम्पन्न अन्तक्र्रिया कार्यक्रमा बीमाको पहुँच र गुणस्तर वृद्धिका विषयमा छलफल भएको थियो ।
कार्यक्रममा प्राधिकरणका सहायक निर्देशक शिवराज विसीले बीमाको हालको अवस्था र प्राधिकरणले गरिरहेको कामका विषयमा प्रस्तुती प्रस्तुत गरेका थिए । कार्यक्रममा सहभागी पत्रकारहरूले बीमा दाबी भुक्तानीमा झन्झट हुने गरेको, बीमा अभिकर्ताले अस्वस्थ तरिका अपनाएर बीमा गराउन खोज्दा नकारात्मक धारणा बन्ने गरेको, बीमासम्बन्धी सचेतनाको अभाव रहेको र विपन्न समुदायमा बीमाको पहुँच नपुगेको बताएका थिए । साथै उनीहरूले बीमासम्बन्धी सचेतनाका कामका साथै नियमनमा पनि चुस्तता ल्याउनुपर्ने धारणा राखेका थिए ।
उनीहरूले बीमा आर्थिक सुरक्षाका लागि आवश्यक रहेको हुँदा कम्तीमा घरमुलीको बीमा गर्ने अवस्थासम्म पु¥याउन सबैको सहकार्य आवश्यक रहेको बताएका थिए । प्राधिकरणका प्रदेश प्रमुख अर्यालले प्राधिकरणले बीमासम्बन्धी सचेतना र नियमका लागि विभिन्न प्रयास भइरहेका र त्यसै उद्देश्यका लागि पत्रकारहरूसँग पनि अन्तक्र्रिया गरिएको बताइन् । उनले आएका सुझावहरूले आधारमा नीति तथा कार्यक्रमलाई सुधार गर्न मद्दत गर्ने बताइन् ।
जेनजी आन्दोलनमा भएको क्षतिका लागि साढे २३ अर्ब बीमा दाबी
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको क्षतिवापत देशभर साढे २३ अर्ब रूपैयाँको बीमा दाबी भएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार कात्तिक २४ गतेसम्मको विवरणअनुसार देशभरबाट २३ अर्ब ४६ करोड ९१ लाख रूपैयाँ दाबी भएको छ । जसमध्ये तीन अर्ब ६८ करोड ४१ लाख रूपैयाँ भुक्तानीसमेत भइसकेको छ ।
दाबी संख्याका आधारमा सबैभन्दा बढी बागमती प्रदेशबाट एक हजार सात सय ६२, त्यसपछि कोशी प्रदेशबाट चार सय, मधेश प्रदेशबाट तीन सय ६८, लुम्बिनी प्रदेशबाट दुई सय ५६, गण्डकी प्रदेशबाट दुई सय २२, सुदूरपश्चिमबाट दुई सय नौ र कर्णाली प्रदेशबाट २९ वटा दाबी परेका छन् । दाबी रकमका आधारमा सबैभन्दा बढी बागमती प्रदेशबाट १७ अर्ब ८३ करोड ३४ लाख, कोशी प्रदेशबाट दुई अर्ब ३२ करोड २६ लाख, गण्डकी प्रदेशबाट एक अर्ब ६९ करोड ५७ लाख बढीको बीमा दाबी गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्