संजिवनीले अतिक्रमण गरेका संरचना नहटाउने प्रपन्चमा नेपालगन्ज



सूचना जारी गर्दा नै केही निश्चित व्यक्ति तथा संस्थाका संरचनाहरूलाई जोगाउनेगरी नेपालगन्ज उपमहानगरले उपाय अपनाएको छ । त्यसरी जोगाउन खोजिएका संरचना विशेषगरी साविकको नेपालगन्ज मेडिकल कलेज हाल संजिवनी कलेज अफ मेडिकल साइन्सेजका साथै केही उपमहानगरका कर्मचारीका आफन्तले सञ्चालन गरिरहेका पसलका संरचनाहरू रहेका छन् ।

वीरेन्द्र जैसी । नेपालगन्ज ।

बाँकेको नेपालगन्ज उपमहानगरपालिकाले कात्तिक १८ गते नेपालगन्जको विपीचोकदेखि धम्बोझीसम्म फूटपाथ निर्माण तथा वृक्षारोपण गरिने भन्दै नालाको बाहिरी किनाराबाट ७ फिटभित्रका संरचना हटाउन सूचना जारी गरेको थियो । उक्त सूचनामा संरचना हटाउन दिइएको समय मंगलबार सकिएको छ । सूचना बमोजिम अब नभत्काइएका संरचना उपमहानगरपालिकाले आफैँ भत्काउने नगर प्रमुख प्रशान्त बिष्ट बताउँछन् ।

तर, उक्त सूचना जारी गर्दा नै केही निश्चित व्यक्ति तथा संस्थाका संरचनाहरूलाई जोगाउनेगरी उपमहानगरले उपाय अपनाएको छ । त्यसरी जोगाउन खोजिएका संरचना विशेषगरी साविकको नेपालगन्ज मेडिकल कलेज हाल संजिवनी कलेज अफ मेडिकल साइन्सेजका साथै केही उपमहानगरका कर्मचारीका आफन्तले सञ्चालन गरिरहेका पसलका संरचनाहरू रहेका छन् । उपमहानगरपालिकाको उक्त फूटपाथ निर्माण तथा वृक्षारोपणको योजना बास्तवमा विपी चोकबाट नभै गणेशमान चोकबाट सुरु गरिएको थियो ।

नगर प्रमुख प्रशान्त बिष्ट र उपप्रमुख कमरुद्धिन राइले २०८० सालको माघ महिनामा गणेशमान चोकमा उक्त योजनाको शिलान्यास गरेका थिए। पहिलो चरणमा २०८१ जेठभित्र गणेशमान चोकदेखि धम्बोझी चोकसम्म पश्चिमपट्टी करिब दुई किलोमिटर फूटपाथ निर्माण गर्नेगरी सुरु गरिएको फूटपाथ निर्माणको काम दुई वर्ष बितिसक्दा गणेशमान चोकबाट नेपालगन्ज मेडिकल कलेजसम्म सात सय मिटर मात्रै सम्पन्न भएको छ । तर, त्यसभन्दा यता निर्माणका लागि त्यहाँ भएका पसल र मेडिकल कलेजले संरचनाहरू भत्काउन मानेनन् । उपमहानगरले ती संरचना भत्काउन पहल गरेन ।

संरचना नभत्काएकै कारण ठेकेदारले उक्त काम पूरा गर्न नसकेपछि अहिले पुरानो ठेकेदारलाई उपमहानगरपालिकाले कारबाहीको प्रक्रिया अघि बढाएको छ । उक्त ठेकेदारले पहिलोपटक गरेको निर्माण कार्य कमसल रहेपछि पुनः पहिले लगाइएको टायल उप्काएर नयाँ टायल बिछ्याउँदै समय व्यतित गरेको थियो । पुरानो ठेकेदारलाई कारबाही प्रक्रिया अघि बढाएको उपमहानगरले सडक क्षेत्र मिचेर संरचना बनाएका र हटाउन अटेर गरिरहेका मेडिकल कलेज, केही पुस्तक तथा किराना पसल र औषधी पसललाई जोगाउनेगरी नयाँ योजना अघि सार्याे ।

त्यस खण्डमा मेडिकल कलेजदेखि उपमहानगरकै कर्मचारीका आफन्तले सञ्चालन गरेका औषधि पसलहरू रहेकाले उनीहरूका संरचना जोगाउन विपी चोकबाट निर्माण कार्य अघि बढाउनेगरी उक्त योजना बनाइएको स्रोत बताउँछ । ८० लाख बढीको बजेट छुट्याइएको उक्त योजना अघि बढाउन संरचना हटाएर निर्माण क्षेत्र खाली गर्न १५ दिने सूचना निकालिएको हो । उपमहानगरको उक्त सूचनामा किन मेडिकल कलेजदेखि विपी चोकसम्मको ठाउँ छुटाएर विपी चोकमा सारियो भन्ने प्रश्नको जवाफ उपमहानगरका जिम्मेवार पदाधिकारीहरूले दिन सकेनन्।

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरी शर्माले हाललाई विपी चोकबाट धम्बोझीसम्म निर्माण कार्य सुरु गर्ने भनेर आफूलाई आदेश आएअनुसार संरचना हटाउन सूचना जारी गरिएको बताए । उनले सूचनाबमोजिम संरचना नहटाइए उपमहानगरपालिकाले आफैँ हटाएर निर्माण कार्य सुरु गर्ने दावी गरे । उनले भने, ‘बीचको भाग किन छुटाइयो भन्ने कुरा हामीले जान्ने कुरा भएन । हामीलाई जे आदेश आयो त्यही पालना गरेका हौँ ।’

यतिमात्रै होइन उपमहानगरपालिकाका नगरप्रमुख कमरुद्धिन राई पनि उक्त खण्डमा निर्माण कार्य नगरेर किन छुटाउन लागिएको हो भन्ने आफूलाई जानकारी नभएको बताउँछन् । उपप्रमुख राईले त आफूलाई अतिक्रमण हटाउने निर्णयबारे पनि जानकारी नभएको बताए । ‘मेयरले जे मनमा आयो त्यही गर्नुहुन्छ । त्यो निर्णय हुँदा म सहभागी पनि थिइन । मलाई यसबारेमा केही पनि जानकारी छैन,’ राईले मिसन टुडेसँग भने ।
यता, नगर प्रमुख बिष्ट भने पहिलेको ठेकेदारसँग विपी चोकसम्मको ठेक्का रहेको र उक्त ठेकेदारलाई अहिले कारबाहीको प्रक्रियामा रहेकोले अधुरो रहेको खण्डलाई छोडेर विपी चोकबाट काम सुरु गर्न लागिएको बताए ।

उनले ठेकेदारले काम गर्न नसकेका कारण नै उक्त खण्डमा सडक अतिक्रमण गरी बनाइएका संरचनाहरू हटाउन नसकिएको तर्क गरे । तर, उपमहानगरकै एक इन्जिनियरले भने संरचना हटाउन कर्मचारी र ठेकेदारले चाहेर मात्रै नहुने बताए । यसका लागि जनप्रतिनिधिहरूले नै पहल गर्नुपर्नेमा त्यसो हुन नसकेको बताए । नगर उपप्रमुख कमरुद्धिन राई अहिले कुनैपनि संरचना भत्काउन तयार नभएको स्रोतको दावी छ । त्यहीँ भएर उनले अतिक्रमण हटाउने सम्बन्धमा हुने निर्णयमा सहभागिता जनाउने गरेको बताइएको छ ।

राईले मिसन टुडेसँग पनि भने, ‘अहिले संरचना बनाइएकै ठाउँमा निर्माण गर्नुपर्ने के आवश्यकता थियो र । जमुनाहाबाट खाली रहेको ठाउँमा फूटपाथ बनाउँदै आएर यस्तो बनाउन सकिन्छ भन्ने उदाहरण दिएको भएपनि त हुन्थ्यो ।’ राजमार्गको मध्यभागबाट दायाँबायाँ ३१ मिटर सडकक्षेत्रमा पर्छ । तर, नेपालगन्जमा २१ मिटरभित्र पनि संरचनाहरू रहेका छन् । यस्ता संरचनाहरू हटाउन खोज्दा नेपालगन्जमा पटक पटक अवरोधहरू हुँदै आएका छन् । यसमा केही निश्चित व्यक्तिहरूले संरचना हटाउन नमान्दा निर्माण कार्य नै रोकिने अवस्था आउने गरेको छ ।

अहिले उपमहानगरपालिकाले बनाउन लागेको नमूना फूटपाथको काममा पनि मेडिकल कलेज र त्यहाँका केही पसलेहरूले नमान्दा अन्य क्षेत्रको अतिक्रमण पनि हटाउन समस्या हुने देखिन्छ । एकजना व्यापारीले सरकारको व्यवहार सबैलाई बराबर हुनुपर्ने बताउँदै मेडिकल कलेज आसपासको अवरोध नहटाइए आफूहरूले पनि नहटाउने बताए । विपी चोकदेखि धम्बोझीसम्को खण्डमा शिख धर्मावलम्वीहरूको गुरुद्वारासमेत छ भने दर्जनौँ पसलहरूले सडक क्षेत्रमा पर्नेगरी संरचना बनाएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ मंसिर ४ गते बिहीबार